भारतबाट भित्रिएका २ हजार १ सय ३४ जना क्वारेन्टाइनमा
सन्धिखर्क : अर्घाखाँचीमा पछिल्लो १ सातामा भारत तथा छिमेकी जिल्लाबाट आउनेको संख्या २ हजार १ सय ३४ पुगेको छ । रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृह जिल्ला फर्किन थालेका छन् ।
भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकै दिन पाँच सय १२ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले बताए ।
पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका ३ सय १ जना, भूमिकास्थान नगरपालिकाका ५ सय ६४ जना, शितगंगा नगरपालिकाका ४ सय ६७ जना, पाणिनी गाउँपालिकाका १ सय ९६ जना, मालारानी गाउँपालिकाका ३ सय ९८ जना र छत्रदेव गाउँपालिकामा १ सय ८ जना गरी २ हजार १ सय ३४ जना जिल्ला भित्रिएका हुन् ।
जिल्लाका ६ स्थानीय सरकारले बनाएको एक सय ३२ स्थलका क्वारेन्टाइनमा सबै २१ सय ३४ जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।