अछामका ३३ वर्षीया पुरुषमा कोरोना पुष्टी
अछाम : अछामको चौरपाटी गाउँपालिका–२ का ३३ वर्षीया पुरुषमा कोरोना भाइरसको पुष्टी भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको हो।
उनी चैत १२ गते भारतबाट गौरी फन्टा नाका हुँदै चौरपाटी गाउँपालिका पुगेका थिए। वडाको क्वारेन्टाइनमा बसेका उनको सहित १८ जनाको स्वाब परिक्षणको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो। १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३३ वर्षीय ती पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। जिल्लाभित्र कोरोना देखिएको यी पहिलो व्यक्ति हुन्। यसअघि अछामका तर जिल्ला बाहिर रहेका ३ जनामा कोरोना संक्रमण देखिएको छ।
ती मध्ये एकजना निको भएर फर्किका छन् भने २ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जिल्लामा अहिलेसम्म ४ हजार ९१ जना भन्दा बढी क्वारेन्टाइनमा रहेका जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले जानकारी दिए। आरडिटि किट अभावका कारण भने क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षण हुन सकेको छैन्। अधिकांश स्थानीय तहहरुले परिक्षण बिना नै घर पठाउन थालेका छन्।