दशगजामा बाँधजस्तै भारतीय सडक

दशगजामा बाँधजस्तै भारतीय सडक

बुटवल : भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भुभाग डुवानमा पर्ने खतरा बढेको छ। अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो।

प्रदेश ५ का ५ वटै जिल्लाका सीमामा यो सडक बनिरहेको छ। नवलपरासी र रूपन्देहीमा सीमाको २०–३० मिटरमै सडक बनेको हो। रूपन्देहीको रोहिणी गाउँपालिका–५ र ६ सँग सीमा जोडिएको दशगजा क्षेत्रमा अहिले भारतले सडक निर्माण गरिरहेको छ। चार लेनको पूर्वपश्चिम सडकले नेपाली भूभाग डुवानमा पर्ने भएको हो। भारतले गत मंसिरबाट सडक निर्माण थालेको हो। नवलपरासीको सीमाबाट सुरु भएको सडक प्रदेश ५ का ५ वटै सीमा जिल्ला हुँदै बर्दियासम्म पुर्‍याइँदै। बाँधकै स्वरूपमा सडक निर्माण भइरहेपछि स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्।

रूपन्देही क्षेत्र नम्बर–१ का सांसद कृष्णप्रसाद न्यौपानेले बुधबार प्रदेशसभाको बैठकमा भारतीय सडकले हजारौं विगाहा जमिन डुवानमा पर्ने बताए। ‘अग्लो सडक बाँध जस्तै छ, पानीको निकास कोही खोलिएको छैन, यसले हजारौं विगाहा नेपाली भूमि डुवानमा पर्नेछ’, उनले संदनमा भने।

भारतले सीमा क्षेत्रको आठसय मिटर टाढा यसअघि नै सडक बनाएर सञ्चालनमा ल्याएको छ। अहिले दशगजादेखि २० देखि ५० मिटरको दूरीमा चार लेनको सडक निर्माण गरेको हो। रोहिणी गाउँपालिका–५ का अध्यक्ष घनश्याम सिंहले भारतीय सडकले गाउँ पूरै डुवानमा पर्ने बताए। ‘यो सडक निर्माण नरोक्ने हो भने गाउँ पुरै डुवानमा पर्छ’, उनले भने, ‘नेपालीको वस्ती र खेती नै उठिवास हुन्छ।’

भारतले विभिन्न स्थानमा बनाएका बाँधका कारण नवलपरासी, रुपन्देही, कपिलवस्तुका कैयौं भूमि जलमग्न हुने गरेका छन्। ती समस्या समाधान नहुँदै भारतले फेरि पूर्वाधार निर्माणलाई यथावत राखेको हो। अहिले बनेको कतै दुई र कतै चार लेनको सडकमा कुनै पनि स्थानमा पानी निकास नराखिएको स्थानीय बताउँछन्। नेपालतर्फ जमेको पानी भारत जाने निकास नै नभएपछि डुबान निश्चित रहेको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय कानून अनुसार प्राकृतिक रूपमा वहने पानीलाई रोक्न पाइँदैन।

भारतले प्रधानमन्त्री सडक परियोजनाअन्तर्गत यो सडक निर्माण गरिरहेको हो। मंसिरबाट निर्माण सुरु भएको सडक सुरक्षामा भारतले सुरक्षा निकाय खटाएको छ। रोहिणी गाउँपालिकाका स्थानीय सञ्जय गुप्ताले लकडाउनमा केही समय निर्माण रोकिएपछि फेरि सडक बनाउन थालिएको बताए। उनले महलीसागर–खुर्दलोटन बाँधजस्तै सडक निर्माण गरेको बताए। खुर्दलोटन बाँधका कारण नेपालीले धेरै सास्ती पाएका थिए।

सीमामा सडक निर्माणको विषयमा सरकार जानकार छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले गृह र परराष्ट्र मन्त्रालयमा सडक निर्माणको विषयमा जानकारी पठाइएको बताए। बाँध अवलोकन गरेका प्रतिनिधि सभाका सांसद छविलाल विश्वकर्माले समस्या समाधानका लागि कुटनीतिक पहल थालिने बताउँछन्। उनले स्थानीयलाई कुनै पनि समस्या हुन नदिइने बताए।

सीमा क्षेत्रका बासिन्दाले सडकको बीचबीचमा पानीको निकास राखिनुपर्ने बताएका छन्। कल्र्भट र ह्युम पाइप अनिवार्य हुनुपर्ने उनीहरूको माग छ। नवलपरासीदेखि रूपन्देहीसम्मको कुनै पनि क्षेत्रमा अहिलेसम्म पानी निकास राखिएको छैन। कपिलवस्तुमा सीमाभन्दा आधा किलोमिटर टाढा सडक बन्दैछ। बर्दियामा भने सीमा नजिकै रहेको छ। भारतले दशगजामा सडक निर्माणमा लिनुपर्ने सहमति बिनानै सडक बनाएको हो। सीमाबासीले डुवान हुने भएपछि सडक भत्काउने हिम्मत गर्न सरकारलाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.