भक्तपुरका दुई ठाउँमा होल्डिङ सेन्टर

भक्तपुरका दुई ठाउँमा होल्डिङ सेन्टर

भक्तपुर : सरकारले विदेशबाट फर्काउने प्रदेश १ र २ का नागरिकलाई राख्न भक्तपुरका दुई ठाउँमा होल्डिङ सेन्टर निश्चित गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विदेशबाट आउनेमध्ये प्रदेश १ का नागरिकलाई सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित इम्पेरियल ब्यांक्वेट र प्रदेश २ का लागि मध्यपुर थिमि नपा ४ राधेराधेस्थित हेरिटेज ब्यांक्वेटमा होल्ड गरिने जानकारी दिइन् ।


सरकारको निर्णयानुसार तयार गरिएको होल्डिङ सेन्टरमा अहिले आवश्यक तयारी तथा व्यवस्थापन भइरहेको छ । त्यहाँ विदेशबाट फर्कने नागरिकलाई आराम गर्न आवश्यक सम्पूर्ण सुविधा हुने प्रजिअ पाण्डे बताउँछिन् । होल्डिङ सेन्टरमा विदेशबाट आएकाहरुलाई सुरुमा आराम गर्ने व्यवस्था मिलाइएको छ । त्यसपछि उनीहरुको सम्पूर्ण विवरणसहितको लगत संकलन गरिनेछ । 

स्वदेश आउँदै कोरोना भाइरस संक्रमणलगायतको स्वास्थ्य जाँच गरेर स्वदेश फर्किएका उनीहरुको होल्डिङ सेन्टरमा पनि स्वास्थ्य जाँच हुने संकट व्यवस्थापन समिति (सीएमसी) भक्तपुरकी संयोजकसमेत रहेकी प्रजिअ पाण्डेले जानकारी दिइन् ।‘होल्डिङ सेन्टरमा लगत संकलन र स्वास्थ्य जाँचसँगै मनोसामाजिक परामर्शसमेत गरिनेछ’, उनले थपिन्, ‘सबै प्रक्रिया पूरा गरेपछि उनीहरुलाई व्यवस्थित रुपमा सम्बन्धित जिल्लामा पठाइनेछ ।’

सरकारले दैनिक दुई हजारको संख्यामा विदेशमा रहेका नेपालीहरुलाई ल्याउने तयारी अघि बढाएको छ । सोहीअनुसार भक्तपुरले प्रदेश १ र २ का करिब पाँचसय जनालाई होल्ड गर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ । उक्त संख्यामा पनि आवश्यक स्वास्थ्य जाँच तथा लगत संकलनलगत्तै जिल्ला जानेहरुको संख्या पनि निश्चित हुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

उनले सोही दिन सम्बन्धित जिल्ला जान नसक्नेहरुलाई होल्डिङ सेन्टरमै खाने तथा बस्ने व्यवस्था हुने स्पष्ट पारे । तर होल्डिङ सेन्टर ट्रान्जिट प्वाइन्टमात्रै भएकाले सकेसम्म उनीहरु नबस्ने प्रहरी उपरीक्षक प्रधानको भनाइ थियो । यसअघि भक्तपुरको सीएमसीले भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित ९९ रोपनी खुला चौरमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो तर मनसुन सुरु हुन लागेकाले खुला आकाशमुनि होल्ड गर्दा स्वदेश फर्केकालाई व्यवस्थापन गर्न समस्या हुने देखिएपछि निजी ब्यांक्वेटमा होल्डिङ सेन्टरको व्यवस्थापन गरिएको छ ।

भक्तपुर सीएमसीले गरेको होल्डिङ सेन्टर व्यवस्थापनको मंगलबार भौतिक पूर्वाधार निर्माण तथा यातायातमन्त्री वसन्त नेम्बाङले निरीक्षण भ्रमण गरेका छन् । उक्त अवसरमा मन्त्री नेम्बाङले सरकारले छिटोभन्दा छिटो विदेशमा रहेका नेपालीहरुलाई ल्याउने तयारी अघि बढाइसकेको जानकारी दिएका थिए ।
उनले विमानस्थलबाट सीधै तोकिएको होल्डिङ सेन्टरमा आराम गराएपछि मात्रै व्यवस्थित रुपमा यातायातमार्फत सम्बन्धित जिल्लामा पठाइने सरकारको योजना रहेको सुनाए ।

मन्त्री नेम्बाङले सरकारको उक्त योजनामा कुनै कमीकमजोरी हुन नदिन सचेतता अपनाउन सबैलाई निर्देशन दिएका थिए ।
विदेशबाट फर्कने नेपालीहरुमध्ये प्रदेश १ र २ कालाई व्यवस्थित एवं सुरक्षित घरसम्म पुग्ने व्यवस्थाको संयोजन गर्न सरकारले क्रमशः मन्त्री नेम्बाङ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई जिम्मा दिएको छ ।

आआफ्नो क्वारेन्टाइन स्थल बनाउँदै चार नपा

त्यस्तै विदेशबाट फर्कने आफ्ना नगरवासीलाई राख्न यहाँका चारवटै नपाले छुट्टाछुट्टै क्वारेन्टाइनस्थल निर्माण कार्यलाई तीव्रता दिएका छन् । यहाँका चार नगरपालिका भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायकले विदेशबाट कोही फर्कंदै छन् भने उनको बारेमा जानकारी दिन वडामार्फत नगरवासीलाई सूचित गरिसकेका छन् ।

नपाहरुले रोजगारी वा अध्ययनलगायतको सिलसिलामा विदेशमा रहेको तर अहिले कोरोना भाइरस संक्रमणका कारण स्वदेशमा आउन लागेको भए त्यसको जानकारी दिन आग्रह गरेका हुन् ।

पछिल्लो समय विदेश विशेषतः भारतबाट फर्केकाहरुमा कोरोना भाइरस संक्रमण भेटिएपछि समुदायसम्म संक्रमण फैलिन नदिन उनीहरुलाई क्वारेन्टाइनस्थलमा राख्न यस्तो सूचना जारी गरिएको नपाहरुले जनाएका छन् ।

भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले विदेशबाट आएकाहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने बताउँछन् । त्यसैले यहाँका प्रत्येक नपालाई आआफ्नो छुट्टै क्वारेन्टाइनस्थल बनाउन भनिएको उनले स्पष्ट पारे । जसअनुसार सूर्यविनायक नपाले क्वारेन्टाइन बनाउन सम्भावित ठाउँको खोजी गरिरहेको छ ।

भक्तपुरका तीन ठाउँमा यसअघि नै क्वारेन्टाइन स्थल तयार भइसकेका छन् । चाँगुनारायण नपा ७ खरिपाटीस्थित विद्युत तालिम केन्द्र, चाँगुनारायण नपाकै वडा नं. ६ नगरकोटस्थित सरसफाइ तालिम केन्द्र र मध्यपुर थिमि नपा ९ बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा क्वारेन्टाइन स्थल तयारी अवस्थामा रहेका छन् । त्यस्तै यहाँका पाँचवटा अस्पतालहरुमा एकसय १० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको छ ।

भक्तपुर वसन्त नेम्बाङ) भक्तपुर व्यवस्थापन गरिएको होल्डिङ सेन्टरको निरीक्षणपछि सरोकारवालालाई निर्देशन दिँदै भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्बाङ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.