सुटिङ सुरु गर्न अनुमति
मुम्बई : कोरोना भाइरसका कारण फिल्म एवम् टीभी इन्डस्ट्रीको काम लामो समयदेखि ठप्प छ। लकडाउनपछि बन्द भएको सुटिङ, प्रोडक्सन, हलका कारण उद्योगलाई धेरै नोक्सान पुगेको छ। तर अब विस्तारै इन्डस्ट्रीको काम सुरु हुने संकेत देखिएको छ।
फिल्मी संगठनहरूले सुटिङ सुरु गर्ने इजाजत मागेपछि महाराष्ट्र सरकारले निर्मातालाई काम सुरु गर्न हरियो झन्डा देखाएको छ। महाराष्ट्र सरकारले सामाजिक दूरी कायम गर्दै फिल्म र टीभीको सुटिङ गर्न इजाजत दिएको हो। राज्य सरकारले सुटिङ सुरु गर्न केही नियम र सर्त बनाएको छ। फिल्म, टीभी, वेभ सिरिज सुटिङको समयमा सामाजिक दूरी र स्वास्थ्यसँग सम्बन्धित सबै निर्देशन पालना गर्नु पर्नेछ। यसका साथै सम्बन्धित क्षेत्रका जिल्ला अधिकारीको अनुमति लिएर सुटिङमा जानु पर्नेछ।
फिल्म सिटीमा सुटिङ गर्न जिल्ला कलेक्टरसँग अनुमति लिनु पर्नेछ। काममा आउने सबैको मेडिकल टेस्ट गर्नु आवश्यक छ। सरकारबाट काम सुरु गर्ने इजाजत पाएपछि निर्माताहरूले प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेलाई धन्यवाद दिएका छन्। एजेन्सी