तेन्जिङ नोर्गेका नौ ‘सेक्रेट्स’
सगरमाथामा प्रथम मानव पाइला राखेको ठीक ६७ वर्ष पुग्यो। विश्वको सर्वोच्च शिखर चुम्ने दुई जनामा एक नेपालमै जन्मेका तेन्जिङ नोर्गे शेर्पा र अर्का न्यूजिल्यान्डका एडमन्ड हिलारी थिए।
१९५३ मे २९ मा सगरमाथा शिखरमा पुगेर १५ मिनेट बिताएका दुवै अहिले जीवित छैनन्। तर, उनीहरूको साहसिक कर्म झन् झन् फैलिँदै छ। दोस्रो विश्वयुद्धका फाइटर पाइलटदेखि सगरमाथा आरोहण हुँदै अन्य विभिन्न विश्व रेकर्ड बनाएका हिलारीबारे धेरै चर्चा छ। नेपाली भूमिमा जन्मेका तेन्जिङ नोर्गेको चर्चा भने हिलारीको अनुपातमा कम भएको छ। उनै तेन्जिङका महत्वपूर्ण नौ पक्षको चर्चा यो आलेखमा बुँदागत रुपमा गरिएको छ।
जन्मस्थान र भारत
धेरै स्थानमा तेन्जिङको जन्म सोलखुम्बुको थामेमा भएको उल्लेख छ, जसको खण्डन तेन्जिङ आफँैले गरेका छन्। उनले आत्मकथामा आफू थामेमा नभई मकालु हिमाल नजिकैको साचु भन्ने स्थानमा जन्मेको लेखेका छन्। नेपालमा तेन्जिङले सगरमाथा आरोहण गरेपछि राज्यले संरक्षण गर्न नसक्दा भारत भासिन बाध्य भए भन्ने भनाइ सामान्य जस्तै छ। यथार्थ फरक छ। सन् १९३२ को अन्त्यमा तेन्जिङ खुम्बुको पुख्र्यौली थामे गाउँबाट दार्जिलिङ पुगेका थिए। आफ्ना २० जना साथीहरूसँगै आफूले सोलुखुम्बु छोडेको तेन्जिङले आत्मकथा ‘टाइगर अफ द स्नोज’मा उल्लेख गरेका छन्। सुरुमा दार्जिलिङ नजिकैको आलुबारी गाउँमा बसेका तेन्जिङ पछि दार्जिलिङमा बस्न थालेका थिए।
आफ्ना बाबुले विदेश नजा भन्दाभन्दै तेन्जिङ दार्जिलिङ भासिएको कुरा तत्कालीन समयमा ‘द न्यू योर्कर’ नामक अमेरिकी अखबारले समेत लेखेको थियो। सन् १९५४ मा क्रिस्टेफर रेन्डले लेखेको समाचारमा समेत उक्त कुरा उल्लेख छ। घरमा जानकारी नदिई दार्जिलिङ हिँडेका तेन्जिङको मृत्यु भएको अनुमानमा घरमा कारकिरियासमेत गरिएको तेन्जिङले आत्मकथामा लेखेका छन्।
चुम्नुअघिको पदक
सगरमाथा पुगेपछि तेन्जिङलाई विश्वभरबाट सम्मान, पदक तथा पदवीको ओइरो लाग्यो। तर, उनले शिखर चुम्नुअघि नै तत्कालीन राजाले उनलाई ‘नेपाल प्रताप बर्धक’ नामक सम्मान दिएका थिए। सन् १९५२ मा स्विस टोलीसँगै सगरमाथाको असफल यात्रा गरेर आएका उनलाई सम्मान दिइएको थियो। तेन्जिङले आफ्नो आत्मकथा ‘टाइगर अफ द स्नोज’को १६ औँ अध्याय ‘इट मस्ट बी नाउ’को सुरुमै यसबारे लेखेका छन्, ‘काठमाडाँैमा हामीलाई हारभन्दा जित भएको जस्तो गरेर स्वागत गरियो। राजा स्वयं उपस्थित भएर मलाई नेपाल प्रताप बर्धक पदक दिए।’
‘लक्की सेभेन’ संघर्ष
१९५३ मे २९ मा तेन्जिङ आफ्ना न्युजिल्यान्डका सहयात्री एडमन्ड हिलारीसँगै शिखरमा पुगेका थिए। त्यो चुचुरामा पुग्न उनले गरेको संघर्ष लामो छ। सबैभन्दा पहिले सन् १९३३ मा दार्जिलिङमा पुग्नासाथ हिमाल पुग्ने भरियाका लागि लाइनमा उभिएका उनी अयोग्य बने। उनी सन् १९३५ मा इरिक सिम्पटोनको समूहमा पहिलोपटक सगरमाथा चढेका थिए। यस्तै सन् १९५२ मा स्विजरल्यान्डका स्प्रिङ तथा अटम दुवै आरोहण दलमासमेत तेन्जिङ सगरमाथा पुगेका थिए। उनी सातौँ प्रयासमा भने बल्ल चुचुरोमा पुग्न सफल भएका हुन्।
२२ किलोको भारी बोकेर चुचुरोमा
१९५३ मे २९ मा बिहान साढे ११ बजे सगरमाथामा पहिलो पाइला राख्ने दुई आरोहीमा एक आरोही तेन्जिङ चुचुरामा पनि सहजै पुगेका होइनन्। ५० पाउन्ड (२२ किलो) गह्राँै भारी बोकेर पुगेका हिलारीले आत्मकथाका उल्लेख गरेका छन्। आरोहण दलका सबैले ५० पाउन्डको भारी बोकेकोमा हिलारी आफूले भने ६० पाउन्ड अर्थात् २७ किलोको भारी बोकेको उल्लेख गरेका छन्।
चुचुरोमा गाडिएका चार झन्डा
सगरमाथाको चुचुरामा अनेक देश तथा अनेक संस्था तथा संगठनहरूका झन्डा गाड्ने प्रचलन देखिन्छ। त्यसको सुभारम्भकर्ता नै तेन्जिङ हुन्। उनले आफ्नो प्रथम सगरमाथा आरोहणमा चार झन्डा चुचुरामा गाढेका थिए। हिलारीको आत्मकथा ‘भ्यु फ्रम द समिट’देखि तेन्जिङकै आत्मकथामा समेत उक्त कुरा उल्लेख छ। नेपाल, भारत र बेलायतका तीन देशका झन्डासहित संयुक्त राष्ट्रसंघका झन्डासमेत उनले गाढेका थिए। कुनै एक देशको झन्डा माथि पार्दा राजनीतिक हुने भएकाले आफूले सबैभन्दा माथि संयुक्त राष्ट्रसंघको झन्डा नै पारेको तेन्जिङले आत्मकथामा बताएका छन्।
कसको पाइलो पहिलो ?
हिमाल आरोहण दललाई युद्धमा हिँडेको सैन्य दलजस्तै मान्ने गरिन्छ। कुनै पनि हिमालको प्रथम आरोहण त झनै अत्यावश्यक सामूहिक काम हो। त्यही भएर हरेक हिमालको प्रथम आरोही दुई जना हुन्छन्। सगरमाथामा तेन्जिङ र हिलारी भएजस्तै कञ्चनजंघामा जो ब्राउन र जर्ज ब्यान्ड, ल्होत्सेमा फ्रित लुसिंगर र एर्नेस्ट रेइस छन् भने मकालुमा लियोनल टेरी र जोन कोजी छन्। कसैले दुई जनामा पनि को पहिले भयो भनेर सार्वजनिक गर्छन्। कसैले गर्दैनन्। हिलारी र तेन्जिङले भने सार्वजनिक गरेका छन्। हिलारीले आफ्नो आत्मकथा ‘भ्यु फ्रम द समिट’को पहिलो अध्याय ‘रोअर अफ द थाउजन्ड टाइगर’मा आफू शिखरमा पुगेलगत्तै तेन्जिङ पुगेको बताउँदै भनेका छन्, ‘उक्लिँदै म चौडा हिउँ छरिएको क्षेत्रमा पुगेँ। तेन्जिङ लगत्तै मसँगै आए। हामी आश्चर्यले वरिपरि हेरौँ। विशाल सन्तुष्टि हुने गरी हामीले थाहा पायौँ कि हामीले विश्वको सर्वोच्च शिखर चुमेका छौँ।’
तेन्जिङले आफू र हिलारीले काठमाडौं आएपछि सँगै पुगेको भन्ने सहमति गरेको बताएका छन्। नेपाल र भारतमा आफू पहिले पुगेको भन्न धेरै दबाब आएको बताउँदै हिमाल आरोहणमा एकै डोरीले चढ्ने भएकाले पहिलो र दोस्रो नहुने तर मान्छेले को पहिलो भन्ने वाहियात प्रश्न गर्ने तेन्जिङले आत्मकथाको १८ औँ अध्याय ‘द ड्रिम कम्स ट्रु’मा भनेका छन्। तर पनि उनले धेरैको जिज्ञासा मेटाउँदै लेखेका छन्, ‘म र हिलारीको डोरीमा जम्मा ६ फिटको मात्रै फरक थियो। मैले प्रथम र दोस्रो सोचेकै थिइनँ। हिलारी शिखरमा पहिले उक्ले। अनि म उनीपछि उक्लिएँ।’
चुचुरोमा उत्साह
सगरमाथा चुचुरोमा तेन्जिङ आफूभन्दा धेरै उत्साहित भएको हिलारीले आत्मकथामा लेखेका छन। आफूले चुचुरोमा पुगेपछि हात मिलाउन खोज्दा तेन्जिङले भने अझ उत्साहित हुँदै अँगालो नै मारेको हिलारीले लेखेका छन। तेन्जिङले पनि आफ्नो आत्मकथामा आफूले अँगालो मारेको बताएका छन्। चाल्स इभान्स र टोम बुर्डिलटोन चुचुरोमुनिको साउथ समिटमा पुग्दा दोस्रो लहरमा रहेका तेन्जिङ दुःखी देखिएको हिलारीले लेखेका छन। तेन्जिङ सगरमाथाको पहिलो आरोहीमा एकजना शेर्पा अनिवार्य पुग्नैपर्ने र त्यो आफू योग्य भएकामा तेन्जिङको आत्मविश्वास भएको हिलारीले लेखेका छन। तर, प्रथम एसल्टमा रहेका चाल्स इभान्स र टोम बुर्डिलटोनको समूह चुचुरोतर्फ अगाडि बढ्न सकेन। फलस्वरुप दोस्रो एसल्ट लाइनमा रहेका हिलारी र तेन्जिङ अगाडि बढे र सफलतापूर्वक शिखर चुमे। शिखर चुमेपछि आफ्नै मातृभाषामा सरमाथालाई आभार व्यक्त गर्दै तेन्जिङले भने, ‘थुजी चे मोमोलोङ्मा।’
अक्षर नचिन्दा पुस्तक निकाल्न ढिलाइ
तेन्जिङले आफ्नो पुस्तक नआए पनि आफूसँगैका धेरै साथीले पुस्तक लेखेको र त्यही पुस्तकमा आफ्नो बारेमा लेखिएको बताएका छन्। अरुले आफूलाई पुस्तकमा स्थान दिएका पुस्तकहरू घरभरि राखेर पनि आफैँले पुस्तक निकाल्न तेन्जिङलाई विलम्ब भएको थियो। सगरमाथाको सफल आरोहण गरेपछि तेन्जिङलाई पुस्तक निकाल्न अत्यन्तै जाँगर चलेको थियो। तर, अक्षर राम्रोसँग चिन्न नसक्ने भएकोले अलिक ढिलाइ भएको उनले आत्मकथामा उल्लेख गरेका छन्।
आफ्ना कुरा लेख्ने सहकार्य बेलायतीसँग पूर्वाग्रह भएकाले नगरेको बताएका तेन्जिङले भारतीय लेखकसँग सहकार्य गर्दा कमजोर हुने प्रकाशकले सल्लाह दिएको आत्मकथामा बताएका छन्। अन्नतः सन् १९५४ को वसन्तमा भेटिए अमेरिकी निबन्धकार तथा पर्वतारोहणका लेखक जेम्स र्याप्सी उल्लमन। पछि उनैसँग मिलेर तेन्जिङले आफ्नो लोकप्रिय पुस्तक ‘टाइगर अफ स्नोज’ सगरमाथा आरोहणको दुई वर्षपछि सन् १९५५ मा निकाले। अमेरिकाको न्यूयोर्क सहरस्थित प्रसिद्ध जिपी पुतनेम्स सन्स प्रकाशन गृहले उनको पुस्तक निकाल्यो। विश्वको सबैभन्दा विशाल पुस्तकालय अमेरिकाको लाइब्रेरी अफ कंग्रेसको क्याटलग कार्ड नम्बर ५५–७७४० मा तेन्जिङको पुस्तक दर्ता भएको छ।
संकीर्ण राज्यवादबाट उठेका बहुराष्ट्रवादी व्यक्तित्व
हिलारीले सगरमाथा शिखर चुमेको कुरामा एकमत भए पनि उनको राष्ट्रियताका विषयमा भिन्न भिन्न मत छन्। कसैले नेपाली हुन् त कसैले भारतीय। तर, तेन्जिङ आफँैमा भने संकीर्ण राष्ट्रवादी थिएनन्। उनले आत्मकथामा बहुराष्ट्रवादी तर्क गरेका छन्। आफू गौरवपूर्ण भारतीय र नेपाली भएको उनले आफ्नो आत्मकथाको २० औँ अध्याय ‘फ्रम टाइगर हिल’मा उल्लेख गरेका छन्।
@birat_anupam