झापामा थपिए २५ कोरोना भाइरस संक्रमित
झापा : थप २५ कोरोना संक्रमित देखिएसँगै जिल्लामा संक्रमित हुनेको संख्या ७९ पुगेको छ । संक्रमण देखिएका सबै लक डाउनका बीच भारतबाट आएका हुन्। बिहीबार कोशीअञ्चल अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा देखिएका २५ संक्रमित सबैजना कचनकवल गाउँपालिका कै भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
कचनकवल गाउँपालिकाका ६ वटा क्वारेन्टाइनमा हाल ३ सय ७८ जना छन् । उनीहरु पनि भारतबाटै आएका हुन् । गाउँपालिका प्रमुख अञ्जार आलमले आउने क्रम जारी रहेको र अब गाउँपालिकाले मात्र थेग्न नसक्ने बताए।
आलमले भने, 'आउनलाई रोक्न भन्दा पनि आएकालाई सीमाबाटै सिधै क्वारेन्टाइनमा लगेर राख्नेतिर ध्यान दिएका छौँ । त्यसो गर्दा समाजमा सर्ने डर हुँदैन।' जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जिवन चम्लागाईका अनुसार क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । संक्रमित देखिनेहरुमा पनि त्यस्तो केही लक्षण देखिँदैन ।
यसअघि कचनकवल गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४८ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल संक्रमित कोभिड अस्पताल विराटनगर र धरानमा उपचाररत छन् ।
क्वारेन्टाइनमा बसेका हालसम्मको तथ्यांकमा पनि मुम्बईबाटै आउनेमा बढी संक्रमण देखिएको गाउँपालिकाका प्रशासकिय अधिकृत दुर्गाप्रसाद पौडेलले जानकारी दिए।