सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि
धनगढी: सुदूरपश्चिममा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
धनगढी कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ वर्षीय पुरुष र १८ वर्षीय युवतीमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पातलले जनाएको छ ।
धनगढी उप-महानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आइविआरडीमा रहेको क्वारेन्टाइनमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
सुर्खेतमा गरिएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।
अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एकजनामा सोमबार साँझ मात्रै सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।सुदूरपश्चिमका ७३ जना संक्रमितमध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एकजना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ ।
एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन् । प्रदेशमा सबैभन्दा बढी कैलालीका ३३ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक-एक जनामा कोरोना पुष्टि भएको छ।