पाटनका कोरोना संक्रमितको सम्पर्कमा रहेका ३१ जनाको स्वाब संकलन
बैतडी : बैतडीको पाटनमा कोरोना संक्रमण पुष्टि भएका पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । सोमबार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका पाटन नगरपालिका ८ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै उनको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको सोमबार राती नै थ्रोट स्वाब संकलन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा बसेका २६ जना, क्वारेन्टाइनमा खाना पकाउने भान्छे, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीसहित ३१ जनाको स्वाब संकलन गरी धनगढी पठाइएको छ।
कोरोना संक्रमित ती पुरुष यही जेठ ८ गते भारतको मुम्बईबाट नेपाल आएका थिए।पहिलो चरणमा संक्रमित पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको थ्रोट स्वाब संकलन गरिएको भएपनि उनको सम्पर्कमा रहेका अन्यको पनि खोजी भइरहेको महराले बताए ।
उनले भने, 'संक्रमितको सम्पर्कमा रहेकाको खोजी भइरहेको छ। मंगलबारदेखि कन्ट्याक्ट ट्रेसिङको काम पनि सुरु गर्छौं ।' योसँगै बैतडीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार कोरोना पुष्टि भएका पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ । जेठ ९ गते कोरोना पुष्टि भएका २२ वर्षीय युवकको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
यस्तै जेठ १० गते कोरोना पुष्टि भएका बैतडीको शिवनाथका ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
संक्रमित सबै भारतबाट फर्केका
बैतडीका संक्रमित सबै भारतबाट फर्केका पाइएको छ । जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएका २२ वर्षीय युवक भारतको दिल्लीबाट चैत ६ गते स्वदेश आएका हुन् ।
स्वदेश फर्केलगत्तै शिवनाथ गाउँपालिकाकी किशोरी गीता महर मृत्यु प्रकरणमा उनी वैशाख १५ गते पक्राउ परेका थिए । प्रहरी हिरासतमै रहेका बेला उनको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । अहिले उनको जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
यस्तै जेठ १० गते गौरीफान्टा नाकाबाट स्वदेश फर्किएका शिवनाथ गाउँपालिकाका ४ जना पनि भारतबाटै आएका हुन् । उनीहरु बैतडी नपुग्दै सीमानाकामै आरडीटी पोजिटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । पछि पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएको थियो ।
सोमबार कोरोना पुष्टि भएका बैतडीको पाटन नगरपालिका ८ का ३१ वर्षीय पुरुष पनि भारतको मुम्बईबाट आएका हुन्। अहिलेसम्म क्वारेन्टाइनमा ५ हजार बढी नागरिक भारतबाट फर्केका छन् । उनीहरुको पीसीआर परीक्षण भने भएको छैन।