भारतबाट धादिङ आएकाको कोरोना परीक्षण भएन
धादिङ : कोरोना भाइरसको संक्रमण फैलिन थालेसँगै धादिङमा मंगलबारसम्म १९ सय १८ जनाको आरडीटी गरिएको छ । अन्य जिल्लाबाट भित्रिएका शंकास्पद व्यक्तिहरु, सुरक्षाकर्मी, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार गरी १ हजार ९ सय १८ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिए ।
परीक्षण गराएकामध्ये ४१ जनाको आरडीटी पोजिटिभ देखिएको थियो।उनीहरुलाई तत्काल आइसोलेसनमा राखियो र उनीहरु सबैजनाको निको भएर घर आइसकेका छन्।
जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मीमध्ये ७ जनाको आरडीटी पोजिटिभ देखिएपछि एक हप्ताको लागि अस्पतालको ओपीडी सेवा बन्द भएको थियो ।
गएको जेठ १ गते यता मंगलबारसम्म धादिङ जिल्लाभर ७ सय १३ जना भारतबाट भित्रिएका छन् । उनीहरु सबैलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेको छ । तर भारतबाट आउने एकजनाको पनि पीसीआर परीक्षण भएको छैन ।
धादिङ प्रहरीले जिल्ला भित्रिने नाकामा कडाइ गर्दै भारतबाट आएकालाई सुरक्षित तरिकाले गाउँपालिकाको जिम्मा लगाउने काम गरिरहेको छ तर क्वारेन्टाइनमा राखिसकेपछि गर्नुपर्ने परीक्षण हुन नसक्दा क्वारेन्टाइमै संक्रमण फैलिने खतरा बढेको छ ।
त्यस्तै धादिङ जिल्लामा हालसम्म १ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर भने कोरोना संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति र नियमित कामकाजमा खटिएका स्वास्थ्यकर्मी र आरडीटी पोजिटिभ देखिएकाको मात्रै पीसीआर परीक्षण गरिएको हो।
१ सय ५१ वटा पीसीआर रिपोर्ट नेगेटिभ आएको र बाँकी ११ वटाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दीपक अछामीले जानकारी दिए ।
धादिङका ३ जना संक्रमित घर फर्किए
धादिङ जिल्लाका तीनजना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । तीनैजनालाई जिल्लाभित्र संक्रमण भएको थिएन । दुवइबाट नेपाल फर्किएका नेत्रावतीका एक पुरुष (नेपालमा भेटिएका तेस्रो कोरोना संक्रमित) गत महिना नै डिस्चार्ज भएका थिए भने पछिल्लो ३ साताभित्र भेटिएका गल्छी गाउँपालिका ८ कटुवालपौवा गाउँकी ३० वर्षीया महिला तथा थाक्रे गाउँपालिका ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् ।