झापामा थप चार जनालाई कोरोना संक्रमण
झापा : झापाको गौरीगञ्ज गाउँपालिकामा आइतबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ११ पुगेको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा गौरीगञ्जका क्वारेन्टाइनमा बसेका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कार्यक्रम संयोजक जीवन चम्लागाईँले जानकारी दिए ।
उनका अनुसार गौरीगञ्ज गाउँपालिका ६ नम्बर वडा बस्ने २३, ३७ र ३९ वर्षीय पुरुष र वडा नम्बर ५ बस्ने १८ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । उनीहरु पनि भारतको मुम्बई र गुजरातबाट जेठ १५ गते स्वदेश फर्किएका हुन् । जिल्लामा हाल ७ वटा स्थानीय तहहरुमा कोरोना संक्रमण देखिएको छ । दमकमा देखिएका एक जना संक्रमित बाहेक सबै भारतबाट आएकामा संक्रमण देखिएको हो ।
स्वदेश फर्किएका उनीहरूलाई सोझै गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा लगेर राखिएको थियो । उनीहरूलाई थप उपचारका लागि धरान लाने तयारी रहेको चम्लागाईँले बताए । हालसम्म जिल्लामा संक्रमितमध्ये कचनकवल गाउँपालिकामा ७३ जना संक्रमित भेटिएका छन् । बाह्रदशी र गौरादहमा दुई दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना संक्रमित देखिएका थिए । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् ।