दलित भएकै कारण सम्बन्ध-विच्छेद

दलित भएकै कारण सम्बन्ध-विच्छेद

फिदिम : प्रेमिका भगाउन पश्चिम रुकुमको चौरजहारी-८ सोती पुगेका जाजारकोट भेरीका नवराज विकसहित उनका साथीहरूको हत्या भयो। उक्त घटनाले सदन र सडक तताउन थालेको छ। दलितको छोराले ठकुरीको छोरी विवाह गर्न खोजेको भन्दै जाजरकोटबाट सोती पुगेका नवराजसहित उनका साथीहरूलाई स्थानीयले लखेटेर हत्या गरे। कतिपयले भागेर ज्यान जोगाए।

पश्चिम रुकुमको यो घटनाजस्तै पूर्वको पाँचथरमा पनि दलित समुदायका युवा युवतीको प्रेम सम्बन्धलाई निमोठिएको कैयौं उदाहरण छन्। प्रेमपछि दाम्पत्य जीवनमा जोडिएका दम्पत्तिको सम्बन्धलाई जबरजस्ती विच्छेद गरिएको छ भने कतिपय घटना भू्रणहत्यासम्म पुगेर टुंगिएका छन्। यस्ता घटनाले पूर्वमा पनि अन्तरजातीय प्रेम विवाहलाई सहज रूपमा नस्वीकारेको स्पष्ट हुन्छ।

‘दलितको प्रेम पनि दमनमा पर्छ,’ पाँचथरका दलित अगुवा विमल धमलाले भने, ‘पूर्वमा पनि अन्तरजातीय प्रेम विवाह गरेका जोडीलाई बिचल्लीमा परिएको दर्जनौ घटनाहरू छन्।’ यस्तो परिस्थितिको अन्त्य गर्न भाषण र औपचारिक शिक्षाले मात्र नहुने अगुवाहरूको तर्क छ।

कुम्मायक गाँउपालिका-५ स्यावरुम्बाका रमेश खड्कासँग प्रेम विवाहपछि गर्भवती बनेकी यासोककी दलित युवतीमाथि गरिएको व्यवहार निकै दर्दनाक छ। युवतीको पेटमा हुर्किएको २१ हप्ताको भू्रणहत्या गर्न रमेशको परिवार र गाउँपालिका अध्यक्ष जयकुमार चेम्जोङले बाध्य पारेका थिए।

रमेश र ती युवतीले २०७६ साउन २८ गते फिदिमको शिवालय मन्दिरमा प्रेम विवाह गरेका थिए। उनीहरूबीचको सम्बन्ध छुटाउन रमेशको परिवार र अध्यक्ष चेम्जोङले दवाव दिएर युवतीको पेटमा हुर्किएको भू्रणहत्या गरे। जबरजस्ती भू्रणहत्या गराएपछि ती युवातीले अध्यक्ष चेम्जोङसहित भू्रणहत्यामा संलग्न चिकित्सकहरू र रमेशको परिवारविरुद्ध मुद्दा हालिन्। रमेशबाहेक उक्त घटनामा संलग्न सबैजना धरौटीमा रिहा भइसकेका छन्।

‘म दलित भएकै कारण रमेशबाट मलाई छुटाउन खोजियो। रमेशको परिवारले मलाई स्वीकार्न सकेन,’ ती युवती भन्छिन्, ‘रमेशले मलाई माया गर्नुहुन्छ तर अहिले हाम्रो भेट छैन।’ भू्रणहत्यापछि रमेश सम्पर्कमा छैनन्। ती युवती अहिले आफन्तको शरणमा छिन्। बेलाबखत रमेशले आफूलाई फोन गर्ने र पत्नीको रूपमा स्वीकार्ने वचन दिएको उनी बताउँछिन्।

फिदिम नगरपालिका-१० पच्चिसेका राजेन्द्र रम्तेलको भोगाई पनि उस्तै छ। रम्तेलले २०७५ वैशाख १ गते हिलिहाङ गाँउपालिका-५ सुभाङकी एक लिम्बू युवतीसँग अन्तरजातीय प्रेम विवाह गरे। विवाह गरेको दुई दिनपछि आफूबाट पत्नी खोसिएको रम्तेलको भनाइ छ।

‘राति हामी सुतिरहेका थियौ,’ रम्तेलले भने ‘उनका बाबुलगायत माइतीले हाम्रो घर घेरा हाले र ढोका फोरेर उनलाई कुट्दै लगे।’ ओछ्यानबाटै खोसिएकी पत्नीसँग अहिले सम्पर्क नभएको उनले बताए। ‘हामी दलित भएकै कारण हाम्रा श्रीमती खोसिन्छन्,’ गुनासो गर्दै उनले भने, ‘हाम्रो प्रेम पनि समाजले रुचाउन गाह्रो मान्छ।’

हिलिहाङ ५-सुभाङका वीरबहादुर उभरकोटीले २०६८ सालमा संग्रौलाकी छोरीसँग प्रेम विवाह गरे। तीन वर्षको प्रेम सम्बन्धपछि आफूले विवाह गरेको वीरबहादुरले सुनाए। विवाहपछि संग्रौलाहरूले आफूलाई कुट्ने डरले उनी र पत्नी भागेर झापा गए। विवाह गरेको १५ दिनपछि संग्रौलाहरूले हुलहुज्जत गरेर पत्नी खोसेर लगेको उनको भनाइ छ। ‘हामी बसेको पत्तो लागएपछि संग्रौलाहरूले श्रीमती खोसिदिए,’ वीरबहादुरले भने, ‘उनको अहिले अत्तोपत्तो छैन।’

जिल्लामा दर्जनौ दलित युवा-युवतीले अन्तरजातीय विवाह गरेका छन्। विवाहपछि पनि अधिकांशको सम्बन्ध टुटाइएको दलित अधिकारकर्मी सहमान शंकरको तर्क छ। ‘माथिल्लो जातकोसँग विवाह गरेकै कारण अधिकांश युवा-युवती विस्थापित हुनुपरेको छ,’ सहमान भन्छन्, ‘विस्थापित नभएकाको पनि सम्बन्ध छुटाइएको छ।’ सम्बन्ध नछुटाइएकाको पनि सम्बन्धलाई स्वीकार्न कठिन मानिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.