४२ जना संक्रमित, तर क्वारेन्टाइनमा २४ शैय्या मात्रै
राजविराज : सप्तरीमा शनिबार ९ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भयो । यससँगै सप्तरीमा संक्रमितको सङ्ख्या ४२ पुगेको छ । तर कोरोनाका बिरामीलाई राख्ने आइसोलेसन वार्डमा २४ शैय्या मात्रै छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन वार्डको २४ शैय्या भरिएपछि बाँकी १८ जनालाई उनीहरु बसेकै क्वारेन्टाइनमा राखिएको छ । शनिबार थपिएका ९ जनालाई डाकनेश्वरीमा, बिहीबार थप भएका ८ जनालाई बोदे बर्साइन र एक जनालाई खडक नगरपालिकास्थित क्वारेन्टाइनमै राखिएको छ ।
संक्रमितले पाउनुपर्ने उपचार सेवाबाट वञ्चित भएपछि उनीहरू मानसिक रूपमा त्रसित छन् । स्वाब लगेको साता दिनसम्म रिपोर्ट नआउँदा चिन्तित भएका क्वारेन्टाइनका मानिसहरु संक्रमितलाई समेत क्वारेन्टाइनमा राखेका कारण त्रसित बनेका हुन् । उनीहरुले अन्यन्त्र लैजानुपर्ने माग राखेका छन् ।
राजदेबी माविको क्वारेन्टाइनमा रहेका पशुपति देव पटनाबाट सवारीसाधन रिजर्भ गरेर सुरक्षित आए पनि क्वारेन्टाइनमै संक्रमण सर्ने डर भएको बताउँछन् । जिल्लामा भारतबाट आउनेको संख्या बढ्दो छ । भारतबाट आएकाहरूलाई राख्न विद्यालयहरूलाई क्वारेन्टाइन बनाइएको छ । भारतबाट आएकाहरूमा संक्रमण हुने दर तीव्र भएसँगै संक्रमण तीव्र गतिमा फैलिएको छ ।
क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढेसँगै स्वाब संकलन समेत तीव्रताका साथ भइरहेकोले संक्रमितको सङ्ख्या बढने स्वास्थय कार्यालय सप्तरीले अनुमान गरेको छ । सप्तरीमा अहिलेसम्म १ हजार २ सय ७९ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ५५ जनाको नतिजा आउन बाँकी छ ।
प्रदेश सरकारले सप्तरीको राजविराज र भारदह अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको १२ दिन बिते पनि तयारी सम्पन्न नहुँदा संक्रमितहरुलाई क्वारेन्टाइनमै राख्नु परेको हो । संक्रमितको सङ्ख्या बढेपछि व्यवस्थापनका लागि नेपाली सेनाले साइकृष्ण मेडिकल कलेज, राजविराजमा ९२ वेडको आइसोलेशनको तयारी अन्तिम चरणमा पुगेको गणपति गुप्तबहादुर कुँवरले बताए ।
यसअघि उपलब्ध गराउने भनेको रुपनीस्थित युनिक अस्पताल र राजविराजस्थित छिन्नमस्ता अस्पतालले सम्पूर्ण चिकित्सक, कर्मचारीलगायतको सतप्रतिशत खर्च तिर्नुपर्ने शर्त राखेपछि जिल्ला संकट व्यवस्थापन समिति र प्रदेश सरकारले निजी अस्पतालमा आइसोलेशन वार्ड राख्न असमर्थता जाहेर गरेको छ ।
आइसोलेसन वार्डको तयारी गरिरहेको नेपाली सेनाले समस्या जटिल बनेपछि १÷२ दिनभित्र आइसोलेशन वार्ड तयार गर्ने प्रतिबद्धता जनाएको छ । पिसिआर परीक्षण हुँदैआएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत प्रयोगशालाले स्वाब लिन नमान्दा सप्तरीबाट संकलित दुई सय ३९ जनाको स्वाबको नमुना पनि जिल्लामै थन्किएको छ ।
प्रदेश सरकारले ८ दिनअघि उपलब्ध गराएको पिसिआर मेसिनबाट आइतबार डेमो परीक्षण गरी सोमबारदेखि स्वाब परीक्षणको तयारी थालिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । मेसिन जडान भएपछि परीक्षणमा तिब्रता आउने र संक्रमितको सङ्ख्या पनि बढ्ने डा. दासले बताए ।
सप्तरीमा संक्रमित यसरी बढ्यो
पहिलो पटक वैशाख २९ गते चितवनबाट आएका डाकनेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा संक्रमण पुष्टि भयो । त्यसको ११ दिनपछि भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकमा जेठ ९ गते कोरोना संक्रमित पुष्टि भयो । जेठ १२ गते डाकनेश्वरी नगरपालिका–४ का २२ वर्षीय र वडा नम्बर ८ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक ग¥यो । दुबै जना भारतको मुम्बईबाट जेठ ५ गते आएका थिए ।
लगत्तै जेठ १३ गते भारतको विभिन्न राज्यबाट आएर बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा बसेका १८, १९, १९, २०, २०, २१, २८ र ५६ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १७ वर्षीया किशोरी र २९ वर्षीय पुरुष तथा सुरुङ्गा नगरपालिकास्थित मसीलाल जनता माविको क्वारेन्टाइनमा खटिएका २९ वर्षीय असईमा कोरोना संक्रमण देखियो ।
बिहीबार एक साथ १४ जना संक्रमित बढ्यो । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा बसेका १८, २१, २६, २९, ३०, ३०, ३३, ३६, ३६, ३६, ४२ र ४७ वर्षका १२ जना तथा खडक नगरपालिका–३ का १९ वर्षीय र विष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भयो । जसमा बोदे बर्साइन क्वारेन्टाइनमा खटिएका एक प्रहरी र एक कार्यालय सहयोगीसमेत छन् ।
शुक्रबार पुष्टि भएका चार जना राजविराज १० का २० देखि २६ वर्ष उमेरका छन् । शनिबार डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीया एक महिला र १८, २०, २१, २४, २८, ३२, ४५, ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । डाकनेश्वरी नगरपालिका १ का एक, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का चार र वडा नम्बर ८ का दुई जना गरी ९ जना संक्रमित थपिएका छन् । बोदे बर्साइन नगरपालिकामा २० र डाकनेश्वरी नगरपालिकामा १२ संक्रमितको सङ्ख्या पुग्दा सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ४२ पुगेको छ ।