रिपोर्ट आउन ढिलाइ हुँदा डिस्चार्च भएनन् भक्तपुरका तेस्रो कोरोना संक्रमित
भक्तपुर : भक्तपुरका तेस्रो कोरोना संक्रमित अन्तिम कोरोना भाइरस संक्रमण परीक्षणको रिपोर्ट आउन ढिलो हुँदा डिस्चार्ज हुन पाएनन् । काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक भक्तपुर नपा ५ योसिंखेल निवासी ४२ वर्षीय उनी डिस्चार्ज हुन नपाएका हुन् ।
तर उनीभन्दा तीन दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि भएकी भक्तपुर नपाकी ४२ वर्षीया महिला वडा सदस्य भने बिहीबार राती डिस्चार्ज भएकी छन् । भक्तपुर नपा ९ तुमचो बस्ने उनको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि बिहीबार राती डिस्चार्ज गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
उनका अनुसार महिला जनप्रतिनिधिलाई बिहीबार राती ललितपुरको पाटन अस्पतालले घर पठाएको हो ।काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक काठमाडौंको सतुंगलस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत छन् ।
उनको पहिलो रिपोर्ट नेगेटिभ आइसकेको छ । अन्तिम परीक्षणको रिपोर्ट पनि नेगेटिभ नै आउने विश्वास गरिएको छ। 'अन्तिम रिपोर्ट नआउँदा सफाइ गाडीका चालक डिस्चार्ज हुनुभएको छैन,' प्रहरी उपरीक्षक प्रधानले भने, 'भक्तपुर नपाकी महिला वडा सदस्य भने बिहीबार राती डिस्चार्ज हुनुभयो ।'
महिला जनप्रतिनिधि डिस्चार्ज भए पनि उनको परिवारका तीनसहित सम्पर्कमा रहेका १९ जनाको कोरोना भाइरसको परीक्षणको रिपोर्ट भने आइसकेको छैन। भक्तपुर नपा ५ का महानगरका सफाइ गाडी चालकको परिवार र उनको सम्पर्कमा रहेका सबैको कोरोना भाइरस परीक्षण भने यसअघि नै नेगेटिभ आइसकेको छ।
भक्तपुरका संक्रमित चारजनामध्ये सुरुमा पुष्टि भएका २५ वर्षीया महिला र २७ वर्षीय सशस्त्र प्रहरीका जवान भने कोरोना भाइरसलाई जितेर डिस्चार्ज भइसकेका छन् ।