डुबान हेर्नु कि कोरोना ?

डुबान हेर्नु कि कोरोना ?

झापा : होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन। वर्षायामले ढोका घच्घच्याउँदै गर्दा वडा नम्बर ५ का केही भाग र ४ को पाठामारी क्षेत्रका बस्ती डुब्न थालेका छन्।

‘गाउँपालिकाले पाठामारी क्षेत्रमा बनाउन लागेको बाँधका लागि छुट्ट्याएको बजेट पनि क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेका छौं’, गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीले भनिन्, ‘अब बर्खा लाग्न सुरु भयो, कोरोनाको आतंक छ। कसरी व्यवस्थापन गर्ने भन्ने अलमलमा छौं।’

कचनकवल राजवंशी, मुस्लिम र आदिवासीको संख्या बढी भएको गाउँपालिका हो। यहाँका बासिन्दा अक्षर चिन्ने अवस्थामा पुगेपछि भारतका मुम्बई, दिल्ली, कोलकातालगायत ठाउँमा रोजगारीका लागि पुग्ने गर्छन्।

‘यति धेरै भारत गएका रहेछन् भन्ने कल्पना पनि थिएन’, गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, ‘भारतबाट दैनिक हुलका हुल भित्रिएका छन्। अभैm कति बाटोमा आउँदै छौं भन्छन्। आफ्नै गाउँका नागरिकलाई कसरी नआऊ भन्नु ? ’

भारततिर बिहारको किसनगन्ज जिल्लासम्म रेल आउँछ। त्यहाँबाट हिँडेर सीमासम्म आउँछन्। समूहमा आउने भएकाले व्यवस्थापनमा समस्या भएको अध्यक्ष आलम बताउँछन्। ‘आजसम्म लुकेर भागेर गाउँमा सिधै जान दिएका छैनौं’, उनले भने, ‘अब हाम्र्रो उद्देश्य नै सीमाबाट सिधै क्वारेन्टाइनमा ल्याउनमा ध्यान दिने हो।’

गाउँपालिकाको अधिकांश भूभाग भारतसित जोडिन्छ। अघिल्लो सोमबार झापामा तेस्रो संक्रमितका रूपमा कचनकवलका युवकमा कोरोना देखिएको थियो। मुम्बईबाट आएका उनी यो गाउँपालिकामा पहिलो संक्रमित थिए। उनीसँगै आएका अरू १० जनामा भोलिपल्ट कोरोना पोजेटिभ देखियो।

गाउँपालिका भित्रिनेको ओइरो छ। ‘अहिलेसम्मका संक्रमित अधिकांश मुम्बईबाट आएका छन्। अर्को समस्या के छ भने भारतले ज्वरोसम्म पनि नजाँची पठाउँछ। सबै जना गाडीमा कोचिएर सीमासम्म आउँछन्’, आलमले भने, ‘हामीले मात्र कन्ट्रोल गरेर कहाँ हुन्छ र ? ’

शुक्रबारसम्म गाउँपालिकामा संक्रमितको संख्या १ सय ७ पुगेको छ। १ सय ६२ जनाको स्वाब पठाइएको थियो। सात वडामा एक/एक वटाका दरले क्वारेन्टाइन बनाइएका छन्। ती ठाउँमा ५० देखि ६० जनाका दरले राख्ने गरिएको छ। विद्यालय भवनलाई क्वारेन्टाइन बनाइएको छ। कतिपय ठाउँमा बत्तीको समस्या छ।

क्वारेन्टाइनमा रहनेको संख्या ४ सय पुगेको गाउँपालिकाका प्रशासकीय अधिकृत दुर्गाप्रसाद पौडेलले बताए। ‘किट अभावका कारण समयमा परीक्षण हुन सकेको छैन’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.