क्वारेन्टाइनबाट फर्किएका वृद्धको मृत्यु, गाउँमा त्रास
सिन्धुपाल्चोक : १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका एक वृद्धको अचानक मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । सदरमुकामस्थित मेलचौरमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेर घर फर्किएका चौतारा साँगाचोकगढी नगरपालिका–१३ का ७० वर्षीय वृद्धको शनिबार राति अचानक मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो ।
ललितपुरको हरिसिद्धिबाट बैशाख ११ गते गाउँ फर्किका उनी १४ दिन क्वारेन्टाइनमा बसी बैशाख अन्तिम साता घर फर्किएका थिए । आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टाइन अवधी सकेर उनलाई घर पठाइएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
सामान्य अवस्थामा रहेका उनको शनिबार राति साँढे नौ बजेतिर मुटु उपचारका लागि स्वास्थ्य केन्द्र लाँदै गर्दा बाटोमा मृत्यु भएको वडाअध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । वृद्धको मृत्यु भएको खबर पाएलगत्तै घटनास्थल पुगेका गौतमले परिवारका सदस्यलाई उद्धृत गर्दै बताए अनुसार उनले राति मुटु दुख्न थाल्यो भनेका थिए। उनलाई श्वास–प्रस्वासमा समेत समस्या आएपछि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
‘क्वारेन्टाइन बसेर आएकाले गाउँमा केही त्रास फैलिए पनि उनको मृत्युअघि कोरोना भाइरसको कुनै संकेत नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन’, वडाअध्यक्ष गौतमले भने‘सामान्य अवस्थामा मटु दुखेर मृत्यु भएकाले हृदयघात भएको हुनसक्ने हाम्रो अनुमान छ ।’ स्वास्थ्यकर्मीसँग मृत्युअघि देखिएको उनको लक्षण बताउँदा पनि हृदयघातले उनको मृत्यु भएको हुनसक्ने जानकारी दिएको गौतमले बताए ।
क्वारेन्टाइन बसेर आएपछि उनको मृत्यु भएकाले सर्वसाधारणमा भएको त्रास मेटाउन मृतकको स्वाब परीक्षणका लागि नमुना संकलन गरी राजधानीस्थित प्रयोगशाला पठाइएको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ । स्वाब संकलनपछि मृतकको स्थानीय संस्कार अनुसार सुरक्षाको विधि अपनाएर दाहसंस्कार गर्ने तयारी गरिएको वडाअध्यक्ष गौतमले बताए ।