धनुषाको जटही नाकामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ
जनकपुरधाम : धनुषाजिल्लास्थित जटही नाकामा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । लकडाउनको समयमा भारतबाट फर्किने क्रममा नेपाल-भारतको धनुषाजटही नाकामा बुधबार मृत्यु भएका युवकमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
धनुषाको सहिदनगर नगरपालिका ९ का २८ वर्षीय वीरेन्द्र यादवको बुधबार बिहान जटही नकामा मृत्यु भएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।यादव घर आउने क्रममा भोकै ६ दिन पैदल हिँड्दै आएका थिए।
भारतको गजरात राज्यस्थित भोपाल सुरतबाट छ दिन अगाडि हिँडेका यादवसहित डेढ सय जनालाई भारतीय प्रशासनले ट्रकमा हालेर जटहीसम्म पुर्याएको थियो ।
सो दिनको भालिपल्ट बिहान च्युरा र चाउचाउ खाएका यादवलाई बान्ता भएको थियो। त्यसपछि उनको जटही नाकामै मृत्यु भएको थियो। मृत्युपछि प्रशासनले कोरोना परीक्षण गर्न जटही नाकाबाट उनको शव नेपाली सेनाले प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको थियो।
उनको अकस्मात भोककै कारण मृत्यु भएको भन्दै उनीसँगै सीममा रहेका दुई सयभन्दा बढी नेपाली नागरिकले सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गर्दै सरकारी घेरा तोडी जनकपुरसम्म आइपुगेका थिए। चार महिनाअघि मजदुरी गर्न उनी भारतको गुजरात पुगेका थिए। कोरोना महामारीको कारण भारतमा समेत लकडाउन भएपछि उनी सहकर्मीसँगै पैदल हिँड्दै घर फर्किएका थिए।
यता वीरेन्द्रको मृत्युपछि शहिदनगर नगरपालिकाले क्रियाखर्चका लागि एकलाख रुपैयाँ उपलब्ध गरेको छ ।मृतकका् परिवारलाई क्रियाखर्चस्वरुप एक लाख रुपैयाँ नगरपालिबाट दिने निर्णय भएको नगरप्रमुख उदयकुमार बरबरिया यादवले जानकारी दिए ।
मृतकको शव हाल प्रादेशिक अस्पतालमा रहेकाले तत्काल लगेर दाहसंस्कारको तयारी समेत गरिएको नगरप्रमुख बरबरियाले जानकारी दिए ।