पहिलो कोभिड संक्रमितको मृत्युदेखि दाहसंस्कारसम्म

पहिलो कोभिड संक्रमितको मृत्युदेखि दाहसंस्कारसम्म

त्रिवि शिक्षण अस्पतालमा महिना नपुगी बच्चा जन्मिए पनि अवस्था सामान्य भएको भन्दै एकजना सुत्केरी भोलिपल्टै डिस्चार्ज भइन् । तर, राजधानीबाट बाह्रबिसेस्थित घर फर्केकी उनलाई गाउँ पुगेको पाँचौँ दिनमा पटकपटक ज्वरो, सुक्खा खोकी, सास फेर्न गाह्रोजस्ता समस्या विकसित भएपछि भोलिपल्टै नजिकैको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको रहेछ। 

जाँचको क्रममा उनको लक्षण कोभिड १९ सँग मिल्दोजुल्दो भएपछि आरडीटी टेस्ट गरिएछ । छातीको एक्स–रे लिइएछ । आरडीटी रिजल्ट भने नेगेटिभ आएछ । तर, छातीको एक्स–रेमा निमोनिया एवं असाध्य संक्रमण (मेडिकल भाषामा एआरडीएस)को प्रमाण भेटिएका कारण चिकित्सकले सुत्केरी महिलालाई धुलिखेल अस्पताल लैजान बिरामीका आफन्तलाई भनेछन् । तर, सुत्केरीलाई अस्पताल होइन, घर नै फर्काइएछ ।

साँझसम्म सास फेर्न झन् कठिनाइ बढ्दै गएपछि राति धुलिखेल अस्पतालमा ल्याइयो । उक्त बिरामीलाई अस्पताल ल्याइँदै छ भन्ने हल्का जानकारी पाएको भरमा हामीले अस्पतालको गेटको ट्रियाजदेखिको पूर्वतयारी गर्न थाल्यौँ। 

बिरामीलाई अस्पतालको गेटमा ल्याइयो । तर, बिरामी अन्तिम अवस्थामा पुगिसकेको, सास फेर्न निकै सकस भइरहेको देखेपछि इमर्जेन्सी कक्ष परिसरमा रहेको श्वासप्रश्वास विशेष कोठामा लगियो । तुरुन्तै कृत्रिम श्वासप्रश्वासका प्रयास थालियो तर बचाउन सकिएन। 

अस्पतालको निर्देशिकाबमोजिम कुनै पनि अप्रत्याशित र शंकास्पद मृत्युमा पीसीआर स्वाब लिने निर्णयका कारण मृतक तथा उनीसँगै आएका मृतकका श्रीमान्, आमा, भाइ, बहिनी र नवजात शिशुको स्वाब लिएपछि शवलाई स्टान्डर्ड तरिकाले ब्यागमा डबल प्याक गरी नतिजा नआउन्जेलसम्मका लागि शवगृहमा राखियो । नतिजा पोजिटिभ आयो ! सबै जना आश्चर्यमा पर्‍यौँ। 

यो नै कोभिड–१९ संक्रमित व्यक्तिको नेपालमा पहिलो मृत्यु थियो । शनिबारको दिन भए पनि धुलिखेल अस्पतालको र्‍यापिड रेस्पोन्स टिमको आकस्मिक बैठक बसी मृतकको पीसीआर टेस्ट पुनः दोहोर्‍यायौँ । लगत्तै अस्पतालमा रहेका एवं गाउँ छिमेकमा रहेका मृतकका आफन्त, छिमेकीहरूको कन्ट्याक ट्रेसिङ सुरु गर्‍यौं। 

धुलिखेल अस्पतालभित्र मृतकका आफन्त घुमफिर गरेका अस्पतालका कतिपय कोठा तथा ठाउँहरूमा अन्य कुरुवालाई जान रोकी धुवाँबाट कीटाणुरहित पार्ने काम (फ्युमिगेसन) तत्कालै थाल्यौँ । र, अस्पतालको सेवा पनि सुचारु गर्‍यौँ ।

यसैबीच मृतकको दोस्रो पीसीआर रिजल्ट पनि पोजिटिभ आयो । त्यसपछि नेपालमै कोभिड–१९ संक्रमित व्यक्तिको पहिलो मृत्यु भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं स्थानीय प्रशासन र सुरक्षा निकायमा खबर गर्‍यौँ। 

हामीले तत्कालै कोभिड क्लिनिकको कतिसम्म जिम्मेवारी हुन्छ भन्ने सीमाबाट नहेरी मानवीयतालाई पहिलो प्राथमिकतामा राख्यौँ ।

धुलिखेल अस्पतालको पीसीआर रिपोर्टमा कुनै शंका थिएन । यस अस्पतालकै एक विज्ञ (भाइरोलोजिस्ट)ले नै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यकताअनुसार सघाइरहेका थिए । तर पनि धुलिखेल अस्पताल सरकारी अस्पताल नभएका कारण उक्त मृतकको रिपोर्टबारे भोलि कसैमा थप शंका नरहोस् र सरकारी तवरमै रेकर्ड होस् भनेर तेस्रोपटकको पीसीआर जाँच गर्न टेकुमा पनि पठायौँ । त्यहाँको रिपोर्ट पनि पोजिटिभ आएपछि लासको दाहसंस्कार गर्नुपर्ने भयो तर यसअघि कहिल्यै नभएको शव व्यवस्थापनको समस्या आइपर्‍यो। 

काभ्रे जिल्लाभर एउटा पनि शववाहन रहेनछ । यसकारण काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा भक्तपुरका प्रजिअले शववाहन पठाउने व्यवस्था भयो । मृतक महिलाको लासलाई काठमाडौँस्थित पशुपतिनाथ क्षेत्रको विद्युतीय शवदाहगृहमा पठाउने निर्णय काभ्रे प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य टोलीबाट भयो । तर, कोरोना संक्रमित शवको व्यवस्थापनसम्बन्धी निर्देशिकामा स्वास्थ्यकर्मीसँगै जानुपर्ने अव्यावहारिक बुँदा रहेछ ! परेन फसाद !!

निर्देशिकाबमोजिम गर्नैपर्ने बाध्यता आइलागेपछि मृतकका श्रीमान् तथा अस्पतालका एक कर्मचारीलाई दाहसंस्कार कार्यमा पठाउने निधो भयो । शव काठमाडौँमा लाने क्रममा सुरक्षाकर्मीहरूले एस्कर्ट गरेर लाने पनि निधो भयो । पशुपतिस्थित शवदाहगृह स्थलमा मृतकका श्रीमान् र अस्पतालकर्मी मिलेर आवश्यक प्रक्रिया पूरा गरे । यसबीच मृतकका आफन्त तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धुलिखेल अस्पतालमा आइसोलेसन तथा क्वारेन्टिनमा राखियो ।  

व्यावहारिक समस्या यसपछि पो सुरु भयो । शव लैजानका लागि भक्तपुरबाट आएको शववाहनसँगै दुई जना स्वयंसेवी युवा पनि आएका रहेछन् । सञ्चार माध्यममा उनीहरूले भनेको भन्दै धुलिखेल अस्पतालमा प्लास्टिकमा प्याकिङ गरिराखेको शव नमिलेकाले उनीहरूले रिप्याकिङ गर्नुपरेको तथा शव जलाउने व्यवस्थापन आपूmहरूले गरेको जिकिर रहेछ । यो दाबीमा सत्यता थिएन । तर, सामाजिक सञ्जाल र कतिपय ठूला मिडिया हाउसहरूले उनीहरूको देवत्वकरण गरिदिए ! तर यसको हकदार ‘रियल’ लास व्यवस्थापन गर्नेहरू थिए ।

कुरो यत्तिकैमा सकिँदैन । त्यसो त धुलिखेल अस्पताल कोभिड क्लिनिक मात्र हो । यस्तो जटिल र आकस्मिक अवस्थामा मृतकका आफन्तहरू (श्रीमान्, आमा, भाइ, बहिनी)लाई अस्पतालको क्वारेन्टिनमा थप एक हप्ता राखिराख्नु कुनै जरुरी थिएन । त्यसमाथि नवजात शिशुको स्वास्थ्यमाथि सबैको चासो थियो । खासमा भोलिपल्ट उनीहरू सबैको पीसीआर स्वाब लिएपछि सिन्धुपाल्चोकको क्वारेन्टिनमा पठाए पनि हुनेथियो । तर, धुलिखेल अस्पतालले आफ्नो दायित्व बिर्सिएन ।

बिहीबार राति सुत्केरी महिलाको मृत्यु भएपछि निर्देशिकाबमोजिम डबल प्याकिङमा राख्नुपरेको, अस्पतालको शवगृहमा फ्रिजको व्यवस्था अभैm गर्न नसकिएको र जेठको गर्मी वातावरणमा करिब ४८ घण्टा बाध्यताले लास राख्नुपर्दा कुहिन थालेकाले रसाएर डबल ब्यागमै भए पनि देखिने नै भयो । तर, त्यसको मतलब प्याकिङ गलत थिएन। 

मृतकको शव प्याकिङ गर्ने स्वास्थ्यकर्मीले प्याकिङको क्रममा बेडबाट पहिलो ब्याग, पहिलो ब्यागबाट दोस्रो ब्यागमा राख्ने क्रममा तथा अस्पतालको श्वासप्रश्वास विशेष कोठाबाट शवगृहमा लाने प्रत्येक चरणमा स्यानिटाइज गरेकाले ती भक्तपुरका स्वयंसेवीहरूको दाबी गलत भएको बताए । उनले भने, ‘कोरोना संक्रमित मृतकको लासलाई प्याकिङ गर्दा गर्नुपर्ने, शवगृहबाट गाडीमा हाल्ने, गाडीबाट पशुपतिमा लास निकाल्ने कुनै काम ती स्वयंसेवीले गरेका थिएनन् । पशुपतिस्थित शवदाहगृह स्थलसम्म जाने अस्पतालकर्मीका अनुसार उनीहरूले त लास छुँदासम्म छोएका थिएनन् । त्यो काम त मैले र मृतकका पतिले गरेका थियौँ तर उल्टो साक्षी किनाराका भक्तपुरका युवा स्वयंसेवीहरूकै त्यस्तो टिठलाग्दो टिप्पणी ! यस्तो सुन्दा र पढ्दा साह्रै दुःख लागेको छ ।’ 

काठमाडौँ विश्वविद्यालय शिक्षण अस्पताल हो । यस अस्पतालमा दुई जना विधिविज्ञान (फरेन्सिक)विज्ञ भएको वास्तविकता अनि आवश्यक सम्पूर्ण कागजात राखी अनेकौँ पटकको ताकेतापछि स्वास्थ्य मन्त्रालयबाट लास जाँच (पोस्टमार्टम)को अनुमति लकडाउन हुनु केहीअघि मात्र पाएका कारण अस्पतालको शवगृहमा फ्रिजको व्यवस्था गर्न ढिलाइ भइरहेको थियो । तैपनि यो लेख तयार पारुन्जेल कोभिड–१९ का कारण नेपालगन्ज, बुटवल र वीरगन्जमा भएको मृत्युको घटनापछि शव व्यवस्थापनमा आएका समस्या हेर्दा हामीले पहिलो मृत्युको घटना हुँदाहुँदै पनि राम्ररी नै व्यवस्थापन गर्‍यौँजस्तो लाग्छ । त्यसैले पनि आमपरीक्षकको नजरमा हामी सफल हुन पुगेका हौँजस्तो लाग्छ ।

पहिलोपटक कोरोना संक्रमितका कारण मृत्यु हुँदा पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं अस्पतालका कर्मचारीलगायत अन्य बिरामी तथा कुरुवाहरूमा कोरोना सर्न पाएन । यो घटनालाई फर्केर हेर्दा बिरामी महिलालाई बचाउने अन्तिम प्रयासदेखि उनको शव व्यवस्थापनसम्मका कार्य कसरी व्यवस्थित तरिकाले गर्न सकियो होला भन्ने लाग्छ । धुलिखेल अस्पतालमा कोभिड–१९ संक्रमितको उपचार, उनको मृत्यु, लासको व्यवस्थापन, मृतकसँग सम्पर्कमा आएकाहरूको स्वाब जाँच, उनीहरूलाई क्वारेन्टिनमा राख्ने र संक्रमित मृतकबाट जन्मिएको नवजात शिशुको सुरक्षा गर्नेजस्ता घटनाबाट अन्य कोभिड विशेष अस्पतालहरूले के सिक्न सक्छन् ? यसका लागि यस अस्पतालमा गरिएको पूर्वतयारीलाई थाहा पाउनुपर्ने हुन्छ ।

धुलिखेल अस्पताल व्यवस्थापनले नेपालमा कोरोना संक्रमित दोस्रो केस भेट्टिनेबित्तिकै अथवा लकडाउन सुरु हुनु दुई दिन अगाडि (चैत ९)देखि नै अस्पतालका गेटमा दुई तहको ट्रियाज गर्ने, संक्रमण नियन्त्रणका अन्य उपाय अपनाउन थालिसकेको थियो । हामीले बिरामी परीक्षण गर्ने, शंकास्पदको स्वाब लिई पीसीआर परीक्षण गर्ने, पीसीआरको रिपोर्ट नआए पनि गम्भीरता हेरी आवश्यक सजगता अपनाई बिरामीको उपचार गर्न सुरु गर्‍यौँ । यसका लागि समूहसमूहमा काम बाँडफाँड गरी निर्देशिका, प्रोटोकलहरू बनाउन थाल्यौँ। 

यस क्रममा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन तथा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूका निर्देशिका पुनरवलोकन गरी धुलिखेल अस्पतालका लागि अनुकूल हुने आफ्नै निर्देशिका तयार पार्‍यौँ । निर्देशिका पालना गर्ने क्रममा आएका कठिनाइहरूको सामना गर्न दैनिकजसो छलफलमा जुट्यौँ । आवश्यक परिमार्जन पनि गर्दै गयौँ ।

कन्सल्टेन्टदेखि सफाइकर्मी, सुरक्षाकर्मीसम्मका अस्पतालका करिब एक हजार स्टाफलाई ब्याचब्याचमा पीपीई लगाउने, फुकाल्ने तथा संक्रमण नियन्त्रणसम्बन्धी पुनर्ताजगी तालिम दिन थाल्यौँ । एकाधपटक संक्रमित केस आएदेखि शव व्यवस्थापनसम्मका नाटकीय अभ्यास (मेडिकल भाषामा ड्रिल) गर्‍यौँ । यसबाट सिकेका पाठहरू निर्देशिका, प्रोटोकलमा परिमार्जन गर्दै लग्यौँ । अस्पताल भित्र, बाहिरको सञ्चार प्रणालीलाई प्रभावकारी बनायौँ । अस्पतालले मन्त्रालय, स्थानीय प्रशासनसँगको समन्वय चुस्त र दुरुस्त पार्‍यौँ ।

के कुरा बिर्सन सकिँदैन भने, धुलिखेल अस्पताल नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको वर्गीकरणमा कोभिड क्लिनिक मात्र हो । यसको मतलब आइसोलेसन र क्वारेन्टिन पनि क्लिनिकमा आवश्यक हुँदैन, छैन । तर, धुलिखेल अस्पतालको बाध्यता भनौँ कि जिम्मेवारी, काभ्रे त भइहाल्यो वरिपरिका छिमेकी जिल्लाहरू सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरका बिरामीलाई सेवा दिनुपर्ने अवस्था भएका कारण आठ बेडको स्तरीय आइसोलेसन र स्टाफहरूका लागि ५० बेडको क्वारेन्टिन बनायौँ । शंकास्पदका आफन्तका लागि जिल्लाको कोरोना क्राइसिस व्यवस्थापन केन्द्रले क्वारेन्टिन स्थल व्यवस्था गरिदियो ।

धुलिखेल अस्पताल कोभिड क्लिनिक मात्र भएको नाताले कुनै पनि बिरामी अन्तिम अवस्थामै भए पनि हामीले कोभिड विशेष अस्पतालमा प्रेषण (रेफर) गर्नुपथ्र्यो । तर, सिन्धुपाल्चोक बाह्रबिसेबाट ल्याइएकी सुत्केरी महिलालाई हामीले कोभिड अस्पतालमा रिफर गर्न सकेनौँ किनभने त्यसो गरेको भए बाटैमा बिरामीको मृत्यु हुने कुरा निश्चित थियो । त्यसबखत हामीले तत्कालै कोभिड क्लिनिकको कतिसम्म जिम्मेवारी हो भन्ने सीमिततामा आफूलाई रकमी हिसाबले नहेरी मानवीयतालाई पहिलो प्राथमिकतामा राख्यौँ । जोखिम मोलेर तर सजगता अपनाएर अन्तिम समयसम्म बिरामी बचाउन भरमग्दुर प्रयास गर्‍यौँ । प्रत्येक स्टेपमा निर्देशिका अनुसरण गर्दै गर्‍यौँ । जसको कारण थप क्षति हुन पाएन । अस्पताललगायत यत्रतत्र संक्रमण पैmलिन पाएन ।

एउटा गम्भीर सवाल गर्न सकिन्छ, त्यसो भए के धुलिखेल अस्पताल व्यवस्थापन र यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कोरोना संक्रमणबारे सबै कुरा थाहा थियो त ? अस्पतालका लागि आवश्यक पीपीईलगायतका स्वास्थ्य सामग्री टन्नै थियो वा नेपाल सरकारले छेलोखोलो पठाइदिएको थियो ? यसको उत्तर हो– होइन, छैन, थिएन ।

के कुरा सत्य हो भने, हामीले दैनिकजसो स्वास्थ्य मन्त्रालयमा सामानहरूका लागि ताकेका गरेका थियौँ र अभैm गरिरहेका छौँ । तर, समयमा पाइएन, छैन भनेर हामी हाम्रो दायित्वबाट विमुख भएनौँ । हामी अस्पतालकर्मी सबैले आफ्नो गाँस काट्यौँ, कोष खडा गर्‍यौँ । आन्तरिक स्रोतबाट धेरै कुराको जोहो गर्दै गयौँ किनभने हामीलाई थाहा थियो, यो राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय संकटको समय हो । पीपीई, थर्मल गन, स्यानिटाजर, ओटीगाउन, पञ्जा नपाउने हो कि भन्ने डरले, अस्पतालमा खाँचो भइहाल्ला कि भन्ने डरले तेब्बर मूल्यसम्म तिरीकन पनि कतिपय सामान खरिद गर्‍यौँ ।

हामी स्वास्थ्यकर्मीहरूले आफ्नो पेसामा लाग्दा खाएको शपथलाई संकटका बेलामा गुरुमन्त्र बनायौँ । त्यसैले हाम्रो संस्था कोभिड क्लिनिक मात्र त हो नि भनेर धेरै जिम्मेवारीबाट पन्छिएनौँ । पन्छिन मिल्थ्यो यही बहानामा तर हामीलाई थाहा छ, यो क्षेत्रमा हामी कसैको करबलले होइन, आफ्नै इच्छाले लागेका हौँ । सम्भावित खतरा मोल्न हामी भित्रैदेखि वचनबद्ध हुन्छौँ किनभने स्वास्थ्य क्षेत्रको विशेषता नै यही हो। 

त्यसैले हामीले कोरोना महामारीअगावै अस्पतालमा भएको पीसीआर मेसिन थन्क्याएनौँ । अस्पतालको भाइरोलोजिस्टलाई बिदामा पठाएनौँ । हामीलाई हाम्रो मेडिकल इथिक्सबारे पूरा ज्ञान छ । धुलिखेल अस्पताल शिक्षण अस्पताल भएकाले हामी विद्यार्थीलाई दैनिक रूपमा इथिक्सबारे पढाइरहेका हुन्छौँ । यसले गर्दा पनि हामीले कुनै पनि बहानामा आफ्नो पेसागत दायरा उल्लंघन गरेनौँ । नेपाल सरकारलाई सक्दो सहयोग गर्ने धुलिखेल अस्पतालको स्थापना कालदेखिकै लक्ष्य हो । त्यसैले अहिलेको विपद्को घडीमा समस्यालाई चुनौती मान्यौँ, सामना गर्ने कार्यमा कम्मर कसेर जुटिरहेका छौँ ।
नेपालमा कोरोना संक्रमण भित्रिएलगत्तै धुलिखेल अस्पतालमा मात्र नभई विभिन्न जिल्लामा रहेका यस अस्पतालका २४ वटा स्वास्थ्य केन्द्रमा पनि धुलिखेल अस्पतालमा जस्तै कोभिड–१९ को सामना गर्ने रणनीति बनाई कार्यान्वयनमा ल्याइरहेका छौँ । तुलनात्मक रूपमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सोलुखुम्बु र सर्लाहीमा रहेका हाम्रा स्वास्थ्य केन्द्रमा निकै चाप बढेको छ ।  
(प्राध्यापक ताम्राकार धुलिखेल अस्पतालमा कोभिड–१९ टास्क फोर्सका सूचना अधिकारी हुन् ।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.