भैरहवाको तापक्रम ३६ डिग्री
भैरहवा : तराईका जिल्लाहरुमा गर्मी बढ्न थालेको छ। विगतमा फागुन महिनादेखि नै गर्मी हुने गरे पनि यस वर्ष जेठ महिनादेखि गर्मी बढ्न थालेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार करिब १२ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ३६ डिग्री सेल्यिएस रहेको छ भने आर्द्रता ४४ प्रतिशत छ। सोमबार भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्यिएस मापन गरिएको थियो। जुन देशमै सबैभन्दा बढी थियो। र, भैरहवामा यस वर्षको पनि सबैभन्दा बढी तापक्रम पनि हिजो थियो। त्यस्तै आइतबार भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्यिएस रह्यो।
लकडाउनमा केही सर्वसाधरणहरुको दिउँसोमा चहलपहल हुने गरेपनि बढ्दो गर्मीका कारण दिउँसोमा चहलपहल पातलिएको छ। यससँग दिउँसोमा लकडाउन पनि कार्यान्वयन हुन पुगेको छ। तर, साँझ सूर्यअस्त भएपछि छिटफुट रुपमा सर्वसाधरणहरु हिड्डुल हुने गरेको छ। लकडाउनमा सवारी साधनलगायतका कारण प्रदुषण कम हुँदा गर्मी ढिलो गरी सुरु भएको अनुमान गरिएको छ। लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवनकोपार्जन गर्नेहरुका लागि गर्मीयाम झनै कष्टकर बन्न पुगेको छ। विगतमा गर्मी छल्नका युवायुवतीहरु विभिन्न पार्क, हरियाली स्थान, स्विमिङ पुलमा जाने गरेपनि अहिले ती सबै बन्द छन्।
गर्मी बढ्दै गएसँगै बालबालिकाहरु लगायत अन्य उमेर समूहका विरामी बढ्ने सम्भावना छ। यस समयमा झाडापखाला, ज्वरो, रुघाखोकी, पिसाव संक्रमण, जलवियोजन, मलेरिया, डेंगु लगायतका विरामी बढ्ने गर्दछन्। गर्मीयाममा भैरहवाको एक मात्र सरकारी भीम अस्पतालमा विरामीहरु खचाखच भरिने गरेका थिए। तर, हाल यस अस्पताललाई कोरोना अस्पतालको रुपमा रुपान्तरण गर्दा अन्य प्रकृतिका विरामीहरुका लागि अस्पतालको सेवा रोकिन पुगेको छ। नीजि अस्पतालले समान्य ज्वरोको विरामीलाई समेत उपचार नगर्ने गरेकाले सर्वसाधरणहरुको सहारा सरकारी अस्पताल नै हो।