ओढारबाट सरिता चेपाङ परिवारको उद्दार
गोरखा : लकडाउनका कारण एक सातादेखि ओढारमा बस्दै आएका सरिता चेपाङ परिवारको उद्दार गरिएको छ। गोरखा आरुपोखरी निवासी पर्यटन व्यवसायी प्रेम खत्री तथा गोरखाकी समाजसेवी कल्पना श्रेष्ठले चेपाङ परिवारलाई उद्दार गरी घर पु्र्याएका हुन्।
उनीहरुलाई एम्बुलेन्स चढाएर आरुघाट ८ आरुपोखरीस्थित उनीहरुकै घर पठाइएको उद्दारमा सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए।
सहयोगीले एम्बुलेन्सको व्यवस्था गरी खाद्यान्न, त्रिपाल, लत्ताकपडा र घरखर्चका लागि केही नगदसमेत दिएका उनले बताए। गोरखा बजारका व्यापारी विनोद बस्नेतले ओढ्ने, ओछ्याउनेको व्यवस्था गरेका थिए।
लकडाउनका कारण दमौलीबाट घर फर्कदै गरेका उनको परिवार खैरेनीस्थित चेकपोष्टबाट प्रवेश गर्न नपाएपछि ऐनापहराको ओढारमा बस्दै आएको थियो। यस विषयमा अन्नपूर्ण पोस्ट् डटकममा समाचार आएपछि सहयोगीले उनको परिवारलाई उद्दार गरी पठाएका हुन्।