सुस्त कोरोना परिक्षण
भैरहवा : रुपन्देही जिल्लाका विभिन्न क्वारेन्टाइनमा सर्वसाधरणहरु भरीभराउ छन्। यहाँका क्वारेन्टाइनहरुमा रहेका अधिकांश भारतबाट आएका हजारौँ नेपालीहरु छन्। रुपन्देहीमा सबै भारतबाट आएका व्यक्तिहरुमा संक्रमण पुष्टि भइरहेको छ। तर यहाँका क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परिक्षण सुस्त गतिमा भइरहेको छ। परिक्षण गर्नुपर्नेको संख्या दिनहुँ बढ्दो क्रममा रहे पनि परिक्षण व्यवस्थापन निकै फितलो देखिएको छ।
‘आरडीटि पोजेटिभ आएका २८ जनाको स्वाब संकलन गरी पीसिआर परिक्षणका लागि पठाएका थियौँ’ सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बब्लु शुक्लले भने, ‘तर, एक हप्ता भइसक्दा समेत रिपोर्ट आएको छैन। जसका कारण हामी सबै चिन्तित छौँ।’ उनले थपे– ‘जसको आरडीटि परिक्षण पोजेटिभ आएको छ उनीहरु पीसिआर रिपोर्ट के आउने भन्ने चिन्तामा छन्। यदि कोही संक्रमित नै भएका छन् भने उनीहरुको औषधी उपचार तर्फ लाग्नुपर्ने अवस्थामा हामी रिपोर्टको पर्खाइमा बस्नुपर्ने बाध्यता छ।’सम्मरीमाई गाउँपालिकाको क्वारेन्टाइनमा ३ सय ५० जना छन्। भारतबाट पालिकावासी आउने क्रम जारी रहेपनि उनीहरुको स्वास्थ्य परिक्षणमा निकै ढिलाई भइरहेको अध्यक्ष शुक्लले गुनासो पोखे।
परिक्षण गर्नुपर्नेको संख्या बढ्दै गएपनि प्रदेश पाँच सरकारले भैरहवामा संचालनमा ल्याएको एउटा प्रदेशस्तरीय प्रयोगशाला अप्रयाप्त देखिएको छ। उक्त प्रयोगशालामा रुपन्देहीका साथै प्रदेशका अन्य जिल्लाबाट पनि स्वाब संकलन गरी परिक्षणका लागि आउने गर्दछ। प्रयोगशालामा चाप पनि बढ्दै गएको छ। तिव्र परिक्षणका लागि प्रयोगशालामा साम्रगी र जनशक्ति थप नगरिदाँ समस्या उत्पन्न भएको छ।
त्यस्तै कोटहीमाई गाउँपालिकाको अवस्था पनि उस्तै छ। यहाँको क्वारेन्टाइनमा ३ सय ३० जना छन्। ४६ जना आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पीसिआर परिक्षणको लागि स्वाब पठाइएपनि रिपोर्ट आउनमा ढिलाई भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले बताए। उनले एक हप्ता अघि स्वाब संकलन गरेर पीसिआर परिक्षणका लागि पठाइएपनि हाल सम्म रिपोर्ट नआएको बताए।‘आरडिटी रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई हामीले क्वारेन्टाइनमा संक्रमित सरह नै राखिरहेका छौँ’ उनले भने, तर, मान्छेहरु आत्तिएका छन्, वास्तवमा नै कोही संक्रमित छन् भने उनीहरुको औषधी उपचारमा ढिलाई भइरहेको छ।’
भैरहवा स्थिती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा रुपन्देही र कपिलवस्तु जिल्लाबाट बढी चाप छ। यस प्रयोगशालाबाट आइतबार साँझ सम्म तीन हजार ७ सय २० जनाको स्वाब संकलन भएको र परिक्षणमा दुई हजार ७ सय ९० जना रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै यी मध्ये १ सय १० जना रिपोर्ट पोजेटिभ आएको छ भने ८ सय १९ जना स्वाब परिक्षण गर्न बाँकी छ।
छिटो समयमा उपलब्ध थोरै साम्रगी र जनशक्तिले प्रयोगशालामा संचालनमा ल्याउँदा एकाएक अहिले प्रयोगशालामा चाप बढ्दै गएकोले केही कठिनाई देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए। प्रयोगशालाको क्षमता बढाउनका लागि आवश्यक जनशक्ति विस्तारै थपिदै गएको र थप केही मेसिन जडानका लागि प्रक्रियामा रहेकोले आगामी दिनमा प्रयोगशालामा परिक्षण र रिपोर्ट तिव्र गतिमा आउने उनको भनाई छ। ‘चाप बढ्दै गएपनि नयाँ प्रयोगशालामा स्थापना गर्नुभन्दा भएको प्रयोगशालालाई थप व्यवस्थित बनाए यही बढी उपयोगी हुन्छ’ उनले अन्नपूर्ण अनलाइनसँग भने।