रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
रौतहट : रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसहित कोरोना संक्रमितको संख्या जिल्लामा १ सय ८१ पुगेको छ । शुक्रबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट केहि दिनअघि घर आएका रहेका छन् । शुक्रबार फेला परेका राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जनाएका छन्।
संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितलाई गरुडा नगरपालिकास्थित प्रहरी स्कुलमा रहेको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिडिओ घिमिरेले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेनटाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् । जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला छन् । ६ सय १३ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।
स्थानीय प्रशासनले क्वारेन्टाइन क्षेत्रमा स्थानीयको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निषेधाज्ञा जारी गरेको छ ।यस्तै केही दिनअघि राजपुर र इशनाथ नपामा पनि निषेधाज्ञा जारी गरिएको थियो ।