सिन्धुपाल्चोकमा भारतबाट फर्किएका युवकमा कोरोना संक्रमण
सिन्धुपाल्चोक : भारतबाट फर्किएर एक सातादेखि क्वारेन्टाइनमा बस्दै आएका सिन्धुपाल्चोकका एक युवकमा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट फर्किएर मेलम्चीस्थित क्वारेन्टाइनमा बस्दै आएका इन्द्रावती गाउँपालिका–१० का ३२ वर्षीय युवकमा पीसीआर परीक्षणबाट कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको हो ।
भारतबाट फर्किएपछि पीसीआर टेष्टका लागि स्वाब संकलन गरी पठाइएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार संक्रमणको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘भारतबाट फर्किएका पाँचमध्ये एक जना युवकको पीसीआर रिपोर्ट पोजिटिभ भएको जानकारी आएको छ ’, ढकालले भने, ‘सगै फर्किएका बाँकी चार जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।’
उनीसहित भारतबाट गत १३ गते मेलम्ची आइपुगेका पाँच जना क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमासँगै आएका उनीबाहेक अन्य चार जनाको पीसीआर रिपोर्ट नेगेटिभ रहेको जिल्ला बिपद व्यवस्थापन समितिले जनाएको छ ।
पीसीआर पोजिटिभ देखिएका युवक स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा रहेको समितिले जनाएको छ । संक्रमण पुष्टि भएपछि उनलाई क्वारेन्टाइनबाट आइसोलेसन वार्डमा सार्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए । रोजगारीका क्रममा भारत रहेका ती युवक फर्कने क्रममा ठूलो संख्यामा सार्वजनिक बस चढेर आएको बताएका छन् । उनीसहित आएको समुहका अधिकांश काभ्रेको विभिन्न स्थानमा झरेर बाँकी रहेका पाँच जना मेलम्ची आइपुगेका थिए ।
स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएका यी युवक सिन्धुपाल्चोकका दोस्रो संक्रमित हुन् । यसअघि बाह्रबिसे नगरपालिका–९, राम्चेकी सुत्केरी महिलाको मृत्युपछि संक्रमण पुष्टि भएको थियो । काठमाडौ बस्दै आएकी ती महिला सुत्केरी भएर गाउँ आएको केही दिनपछि मृत्यु भएको थियो ।
रोजगारीका क्रममा भारत गएका सिन्धुपाल्चोकका ५७ जना फर्किएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् । भारतबाट फर्किएका सबैको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएकोमा अधिकांशको रिपोर्ट अझै आएको छैन ।