भारतबाट रौतहट आएका ३५ जनामा देखियो कोरोना संक्रमण
रौतहट : रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण फेला परेको छ । जिल्लाको विभिन्न स्थानका १०५ जनामा संक्रमण देखिएको छ । ती मध्ये तीनजना निको भएर घर फर्किएका छन्।
बुधबार पुष्टि भएका गौरका ८ र गढीमाईका ७ , देवाहीगोनाही २ , ईशनाथका १६, कटहरिया नगरपालिकाका २ जना गरी ३५ जनामा कोरोना संक्रमण देखिएको रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
उनीहरु सबै केही दिनअघि मात्रै भारतबाट आएको रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए।सीमाबाटै क्वारेन्टाइनमा पुर्याएकाले समुदायिकसँग उनीहरुको सम्पर्क नहेको बताइएको छ ।
पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । पछिल्लो तीन दिनमा ८० जना भन्दाबढी संक्रमित रौतहटमा फेला परेपछि आइसोलेसन कक्षको अभाव देखिएको छ । संक्रमितलाई कहाँ राखेर उपचार गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।
मंगलबार साँझसम्म ३१ सय ७४ जना रौतहटको विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या पुगेको छ । रौतहटमा पछिल्ला दिनमा भारतबाट आउनेको संख्या बढ्दो छ । सुरुमा फेला परेका तीनजना संक्रमित वीरगंजमा उपचार पछि घर फर्किएका छन्। उनीहरु इशनाथ, देवाहीगोनाही र बृन्दावन नपाका थिए ।
जिल्लाका ८ सय २१ जना क्वारेन्टाइनबाट घर फर्किएका छन । रौतहटमा ११ सय ७८ जनाको पीसीआर विधिबाट स्वाब संकलन गरिएको छ । करिब ५ सय जनाको रिर्पोट आउन बाँकी छ ।
रौतहटका १८ वटै स्थानीय तहले अनुकुल स्थानमा कम्तीमा ५ सय बेडको क्वारेन्टाइन बनाउनका लागि गृहकार्य भइरहेको छ भने केही स्थानीय तहले निमार्ण गरिसकेका छन्।