नेपाली भूमि फिर्ताको माग गर्दै डा. केसी अनसनमा
दार्चुला : मिचिएको नेपाली भूमी फिर्ताको माग राख्दै डाक्टर गोविन्द केसीले दार्चुलामा दुई दिने सत्याग्रह सुरु गरेका छन् । मंगलबार बिहान १० बजे खलंगाको जगन्नाथ मन्दिर गल्फैमा पत्रकार सम्मेलन गर्दै केसीले भूमि फिर्तालगायतका तीन बुँदे माग राख्दै सत्याग्रह सुरु गरेका हुन् ।
सीमा क्षेत्रलगायत सबै नागरिकको समृद्धी, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच लागि आफूले सत्याग्रह सुरु गरेको उहाले बताए ।उनले स्वास्थ्य, शिक्षा र रोजगारीलगायतका माग पनि उठाएका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी, लिपुलेक र लिम्यिाधुरा क्षेत्रमा गएर दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका उनले भौगोलिक कठिनाइका कारण सो क्षेत्र पुग्न नसकेको बताए ।
'वास्तवममै राष्ट्रियता बलियो पार्ने हो र देशको सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटार दरबारबाट हुंकार गरेर पुग्दैन,' डा केसीले भने ।
सीमा क्षेत्रका मानिसको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतले मिचिको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै सत्याग्रह गर्ने घोषणा गरेका थिए । डा. केसी दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर बझाङ, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।