कर्णालीमा स्कुल र यार्सा संकलन खुलाइने

कर्णालीमा स्कुल र यार्सा संकलन खुलाइने

सुर्खेत : कर्णालीमा स्कुलहरु सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ ।

कर्णालीका हिमाली जिल्लामा कोरोनाको संक्रमण नदेखिएको र सुरक्षित देखिएकाले ती जिल्लामा स्कुल सञ्चालनको निर्णय गर्न प्रदेश सरकारले सिफारिस गरेको छ । यस्तै यार्सा संकलनका लागि पनि खुला गर्न सिफारिस गरिएको हो ।

कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरु कोरोनाबाट सुरक्षित रहेको निस्कर्ष निकालेको छ । साथै ती जिल्लामा संक्रमणको जोखिम कम भएकाले तत्काल विद्यालय सञ्चालन र यार्सागुम्बा संकलन कार्यलाई खुला गर्न संघीय सरकारलाई सिफारिससमेत गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतबार सम्पन्न प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो । विपद् व्यवस्थापन केन्द्रले साविक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा विद्यालयहरु सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।

यी पाँच जिल्लामा संक्रमण नदेखिएको र संक्रमणबाट सुरक्षित रहेकाले विद्यालय सञ्चालनको निर्णय गर्न संघीय सरकारलाई सिफारिस गरिएको हो । यद्यपि कालिकोटमा संक्रमण देखिएको छ ।

तर प्रदेश सरकारले भने यी पाँच जिल्लामा भने सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिने भन्दै खुला गर्ने निर्णय गर्न संघीय सरकारलाई आग्रह गरेको हो । यस्तै परीक्षणबाट हुम्ला, जुम्ला, मुगु र डोल्पामा कोरोना संक्रमण नदेखिएकाले ती जिल्लामा यार्सागुम्बा संकलनका लागि खुला गर्न सिफारिस गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

हालसम्म संक्रमण नदेखिएको र अब भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकलाई सुर्खेतमै रोकिने भएकाले ती जिल्लामा संक्रमणको जोखिम नहुने प्रदेश सरकारको दाबी छ ।
यसकारण पनि ती जिल्लामा हालसम्म रोकिएको यार्सा संकलन कार्यलाई यही जेठ २५ गतेबाट खुलाउन सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । यार्सा खुलाउने र भारतबाट आएका ती जिल्लाका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनमा राखेर जिल्ला प्रवेश नदिने निर्णय गरिएको छ ।

प्रदेश विपद् केन्द्रको बैठकले भारत लगायत विदेशबाट प्रदेशमा प्रवेश गर्ने नागरिकका लागि प्रदेशको नाकामा नै होल्डिङ एरिया स्थापना गर्ने निर्णय गरेको छ । अब प्रदेश भित्रिनेहरुको अभिलेख व्यवस्थापन गरी तोकिएको जिल्ला वा स्थानीय तहका क्वारेन्टाइनमा पु¥याउने व्यवस्था सुरक्षा निकायको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ । यस्तै क्वारेन्टाइनमा १४ दिन बसेका नागरिकको परीक्षण गरेपछि संक्रमित व्यक्तिलाई तीन तहको व्यवस्थापन गर्ने पनि निर्णयमा उल्लेख छ ।

जसअन्तर्गत कोरोनाको लक्षण नदेखिएको विरामीलाई स्थानीय तहको तोकिएको आइसोलेसनमा राख्ने, लक्षण देखिएका र सम्भावित जोखिम भएका संक्रमितलाई जिल्लाको आइसोलेसनमा राख्ने र जटिल अवस्थाका संक्रमितलाई तोकिएको विशिष्टकृत अस्पतालमा व्यवस्थापन पनि गर्ने बैठकले निर्णय गरेको छ ।

यसवाहेक अब क्वारेन्टाइनमा बसेका तर संक्रमण नदेखिएका व्यक्तिहरुलाई भने थप २१ दिन होम क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइनेछ । संक्रमित विरामीलाई आइसोलेसन र थप उपचारका लागि अस्पताल पु¥याउन तथा मृतक संक्रमितको शव व्यवस्थापन गर्न एम्बुलेन्स र शव बहानको व्यवस्थापन गर्ने जिम्मेवारी बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई दिने निर्णय गरेको छ । 

त्यसैगरी हुम्ला र डोल्पाका माथिल्लो भेगमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले तिब्बतबाट गर्दै आएको ढुवानीमा समस्या भएकाले बैकल्पिक व्यवस्था गराइदिन नेपाल सरकारलाई लेखिपठाउने निर्णयसमेत गरिएको छ ।

विपद् केन्द्रको निर्णयअनुसार अर्को आदेश नहुँदासम्म रुख कटान र ओसारपसारको कार्य प्रदेशमा थप कडाइ गर्ने र खुला गरेका खाद्य तथा निर्माणजन्य सामग्री लगायत अन्य उत्पादन प्रदेशभित्र र बाहिर ओसारपसार तथा ढुवानी हुने दिने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.