फेवातालको सिरानमा रोपाइँको चटारो (फोटो फिचर)

फेवातालको सिरानमा रोपाइँको चटारो (फोटो फिचर)

पोखरा : फेवातालको सिरान फेवा फाँटका किसान रोपाइँको चटारोमा छन् । फेवा फाँटको ढाभमा खेतमै मुल पलाउने भएकाले जेठको पहिलो हप्तादेखि नै किसान रोपाइँमा व्यस्त हुने गर्दछन् । लकडाउनमा पोखराका मुख्य बजारका नागरिक घरमै बसे पनि किसान पहिले झै खेती कर्ममै व्यस्त छन् ।  

यतिबेला फेवा फाँटमा रोपाहारा, बाउसे र हली दाई आआफ्नो जिम्मेवारीको काममा खटिएका छन् । रोपाहारा असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् ।बाउसे दाई कान्ला खन्नमै व्यस्त देखिन्छन् । फेवा फाँटमा पनि पछिल्लो समयमा जोत्नका लागि विस्तारै ट्याक्टरको प्रयोग हुन थालेको छ ।

फेवा फाँट पोखरेली जेठोबुढो धान उत्पादनका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको धान बाहिरी जिल्लामा पनि पुग्ने गर्दछ । पछिल्लो समयमा तालको मुहान क्षेत्रबाट आउने बाढीले रोपो पुर्ने  र सिमसार क्षेत्रमा फैलिएका कुर्मा चराले धानको रोपोको गुवो नै खाइदिँदा उत्पादन कम भएको स्थानीय किसान मित्रमणि तिमिल्सिना बताउँछन् ।

यस वर्ष भने पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालमा मिसीने मुख्य खोला र सहायक खोलामा सिल्टेसन पोखरी निर्माण भएकोले केही राहात मिल्ने किसानको विश्वास छ । 

पोखराका कुँडहर फाँट, बिरौंटा फाँट, सेदी, गैरि खेत, चाउँथे फाँटलगायतका फाँटमा प्लटिङ गरी बस्ती बसेकोले कास्कीमा धानको उत्दान बर्षेनि घट्दो छ । पोखरा महानगरपालिका कृषि महाशाखासँग भने पोखराका फाँटमा बस्ती बसेपछि कति धान उत्पादन घट्यो भन्ने एकीन तथ्याङ्क छैन् । 

पछिल्लो समयमा फेवा फाँटमा पनि प्लटिकङ हुन थालेको छ । तालको मुहानको सिमसार क्षेत्रमा थुपारिएको माटो वर्षायाममा तालको पानीको सतह बढ्दा तालमा पुर्‍याउँदा तालको आयु पनि घट्दो छ । 

तालको आयुसँग प्रत्यक्ष जोडिएको फेवा फाँट संरक्षण गर्नु र उर्वर भूमी मासिनबाट जोगाउन महानरपालिकाको ध्यान जानु पर्ने स्थानीय संरक्षण कर्मी बताउँछन् । 

रैथाने पोखरेली धान उत्पादनमा किसान आकर्षित 

मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम मिठो रैथाने पोखरेली जेठोबुढो धान प्रति किसान आकर्षित हुन थालेका छन् । महानगरपालिका भित्र कुल धान रोपनी क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान रोपाइँ हुने थालेको हो । जेठोबुढो धानको माग बढ्नु र मुल्य पनि अरु धानको भन्दा राम्रो पाउन थालेपछि पछिल्लो समय किसान जेठोबुढो धान लगाउन आकर्षित हुँदै गएको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

जेठोबुढो धान पोखरा महानगरपालिका भित्र ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा लगाइने र यस प्रजातिको धान १५ हजार ६ सय ८० टन उत्पादन हुने उनले सुनाए । कुल धान उत्पादन हुने क्षेत्रफलको कुल क्षेत्रफलको ४० प्रतिशत जमिनमा जेठोबुढो धान उत्पादन हुने गरेको हो ।

अन्य स्थानीय जातको धान २ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा रोपीने र ५ हजार ६ सय टन उत्पादन हुने उनले बताए । यस्तै गरि उन्नत जातका धान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा रोपिने र १७ हजार ९ सय २० टन धान उत्पादन हुने गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले बताए । महानगरमा धान उत्पादन हुने कुल क्षेत्रफलमा उन्नत जातको धान ४० प्रतिशत क्षेत्रफलमा लगाइने र  जेठोबुढो बाहेक अन्य रैथाने प्रजातिका धान २० प्रतिशत क्षेत्रफलमा रोपिने उनले सुनाए । 

जेठोबुढो धान राष्ट्रिय बिउँ बिजन समितिबाट सन् २००६ मा उन्मोचन (सिफारिस) भएपछि व्यवसायिकरुपमा बिउँ बिक्री वितरण हुन थालेपछि विस्तारै किसानमाझ बिउँ पुगेपछि पनि किसान यस धानप्रति आकर्षण बढेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.