प्रयोगशालाले स्वाब लिन नमानेपछि संकलन कार्य स्थगित
राजविराज : सप्तरीमा शनिबारदेखि स्वाब संकलन कार्य स्थगित भएको छ। पीसीआर परीक्षणका लागि प्रयोगशालाहरूले स्वाब लिन नमानेपछि स्वाब संकलन कार्य स्थगित गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। बिहीबार र शुक्रबार विभिन्न क्वारेन्टाइनबाट संकलित २ सय ३९ जनाको स्वाबको परीक्षण हुन नसकी जिल्लामै थन्किएपछि संकलन कार्य स्थगित भएको हो। बिहीबार राजविराज क्वारेन्टाइनका ५२, हनुमाननगर कंकालिनीका ३३, तिलाठी कोइलाडीका २१, छिन्नमस्ताका १५, शम्भुनाथका १३, खडकका १२, बिष्णपुरका ७ जनाको स्वाब संकलन भएपनि परीक्षण हुन सकेको छैन्।
यसैगरी शुक्रबार वोदे बर्साइन र सुरुङ्गा नगरपालिकास्थित क्वारेन्टाइनबाट संकलिन ५५ र अग्नीसाइर कृष्णसवरण गाउँपालिकाबाट संकलित ३१ जनाको स्वाबको परीक्षण पनि हुन पाएको छैन्। सबै स्वाबहरु राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। आइसबक्समा राखिएको भिटिएम किटको आइस परिवर्तन गरी सुरक्षित राखिएको अस्पतालले जनाएको छ। सप्तरीको स्वाबहरु यसअघि धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुने गरेको थियो। धरानलगायत कोशी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल जनकपुर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंसमेतको प्रयोगशालामा अत्यधिक चाप भई स्वाब लिन नमान्दा सप्तरीमा संकलिन स्वाबहरु जिल्लामै राख्नु परेको हो। ‘जतिसुकै आग्रह गरेपनि धरान, बिराटनगर, जनकपुर र काठमाडौंले स्वाब लिन मानेन’ स्वाब संकलनमा खटिएका ल्याब टेक्निसियन विश्वनाथ मण्डलले भने-‘धरान पठाइएको स्वाबहरु फर्काइ दियो, अन्य प्रयोगशालामा आग्रह गर्दा असमर्थता जाहेर गर्यो।’
सप्तरीमा हालसम्म १ हजार २ सय ७९ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ५५ जनाको नतिजा आउन बाँकी छ। क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेकोले स्वाब संकलन कार्य पनि बढेको छ। प्रदेश सरकारले जेठ ९ गते नै पठाएको पीसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन्। मेसिन जडान अन्तिम चरणमा पुगेको जानकारी दिदै गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले आइतबारदेखि राजविराजमै स्वाबको परीक्षण गर्ने तयारी गरिएको बताए। अन्य प्रयोगशालाहरुमा अत्यधिक चाप बढेको र राजविराजको पीसीआर मेशिन सुचारु नभएकाले हाललाई स्वाब संकलन कार्य स्थगित गरिएको हो।