जाजरकोटका चार क्वारेन्टाइनमा सेनाको सुरक्षा
जाजरकोट : कोरोना महामारीबाट बच्न क्वारेन्टाइनमा राखिएकाहरु भाग्न थालेपछि जाजरकोटमा सेनाले सुरक्षा दिन थालेको छ। जिल्लाका चार स्थानमा सेनाले क्वारेन्टाइनको सुरक्षा दिने भएको छ। हालै जिल्लामा भारतबाट ठूलो संख्यामा मानिसहरु भित्रिएका छन्।
जिल्ला सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पस, छेडागाडका दशेरा तथा वडावन र नलगाडको दल्लीमा रहेका क्वारेन्टाइनमा सेनाले सुरक्षा दिने भएको हो। सदरमुकाम र दल्लीमा सेनाले सुरक्षा दिईरहेको छ भने अन्य दुई स्थानमा सुरक्षाका लागी आइतवार नै टोली प्रस्थान गरेको छ। क्वारेन्टाइनमा बसेकाहरु भाग्ने र बजारमा डुल्न थालेपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिले सेनालाई सुरक्षाको जिम्मा दिने निर्णय गरेको हो। ज्वालादल गण मालिका व्यारेकको टोलीले ति स्थानमा अस्थायी क्याम्प खडा गरेर सुरक्षा दिने प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलले बताए।
त्यस्तै शिवालयमा सशस्त्र प्रहरीले सुरक्षा दिने छ। जिल्लाभर २३ स्थानमा क्वारेन्टाइन रहेका छन्। अन्य स्थानमा प्रहरीले सुरक्षा दिनेछ। हालै जिल्लामा भारतबाट एक सय २२ महिला र एक हजार तीन सय १२ गरी एक हजार चार सय ३४ जना विभिन्न क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई विद्यालयका क्वारेन्टाइनमा राखिएको छ। खानको प्रवन्ध स्थानीय तहले गरिरहेका छन्। क्वारेन्टाइनमा रहेकाहरुलाई भिटिएम अभावमा परिक्षण गर्न समस्या परेको छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले बताए। अझै भारतबाट फर्कने क्रम जारी छ। परीक्षणको दायरा बढ्न सकेको छैन। यसरी बढ्दै गए स्थानिय सरकारलाई थेग्नै गाह्रो पर्ने उनले बताए।