कोरोना कहर : कर्णालीमा भारतबाट आएकालाई थेग्‍नै मुस्किल

कोरोना कहर : कर्णालीमा भारतबाट आएकालाई थेग्‍नै मुस्किल

सुर्खेतः कर्णालीमा भारतबाट भित्रिनेलाई थेग्नै मुस्किल भएको छ । पछिल्लो एक सातादेखि दिनहुँ भारतबाट फर्किनेहरुको भीड बढेको छ । भारतबाट भित्रिनेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापनमा कठिन भएको हो । विशेषगरी स्थानीय तहले क्वारेन्टाइन अभावमा कोचेर राख्न थालेका छन् ।

भारतबाट फर्किनेहरुको पूर्वआंकलन र अनुमान नगर्दा समस्या देखिएको हो । भारतबाट घर फर्कने कर्णालीबासीको लर्को नै लागेको छ । उनीहरुलाई प्रदेश सरकारले नाकाबाट उद्दार गर्दै स्थानीय तहमा पठाउने गरेको छ । तर स्थानीय तहमा आवश्यक क्वारेन्टाइन र खानाको व्यवस्थापन नहुँदा भित्रिएकाको बिचल्ली नै भएको हो । 

व्यवस्थित क्वारेन्टाइन नहुँदा भारतबाट आएकाहरु विद्यालयका कोठामा कोच्चिएर, डेस्कबेन्च जोडेर सुत्न र भुइँमै बस्न बाध्य छन् । प्रदेश सरकारले तत्कालै झण्डै ३० हजार कर्णालीबासी भारतबाट भित्रिने अनुमान गरेको छ । तर सोहीअनुसार क्वारेन्टाइनको व्यवस्थापन भने गरिएको छैन । हाल कर्णालीमा १३ हजार चारसय बेडको क्वारेन्टाइन निर्माण भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

तर क्वारेन्टाइनको क्षमताभन्दा धेरै नागरिक भित्रिएपछि स्थानीय तहलाई उनीहरुको व्यवस्थापनमा हम्महम्मे भइरहेको हो । सुर्खेतको सिम्ता गाउँपालिकामा पछिल्लो चारदिनमा मात्र भारतबाट साढे दुई सयभन्दा बढी नागरिक गाउँ फर्किए । तर गाउँपालिकाले अहिले१६ वटा विद्यालयमा मात्रै क्वारेन्टाइन निर्माण गरेको छ ।

'हुलकाहुल नागरिक गाउँ आउन थाले, थेग्नै सकिने अवस्था छैन,' गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, 'विद्यालयमा १४ दिनसम्म हुलेर घर पठाउनुको विकल्प छैन ।'

अब एक सातामा झण्डै पाँच हजार नागरिक गाउँ फर्कने अनुमान गाउँपालिकाले गरेको छ । 'सबै स्कुलमा क्वारेन्टाइन बनाउँदैछौँ, तर भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सकिने अवस्था छैन,'अध्यक्ष केसीले भने, 'सबैलाई एकै ठाउँमा राख्नु परेको छ, यसले संक्रमण रोकिनेभन्दा फैलिने डर भयो।'

यस्तै सल्यानको बनगाडकुपिन्डे नगरपालिकामा पनि पछिल्लो चार दिनमा साढेसातसय नागरिक भित्रिएका छन् । नगरप्रमुख गोविन्दकुमार पुनले भने नगरमा दुई हजारभन्दा बढीलाई थेग्न सक्ने अवस्था नभएको बताए । 

अबको एक सातामै नगरमा झण्डै सातहजार जना भारतबाट गाउँ आउने अनुमाननगरपालिको गरेको छ । 'हामीसँग स्रोत,साधन र बजेट छैन, न हामी परीक्षण गर्न सक्छौं, उनले भने, 'यस्तोबेला पनि प्रदेश र संघीय सरकारले साथ दिएका छैनन् ।'

कर्णालीका सबै स्थानीय तहको हालत उस्तै छ । क्वारेन्टाइन, परीक्षण किट र सुरक्षा व्यवस्था नहुँदा भारतबाट आएकालाई थेग्न नसकिएको स्थानीय तहको भनाइ छ ।अधिकांश स्थानीय तहले अहिले क्वारेन्टाइनमा नागरिकलाई हुल्ने काम मात्रगरेका छन् । यसले क्वारेन्टाइनबाटै कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । 

प्रदेश सरकार पनि क्वारेन्टाइन व्यवस्थापनमा चुकेको छ । प्रदेशभर झण्डै ३० हजार नागरिक तत्काल गाउँ फर्कने अनुमान गरिए पनि त्यो अनुसार क्वारेन्टाइनको व्यवस्थापन हुन सकेको छैन । यसकारण पनि क्वारेन्टाइनले थेग्न सक्ने अवस्था छैन ।

यता कर्णाली प्रदेश सरकारले भने भारतबाट नागरिक गाउँ आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरेको छ । 'प्रदेश सरकारले परीक्षण र आर्थिक व्यवस्थापनमा साथ दिन्छ' भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, 'स्थानीय तहलाई प्रदेशले पैसा दिन्छ, भोकमरी र महामारी आउन दिँदैनौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.