किताबी किरोको कथा

किताबी किरोको कथा

एउटा क्याफेमा बसेर तीतो अमेरिकानो सुरुप्प पार्दै गर्दा भएको मिठो कुरो यो ..। 

धेरै अघि सुन्ने जमाना थियो। किताब लेखिन्थेनन्। सुनाइन्थे। गुरुले आफूले जानेको, सुनेको, बुझेको कुरो शिष्यलाई सुनाउने गर्थे। शिष्य कालान्तरमा आफैँ गुरु भएपछि आफ्ना शिष्यहरूलाई तिनै कुरा सुनाउँथ्यो। हाम्रा अनेक शास्त्र हाम्रा जिजुबाजेको पुस्तासम्म त्यसरी नै आइपुगे। त्यो जमानामा सुनेको कुराको त्यसैले निकै महत्व थियो। ‘मर्दको बोली’ अथवा ‘लु मैले बोलिदिएँ’ जस्ता बोलीलाई महत्व दिने उखान वा थेगो त्यही जमानाका अवशेष हुन्। बिस्तारै समय बदलियो। बोलेर सुनेका कुरा हुबहु सम्झिन गाह्रो। बिस्तारै मान्छेले लेख्न जान्यो।

बोलीमा मात्र भर पर्नुपर्ने अवस्था रहेन। सुनेका शास्त्र अब पढिने, लेखिने किताब बने। उखान बदलिए। ‘म लेखेरै दिन्छु’ भनिन थालियो अब। म त्यही समयमा जन्मिएँ र हुर्किएँ। हुनसक्छ, म बूढो हुँदासम्म लेखेका कुरालाई अन्तिम सत्य मान्ने जमानाको अन्त्य भइसकेको हुनेछ। मेरो पुस्ता सायद अन्तिम पुस्ता हो जो लेखिएका किताब पढ्दैछन्। अब पालो देखिएका किताबको आउनेछ। अक्षर पढेर चित्त बुझ्दैन मान्छेलाई र उसले सबै कुरा भिडियोमा हेर्नेछ। भनिएको कुरा पत्याउन उसलाई त्यही कुरा भिडियोमा हेर्नुपर्नेछ। तर जे होस् किताब मर्नेछैन। कथा, कविता, अक्षर र शब्दका प्रभाव मर्ने छैनन्। स्वरूप भलै फेरिएला। शरीर परिवर्तन होला, आत्मा मर्नेछैन। आखिर मान्छेलाई सपना देखाउने, आङ जिरिंङ्गै पारिदिने, एकैपल्ट शान्त र उद्वेलित बनाइदिने किताबले नै हो...। अक्षर र शब्दको जादुगरीले नै हो। कथाले, कविताले, दर्शनले नै हो। किताबले जीवन रूपान्तरण भएका धेरै कथा छन्। मेरो जीवन पनि त्यस्तै एउटा कथा हो। 

अक्षरहरू सरकारको डरले साँघुरिएका बेला, किताबलाई विलासिताको वस्तु ठानेर कर लगाउने सरकारले रजाइँ गरेको यो समयमा यो एउटा कथा भन्नैपर्छ मैले। किताबहरू निस्सासिए भने आउँदो पुस्तालाई अँध्यारोबाट उज्यालोतर्फ कसले लिएर जाने ? तमसोमा ज्योतिर्मय। कथा सुरु यसरी गरौँ न, अक्षर उज्याला हुन्। अक्षरको, शब्दको, किताबको उज्यालोमा मान्छेले कैयौँ अँधेरी रात काटेका अनगन्ती उदाहरण छन्। नेपाली साहित्यमा अब्बल मानिने बीपी कोइरालाले आफ्ना सबै किताब जेलको अन्धकारमा बसेर लेखे। अहिले हामी तिनै किताबका उज्यालोमा जीवनको गोरेटो नाप्छौँ। किताबको नाममा नोटका गड्डी मात्र छिचोलेका शासकहरूले बुझ्नु जरुरी छ, लोभको अन्त्य छैन।

मान्छेले मरेपछि सम्पत्ति लान पाउँदैन। अनी स्विस बैंकका गोप्य खातामा राखेको रकमले शीतल दिँदैन, पोल्छ। मार्टिन लुथर किङ, महात्मा गान्धी, नेल्सन मन्डेलाहरू मरणोप्रान्त उति नै सबैका हृदयमा बसेका छन् जति उनीहरू जीवित हुँदा थिए। उनीहरूले जेलको अँध्यारो कोठरीमा बसेको बेला पनि लेखिरहे, अरूका लागि उज्यालो कोरल्ने शब्दहरू। तिनै उज्यालोको प्रकाशमा संसारले अनेकपल्ट क्रान्तिको बाटो तय गरेको छ। विकासको गोरेटो खनेको छ। ज्ञानलाई सम्पत्ति र शासनभन्दा सर्वोपरि ठानेर जंगलमा गई आफ्नो आत्माको आवाज सुनी जीवन बिताएका ऋषिहरूले कुनै महान् समयमा लेखेका हाम्रा ग्रन्थहरू पश्चिमले आफ्नो भाषामा अनूदित गराएर पढेको छ। इतिहास सधैँ यस्तो थिएन।

हामी ज्ञानलाई सर्वोपरि ठान्ने सभ्यता हौँ। हाम्रो देश असाधारण विद्वताको कदर गर्दै आफू भुइँमा बसेर एउटा फुच्चे बालक अष्टावक्रलाई आफ्नो सिंहासनमा बसाएका राजा जनकको देश हो। राजा जनक र अष्टावक्रबीचको संवाद खोपिएको ग्रन्थ अष्टावक्र गीता पूर्वीय दार्शनिक ग्रन्थहरूमै सबैभन्दा अब्बल मानिन्छ। हाम्रा शासकहरू यस्ता थिए। हामीकहाँ राजपाटलाई लात हानेर ज्ञानको खोजीमा निस्केका शासकहरूको असंख्य लेगेसी छ। पर्यटन वर्ष मनाउन खोज्ने सरकारले बुझ्नुपर्छ, हामी बुद्धको देशका नागरिक हौँ। 

मायालु ओठहरूले कानमा वा ओठमा फुस्फुसाएका शब्द सुनेर वा चाखेर जीवन्त महसुस गर्नुभएको छ भने पक्कै बुझ्नुहुन्छ। शब्दमा प्राण हुन्छन्। जादुगरहरू त्यसैले भन्छन्, आब्राकाडाब्रा ..। ‘म जे भन्छु त्यही हुन्छ’ 

लेख्नेहरू त्यसैगरी अक्षरहरूले कल्पनाको एउटा सजीव लोक रच्छन्। पाठकहरू आफ्ना अँध्यारा रातहरू त्यही लोकको सुनौलो कल्पना पढेर काट्छन्। नपत्याए ह्यारी पोटर पढ्नु। सही शब्द शिल्पीको हातमा परेको खण्डमा हरेक शब्द आफंैमा मन्त्र हुन्। तपाईं जिजीविषाको पर्खालमा बन्द भएर मुर्दा जीवन बिताइरहनुभएको छ ?शब्दका हतियारले ती पर्खाल फोर्नुस्। कुनै एउटा मीठो किताब समातेर सुरु गर्नुहोस्। किताबका अक्षर मुक्तिका मन्त्र बनेर हरदम उपस्थित छन्। अथवा रंगीन संसार चिहाउने झ्याल भन्ठान्नुस् ती शब्दलाई। ती शब्द कोरिएका किताबलाई। 

मैले मान्छेलाई भन्दा पहिला किताबलाई प्रेम गर्न सिकेको हुँ। अहिले पनि किताबको सुगन्ध मलाई कुनै फूलको सुगन्धभन्दा कम लाग्दैन। किताबको स्पर्श मलाई प्रेमिकाको न्यानो हातको स्पर्शभन्दा कम लाग्दैन। किताब मेरो पहिलो प्रेम। योसँगको साथ कहिल्यै ब्रेकअप भएन। जीवनमा अनेक मान्छेहरू आए, गए। सोधे, ‘कति पढेको ? झर्को लाग्दैन ?’ ती आफैँले मसँग झर्को माने र गए। कतिसँग मैले झर्को मानेँ र हिँडिदिएँ। किताबले कहिले झर्को मानेनन्। न मैले कहिले तीसँग झर्को मानेँ। बरु मान्छेहरूसँग झर्को मानेर हिँड्दा पनि किताब साथमा छुटेनन्।  

सानो हुँदा मेरो सबैभन्दा ठूलो सपना नै किताब पसले बन्ने थियो। मलाइ बाउ आमाले किनिदिएका र साथीभाइसँग मागेका किताब पढेर पुगेन। त्यसैले। जसरी गाँजा तान्ने साथीहरू नो विड इज इनफ विड भन्छन्, मेरो लागि किताब त्यस्तै सधैँ। नो अमाउन्ट अफ बुक्स आर इनफ बुक्स। साथी बनाउन गाह्रो हुने अन्तर्मुखी स्वभावको म के गर्थें होला यदि किताब हुन्थेनन् त ? अनि अहिले भएका थोरै साथीहरू पनि किताबले, लेख्नेपढ्ने शृंखलाले जुटाइदिएका साथी त हुन्। साथीहरू आफूले रोजेर बनाउन पाएको परिवार हुन् भन्ने भनाइ छ। यो अर्थमा मेरो सानो परिवार अर्थात् साथीहरूको सानो सर्कल पनि पढ्ने, लेख्ने क्रमले नै जुटाइदिएको हो। किताबहरू नहुँदा हुन् त मेरा लागि यो जीवन पट्यारलाग्दो, झर्कोलाग्दो, वाक्कलादो हुन्थ्यो पक्कै। म कुनै जंगलको कुनै गुफाभित्र एक्लै बसेर जीवन बिताइरहेको हुन्थेँ पक्कै। 

यो मैले सुनेको कुरा, म जन्मेको वर्ष संजय दत्त र उनकी पहिली पत्नी ऋचा शर्माको विवाह भएको थियो रे। त्यो वर्षको फिल्मफेयर म्यागजिन घरमा थियो रे। मैले एक वर्षको हुनासाथ फिल्मफेयरको त्यो अंकका पाना पल्टाउँदै चित्र हेर्दै गर्न थालेको थिएँ रे। तराईको एउटा सानो सहरमा हुर्कंदै थिएँ म। बाआमाको आफ्नै स्वादअनुसारको किताबको संग्रह थियो छुट्टाछुट्टै। बाह्र वर्ष लगभगको उमेरमा एउटा समय यस्तो आयो, बाआमा दुवैको संग्रह मैले चाटीचुटी सिनित्तै पारिसकेको थिएँ। त्यही उमेरमा मैले नेपाली र हिन्दी क्लासिक्स सबै सकाइसकेको थिएँ।

स्कुलमा पुस्तकालय हुँदैनथे। प्रकाशन गृहहरूले फ्रिमा दिएर गएका कोर्सका किताबहरू ढुसी गनाउने एउटा अँध्यारो कोठाको कुनामा राखिएका हुन्थे स्कुलमा। अंग्रेजी र नेपाली विषयका हरेक कक्षाका किताब मैले पढेर सकेँ त्यही अँध्यारो कोठामा एक्लै बसेर। आफू चार, पाँचमा हुँदा नौ दसका किताब सकेँ। आठ, नौमा हुँदा आईकम, बीकमका किताब सकेँ। तिनताक ठूलामा, काका आदि टाइपका नातेदारहरूका दाइ दिदी पर्ने छोराछोरीहरू आइकम, बीकम पढ्थे। उनीहरूको घरमा गएका बेला उनीहरूको अंग्रेजी र नेपाली किताब सकेँ। म बस्ने सहरमा न गतिलो पुस्तकालय थियो, न पुस्तक पसल। अझै झन् धेरै, अझ धेरै पढ्न चाहने मेरो प्यास तृप्त हुन नपाएर छटपटाएको थियो। ती दिनहरूमा म जे भेट्यो त्यही पढ्दिन्थेँ। घरमा कुनै नयाँ उपकरण ल्याए भने त्यसको म्यानुयल पढ्दिन्थेँ। बाटामा हिँड्दा साइनबोर्ड पढ्दिन्थेँ। यो बानी अझै कायमै छ। त्यसैले मलाई सहरको कुन कुनामा के पाइन्छ कण्ठस्थ छ।

तराईको त्यो एउटा सानो सहरमा हुर्किंदै गर्दाका दिनहरूमा शनिबारको दिन खुसीको दिन बनेर आउँथ्यो। शनिबार नारायण वाग्लेको कफी गफ आउँथ्यो। मैले आमाले पढ्ने तसलिमा नसरिनदेखि बाउले पढ्ने भैरव अर्यालसम्म पढेर सकेको थिएँ छ सात क्लास पढ्दै। तर, कफी गफजस्तो केही पढेको थिइनँ कहिल्यै। अझै त किताब पसलभन्दा भट्टी पसल धेरै छन् यो देशमा, ऊ बेला झन् कहाँबाट रोजेको खोजेको किताब पाउनु ! बाउआमाले जम्मा गरेर राखेका हिन्दी, नेपाली किताब जे जति छन् त्यही पढ्यो। दाइ दिदी टाइपका मान्छेहरूको कम्पल्सरी अंग्रेजी किताब पढ्यो। मैले बाँचेको, अनेकथरी पर्खालहरूले घेरेको संसारको पहिलो रंगीन झ्याल थियो नारायण वाग्लेको कफी गफ। त्योभन्दा अघि मैले दुःखका कथाहरू मात्र पढेको थिएँ। साहित्य भनेको दुःखीहरूको रोइलो मात्र हो भन्ने मेरो बुझाइ थियो। घरमा कहीँकतैबाट आएको म्याक्सिम गोर्कीको आमा, पढ्न केही नपाएर पढेको। आजभोलि रक्सी धेर खाएर बान्ता होलाजस्तो हुँदा त्यही किताब पढ्दैछु जस्तो लाग्छ।

कफी गफ पढेर रमाइलो र मीठो कुरा पनि लेख्न सकिने रहेछ भन्ने मैले बुझेँ। आजभोलि अखबारहरूमा आउने पुस्तकवार्ता टाइपको अन्तर्वार्ताहरूमा तपाईंको जीवन परिवर्तन गराउने पुस्तक भनेर सोधिएको हुन्छ। प्रायःले त्यस्तो ठ्याक्कै एउटा कुनै पुस्तक हुँदैन भन्ने उत्तर दिन्छन्। मेरो हकमा भने ठ्याक्कै त्यस्तो भएर आइदियो नारायण वाग्लेको शनिबारीय स्तम्भ कफी गफ। मलाई अक्षरको जादु पहिलोपल्ट उनै नारायण वाग्लेको भाषाले देखाएको हो। हरेक आइतबार बेलुका स्कुल सकाएर शनिबारको कोसेली पढ्न म बाको कार्यालय जाने गर्थें।

हप्तामा एउटा मात्र किन आउँछ योजस्तो लाग्थ्यो। गोवा भन्ने ठाउँ छ संसारमा जहाँ हिप्पी भन्ने निस्फिक्री मान्छे हुन्छन्। लाइभ म्युजिक भन्ने चीज हुन्छ। केरा लज एन्ड भुइँकटर बार भन्ने रेस्टुरेन्ट छ गोवामा जहाँ गुदी ताछिएको भुइँकटहरमा ड्रिंक राखेर स्ट्र हालेर सर्भ गरिन्छ भन्ने कुरो मैले कफी गफमा पढेँ। बूढाले एकै लटमा यसरी धेरै कुरा पढाए। त्यही हुटहुटीले मलाई बीस वर्षको उमेरमा गोवा पुर्‍यायो। तीस वर्षको उमेरमा तीन महिना त्यहीँ बसायो। उपन्यास लेखायो। 

मैले रामायण पढेँ। सेक्सपियर पढेँ। रोमियो एन्ड जुलियट र राम सीताको कहानी उस्तै लाग्यो। सीताले भीरबाट फाल हानेर सुसाइड गरिन्। यो थाहा पाएर रामले पानीमा फाल डुबेर सुसाइड गरे। मैले गीता पढेँ। बाइबल पढेँ। गीतामा कृष्णले म फलाना र तिलाना हुँ भनेर घमण्ड देखाएको रिस उठ्यो। बाइबलका हावा कथा पढेर पनि रिस उठ्यो। मैले माक्र्स पढेँ। म नास्तिक भएँ। यो सबै १३ वर्षको उमेरसम्ममा भइसकेको थियो। जे जति बुझेँ त्यो बेला, उमेरअनुसारको कुरा मात्र बुझेँ। हिटलर र यहुदी पढ्दा दर्शन केही बुझिनँ। रेवा र म पात्रको रोमान्स मात्र बुझेँ। घामका पाइलाहरूमा अणु र पवनको मीठो प्रेमकथा बुझेँ। आठ, नौमा पढ्दा घामका पाइलाहरूकी अणु खोज्दै हिँडेँ। छ कक्षादेखि गुलमोहर भन्ने अंग्रेजी किताब पढाइन्थ्यो स्कुलमा। त्यहाँ मीठा अंग्रेजी कथा हुन्थे।

ती कथाका लेखकका अरू कथा खोज्ने क्रममा रस्किन बोन्ड, ओ हेनरीजस्ता विदेशी लेखक चिनेँ। पढ्न सुरु मात्र गर्नुपर्ने रहेछ, माकुराको जालो जसरी एउटा किताबले अर्को किताबसँग आफैँ हातेमालो गराइदिने रहेछ। आजभन्दा सायद दस वर्षजस्तो अघि पहिलोपल्ट गोवा जाँदा मैले नारायण वाग्लेको पल्पसा क्याफे पढिसकेको थिएँ। गोवाभरि आँखामा पल्पसा र दृश्य घुमिरहे। उही पल्पसा क्याफेको सायद पुछारमा, डच चित्रकार भिन्सेन्ट भान गगको जीवनी ‘लस्ट फर लाइफ’को उल्लेख थियो। त्यो किताब आकाश पाताल गरेर खोजी ल्याएँ। त्यो एउटा किताबको हरेक पाना मेरा आँसुले भिजेर फुलेको छ। एउटी प्रेमिकाले जबर्जस्ती गरेर लगी त्यो किताब।

मैले आजसम्म कसैलाई दिएको सबैभन्दा मूल्यवान् उपहार सायद त्यही किताब होला। ताराहरू हेरेर जीवनको विराटताको कल्पना गर्न मलाई त्यही किताबले सिकाएको हो। जीवनमा कलाको महत्व र आफूलाई जे काम गर्दा मजा आउँछ त्यसैमा आफ्नो जीवन अर्पण गर्न मलाई त्यही किताबले सिकाएको हो। लस्ट फर लाइफ नपढेको भए पेन्टिङ र आर्टको अद्भुत संसारसँग मेरो सायदै परिचय हुन पाउँथ्यो होला। आठ कक्षामा पढ्दा काठमाडौँबाट एउटा केटा हामीसँग पढ्न गयो। उसको बाउ कुनै सरकारी कार्यालयका हाकिम थिए। बाउको सरुवा भएपछि केटो काठमाडौँको ठूलो स्कूलबाट हाम्रो सहरको सानो स्कूलमा पढ्न आएको थियो। केटो बाठो थियो। धेरै कुरा जानेको। अनौठा अनौठा कुरा गथ्र्याे। मैले कहाँबाट थाहा पाइस् यस्ता कुरा भनेर सोधेँ उसलाई। उसले एउटा किताबमा पढेको भन्ने कुरा गर्‍यो।

मैले उसलाई त्यो किताब लिएर आउन भनेँ। अर्को दिन उसले स्कुलमा किताब लिएर आयो। किताब थियो ओशोको ‘मैं मृत्यु सिखाता हुँ।’ अध्यात्ममा रस बसाउने पहिलो पुस्तक यही थियो मलाई। त्यसपछि ओशोका किताब खोजीखोजी पढ्न थालेँ। लाखौँ किताब पढेको दाबी गर्ने ओशोले आफ्ना प्रिय किताबको लिस्ट दिएर गएका छन्। त्यो लिस्ट नै किताबका रूपमा उपलब्ध छ। त्यो लिस्टमा उल्लेख गरिएका सबै किताब पढ्नु। हराएको त्यो साथी एक हप्ताअघिमेसेन्जरमा हलो भन्न आयो। कुरैकुरामा उसले सोध्यो, ‘ओइ तँलाई स्कुलमा पढेको प्रश्नोत्तर कविता याद छ ?’
‘देखिन्छ इश कुन मन्दिरमा पसेर ?    
त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ..। ’
स्मृतिको डोरी छाड्दै मनको चंगा उडाउन थालेँ यसरी भने कुनै किताब नै ठोकिन आउँछ मेरा कुरामा यसरी। एकपल्ट चिन्दै नचिनेकी एउटी विदेशी केटीले इन्स्टाग्राममा मेसेज गरी, ‘तेरो प्रोफाइल हेर्छु सधैँ। मलाई तँ एउटा किताब जस्तो लाग्छ ..’
‘कुन किताब ?’ ‘एलिफ सफाकको फोर्टी रुल्स अफ लभ ..’

बेलाबेला धक्कु लगाउन म यो सुनाउँछु। मान्छेहरू एकअर्कालाई तँ फलानो हिरो जस्तो, तिलानो मोडलजस्तो भनेर कम्प्लिमेन्ट दिन्छन्। मैले तँ फलानो किताबजस्तो भन्ने कम्प्लिमेन्ट पाएँ। 
किताबहरू मेरा जरा हुन्। मेरा फूल हुन्। मेरा पुतली हुन्। मेरा आँसु, मेरो हाँसोका प्रायः कारण लेखिएका अक्षर नै बनेका छन्। किताबले नै मलाई उडाएको हो, सपना देख्न सिकाएको हो। प्रकृतिको आदर गर्न सिकाएको हो। संसार चिनाएको हो। म हुर्केकै सहरमा बस्ने एक जना प्यारा मित्र छन्। निकै वर्ष अस्ट्रेलिया बसेर आएका। देशका लागि, आफू जन्मिएको ठाउँका लागि केही गर्नुपर्छ भनेर फर्किआएका। उनी उतै बसेर राजनीति गर्छन्। बीपी कोइरालाको जस्तो व्यक्तित्व छ उनको। अध्यात्ममा, साहित्यमा गहिरो रुचि राख्छन्।

मलाई बेलाबेला फोन गरेर भन्छन्, ‘स्वामीजी, आफू हुर्किएको ठाउँका लागि केही गर्नुपर्‍यो। केही नभए यता आएर स्थानीय स्कुलका बच्चाहरूलाई केही हल्का जीवन दर्शन दिनुपर्‍यो..। ’ जाउँला ल ठीक छ। तर के भन्नु ? मसँग के नै छ र जीवन दर्शन ? अनि सोच्छु, म यही कुरा भन्नसक्छु। मेरो जीवन जे जस्तो छ, आनन्द र मुक्तिले भरिपूर्ण छ, चिन्ता छैन, तनाव छैन। एकएक क्षण जीवनका गीत गाउन योग्य छन्। मैले हिँडेको जीवनको यो बाटो किताबहरूले कोरिदिएका हुन्। कुनै दिन म मित्रको आग्रह स्वीकारेर गएँ भने यही कुरा भन्नसक्छु। बाँकी जे जति गर्नु छ गर्नु। किताब पढ्न नछोड्नु। जे पाइन्छ पढ्नु। एउटा किताब सुरु गरेपछि त्यसैले अर्कोतर्फ लिएर जान्छ। एकएक किताब अनि जीवनमा एक एक झ्याल बनेर खुल्छन् ...। एक एक किताबले कैदका सब पर्खाल फोर्छन्। 

सानैमा पाएको तर मैले जिन्दगीमा कहिल्यै पालना नगरेको आर्थिक सुझाव हो, एकएक पैसा जम्मा गर्नु। तीन रुपैयाँ भयो भने एउटा इँटा किन्नु। पैसा खेर नफाल्नु। तिनताक इँटाको तीन रुपैयाँ पथ्र्याे रे। मैले कहिले इँटा किनिनँ। किताब किनेँ। केही साथीहरूले इँटा किने। घर बनाए। घर वरिपरि पर्खाल हाले र आजभोलि त्यही पर्खाल भित्र कैद भएर बस्छन्। उनीहरू कहिलेकाहीँ किताब र बोटबिरुवाले भरिएको मेरो भाडाको कोठा हेर्न आउँछन्। जाँदा केही लगे आएको फाइदा हुन्छजस्तो लाग्दो हो उनीहरूलाई, कोठाबाट कुनै किताब उठाउन खोज्छन्। पढेर फर्काउँछु भन्छन्। ती कथा, कविता बुझ्दैनन्।

किताब लैजान पाए भने फर्काउँदैनन्। बरु तिनले लगेका किताब केही वर्षपछि फुटपाथका सेकेन्ड ह्यान्ड पुस्तक पसलमा भेटिन्छ। आफ्नो किताब आफैँले किनेर ल्याउँदाको हत्ते। त्यसैले म आजभोलि जोसुकैलाई आफ्ना किताब पढ्न दिन्नँ। इँटामा मोह भएको मान्छेले किताबलाई पनि प्लास्टर गरेर राखिदिन के बेर ! मनपरेका थोरै मान्छेलाई मनपरेका थोरै किताब छानीछानी दिन्छु। आफ्नो सामान कसैलाई दिँदा प्रायः मान्छे भन्छन्, ‘आफ्नैजस्तो ठानेर चलाउनु है।’ मैले मेरा मनपरेका मान्छेलाई मनपरेका किताब दिँदा सधैँ भनेँ, ‘अर्काको हो भन्ने सोचेर पढ्नु है ..।

जतन गर्नुपर्छ भन्ने नठान्नु। किताब मनपरे भित्रका पानामा रातो लिपिस्टिक लगाएर म्वाइँ खानु। सक्दो दाग लगाउनु। मनपरेका हरफमा हाइलाइट गर्नु। समय लगाएर पढ्नु। पढेर फिर्ता गर्न चाहिँ नभुल्नु। ’ त्यसरी फिर्ता आएका किताब यसो निकालेर पल्टाउँछु। कुनै बेलाका प्रेमिकाहरूले मन पराएका हरफ। पक्कै मेरो बारेमा सोचेका हुँदा हुन् ती हरफहरूमा रंग पोत्दै गर्दा। आजभोलि पुराना किताब पल्टाउँदा पानाहरूभित्र त्यसैले भेटिने गर्छन्, कसैलाई जमानामा फोन गर्न कोट्याइएका रिजार्ज कार्ड, कसैले जमानामा माया गरेर दिएका मयुरका प्वाँख। बसेर पिउँदै पढ्दै गरेको कुनै भट्टीको बिल, कसैले ओठको छाप लगाएर राखिदिएको टिस्यु पेपर। मानौँ किताब हैनन् अल्बम हुन् सुस्वादु स्मृति बोकेका। किताब उपहार दिनेहरू सुन्दर हुन्छन्जस्तो लाग्छ मलाई। मेरो किताब राख्ने र्‍याकका केही कोठा तिनै सुन्दर मान्छेहरूले दिएका सुन्दर उपहार बनेर बसेका छन्। कति कमाएँ जीवनमा भनेर गन्नुपर्‍योभने तिनै किताबका पाना गन्छु म। हृदय न्यानो हुन्छ आनन्दले। त्यस्तो न्यानो सक्दो बाँड्नु। उपहारमा किताब लिन दिन नछाड्नु। बरु जन्मदिनमा केक नकाट्नु। किताब साट्नु। 
@swamianoopamaxl
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.