भक्तपुरका एकसय ५८ प्रहरीको कोराना परीक्षण ‘नेगेटिभ’
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि अग्रभागमा खटिएका एकसय ६३ जना प्रहरीको कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ । जसमध्येका एकसय ५८ जनाको रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गरिएका पाँचजनाको रिपोर्ट आउन बाँकी भएको बताए ।
‘कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न अग्रभागमा खटिएका एकसय ६३ जना प्रहरी कर्मचारीको परीक्षण गरेका थियौं’, उनले भने, ‘जसमध्ये रिपोर्ट प्राप्त एकसय ५८ जनाको परीक्षणमा नेगेटिभ आएको छ । पाँचजनाको भने रिपोर्ट आउन बाँकी छ ।’
कोरोना परीक्षण गर्न लिइएको स्वायबको नमुना यताउता हुँदा पाँचजनाको रिपोर्टमा ढिलाइ भएको उनको भनाइ थियो । उनीहरुको दोहोर्याएर स्वायब संकलन गरिएको थियो । महानगरीय प्रहरी परिसरले एकसय ६३ जनामा ४७ जनाको मात्रै पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गरेको थियो । बाँकी एकसय १६ जनाको द्रूत विधि परीक्षण (आरडीटी) गरेको थियो । आरडीटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
‘कूल परीक्षणमा नमुनाको रुपमा ३३ प्रतिशतको मात्रै पीसीआर गर्ने सरकारको निर्णयानुसार भक्तपुरका प्रहरीको पनि ४७ जनाको मात्रै पीसीआर गरेका हौं’, उनले थपे ।
भक्तपुर अस्पतालमा आरडीटी परीक्षण बन्द
यसैबीच भक्तपुरमा कोरोना भाइरसको उपचारको लागि हब अस्पताल घोषणा गरिएको भक्तपुर अस्पतालमा आरडीटी परीक्षण बन्द गरिएको छ । अस्पताललाई कोरोना भाइरसको उपचार गर्ने केन्द्रको रुपमा अघि बढाउन आरडीटी परीक्षण बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले यसअघि सात सय ८३ जनाको आरडीटी कोरोना भाइरस परीक्षण गरेको थियो । जुन सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् । उनका अनुसार पाँच सय ७४ जनाको पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो । जसमध्ये रिपोर्ट आएका सबैको नेगेटिभ देखिएको उनको भनाइ थियो ।
भक्तपुरमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका चारै जना कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किसकेका छन् । भक्तपुरमा आरोग्य प्रतिष्ठानमा काम गर्ने २५ वर्षीया महिला कर्मचारी, सशस्त्र प्रहरीका २७ वर्षीय जवान, काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नपा वडा नं. ९ की महिला जनप्रतिनिधिलाई कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।