‘कविता एक प्रकारको थेरापी हो’
लकडाउनले सबै क्षेत्रलाई व्यापक असर पारेको छ। तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं केही आफ्नो रुचिको कर्ममा व्यस्त छन्। त्यहीमध्येका एक हुन्, कवि तथा गीतकार श्रवण मुकारुङ। सामाजिक सञ्जाल फेसबुकमा वाचन गरेर उनले ‘क्वारेन्टाइनबाट कविता’ शृंखलाको एक सयभन्दा बढी भाग पूरा गरेका छन्। प्रस्तुत छ, उनीसँग सोही विषयमा केन्द्रित रही इन्द्र चौधरीले गरेको कुराकानी :
कवितावाचनका लागि छनोटको आधार के हो ?
यसमा केही कविता मैले पहिले पढिसकेका राम्रा कविता छन् भने केही फेरिफेरि पढ्दा मेरो मनलाई छोएको र यसले सबैको मन छोओस् भनेर पनि यी कविता छानेको हुँ।
खासमा कविता के हो ? कविताको शक्ति के हो ?
कविता मानिसको जीवनसँग जोडिएको चीज हो। ठीक समयमा ठीक कविता आयो भने यसले एक प्रकारको थेरापीको काम गर्छ। त्यसमाथि कविता आदिमकालदेखि नै विभिन्न विधामा प्रयोग हुँदै आएको छ। यो प्रयोग नभएको विधा छैन। मानिसले खोजिरहेको सत्य कुरा हुन्छ, कवितामा। समाज परिवर्तन गर्न साह्रै ठूलो योगदान हुन्छ, कविताको। मानिसलाई कविताले खुसी बनाउनु र खुसी मानिसले समाज राम्रो बनाउनु नै कविताको शक्ति हो।
‘क्वारेन्टाइनबाट कविता’ शृंखलाबाट कस्तो प्रतिक्रिया आएको छ ?
मैले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु। मानिसलाई भौतिक सुख, सुविधाले मात्र पुग्दैन। उसलाई आत्मिक सुख पनि चाहिन्छ। त्यसैको उपज नै हो यो कला भन्नु पनि। अहिले लकडाउनले मानिसलाई मानसिक रूपमा तनाव दिइरहेको अवस्था छ। मानिसहरू बन्दी भएका छन्। यस्तो अवस्थामा मैले कविता सुनाएर केही राहत दिन सक्छु कि भनेर सुनाइरहेको छु।
कविताले समाज रूपान्तरणमा कस्तो भूमिका खेल्छ ?
राम्रो कविताले मानिसलाई एक प्रकारको तुष्टि दिन्छ। मानिसहरूले यो शृंखलाबाट रमाइरहेको बताएका छन्। यसले मलाई झनै उत्प्रेरणा दिइरहेको छ। सबैलाई खुसी बनाउन सक्नु नै कविताले समाज रूपान्तरणमा भूमिका खेलेको हो जस्तो लाग्छ।
पहिले र अहिलेका कवितामा के फरक छ ?
पहिलेका कविता ‘सोलोडोलो’ रूपमा आउँथ्यो भने अहिले परिवर्तित हुँदै एकदमै मिहिन विषयवस्तुमा छिरेर कविता लेख्न थालिएका छन्। संरचनाको हिसाबले पनि पुराना कविताभन्दा निःसन्देह अहिलेका कविता राम्रा र फरक छन्। मानिसको चेतनाको विकास क्रमसँगै, जीवनशैलीको परिवर्तनसँगै कविताको प्रगति हुँदै आएको छ। कविहरूले अहिले नयाँनयाँ चिन्तन लिएर आएका छन्।
नेपालको सन्दर्भमा पनि गणतन्त्रपछि कवितामा धेरै नै परिवर्तन आएको छ। २०४६ भन्दा अघि कवितामा समेत सेन्सर हुन्थ्यो। अहिले त्यस्तो अवस्था छैन। अहिलेको नेपाली कविताको ‘मेनस्ट्रिम’ भनेको पीडितहरूको पक्षमा बोल्ने, आवाजविहीनहरूको आवाज बनिदिने, सीमान्तीकृत, सबाल्र्टन, समाजमा असाध्यै भेदभावमा परेकाहरूको वकालत गरिदिने आदि हो।
तपाइँले कविता लेख्दा विषयवस्तुको छनोट कसरी गर्नुहुन्छ ? श्रवणका कविताको पहिचान के हो ?
मैले ४० को दशकदेखि लेख्न सुरु गरेको हुँ। त्यतिबेलादेखि नै समानता, मुक्ति, स्वतन्त्रता जस्ता विषयवस्तु उठाई कविता लेखें। सायद म आफैं पनि जनजाति भएर पनि होला। मैले सुरु गर्दा ईश्वर बल्लभ, भूपी शेरचन, मोहन कोइराला आदिहरूले लेख्नुहुन्थ्यो। उहाँहरूबाट फरक कसरी हुने भन्ने सोचले मैले फरक विषयवस्तुमा कलम चलाएँ। सुरुसुरुमा एउटा भावनामा लेखिन्थ्यो। त्यतिबेला कसरी स्थापित हुने भन्ने सोच मात्र हुन्थ्यो। त्यसैले अलि बेगले लेखिन्थ्यो भने अहिले अलि पाको हुँदै गएपछि मैले लेखेको राम्रो हुन्छ भने अलिकति विचार, चिन्तन, दार्शनिक छटा किन नदिने भनेर गहन सोचविचार गरेर लेखिन्छ। एउटा कवि भइसकेपछि समाजको लागि खराब कुराको विरोध गर्नुपर्छ, आममानिसलाई सही बाटो देखाउने क्षमता राख्नुपर्छ भन्ने सोचले कविता लेख्छु। सायद, यही मेरो पहिचान हो जस्तो लाग्छ।
‘क्वारेन्टाइनबाट कविता’ शृंखला चलाइरहँदा तपाईंले जजसको कवितावाचन गर्नुभयो, ती सबै कविलाई सशक्त, युगान्तकारी, प्रखरजस्ता कुनै न कुनै विशेषण दिएर किन परिचय दिनुभएको ?
मैले एउटा के कुरा विचार गरेको छु भने मानिसहरू नकारात्मक पक्षलाई बढी ध्यान दिन्छन्। जसले गर्दा एकले अर्कालाई सम्मान गर्ने भावना हराउँदै गएको छ। त्यसैले लेखकहरूमा पनि सम्मान हुनुपर्छ भनेर मैले यस्तो विशेषण दिने गरेको हो अर्थात् एक कविले अर्को कविलाई दिएको सम्मान पनि हो, यो। छोटोमा भन्ने हो भने यो मेरो शैली हो। अर्को कारण, म कुनै विज्ञ, समालोचक पनि होइन, एउटा कवि मात्र हुँ। कुनै पनि कविको कविता सुनाउँदा शीर्षक भनेर खुरुखुरु कविता सुनाउँदा त्यति राम्रो पनि सुनिँदैन र त्यतिकै भनिएको पनि होइन, उहाँहरू साँच्चै नै त्यस्तै कवि हुन्।
तपार्इंको नयाँ कविता संग्रह कहिले पढ्न पाइन्छ ?
अब छिट्टै आउँछ। लगभग तयार भइसकेको छ। लकडाउन सकिनेबित्तिकै संग्रह निकाल्ने योजनामा छु।
कविता लेख्न चाहनेहरूलाई केही सुझाव छ कि ?
अहिले कवि र कविता बढ्ने क्रम निकै छ। वास्तवमा कविता भनेको एउटा लामो यात्रा पनि हो। नयाँ कविमा अभ्यास कम हुन्छ। सशक्त कविता आउन लामो अभ्यास चाहिन्छ। कवि बन्न चाहनेहरूले दुईवटा सुझाव छ, मेरो। एउटा, यो क्षेत्र निकै चुनौतीपूर्ण क्षेत्र हो। रहर र रमाइलोका लागि आउनेहरूका लागि होइन यो। यसमा म कविको रूपमा स्थापित भएरै छोड्छु भन्ने गम्भीरताका साथ समर्पणभाव लिएर आउनुपर्छ। दोस्रो, कवि नै हुने हो भने संसारभरि वा नेपालको साहित्य इतिहासमा कस्ता कस्ता कविता लेखिएका छन्, कस्ता कस्तो आन्दोलन भएका छन्, ती सबैबारे अध्ययन हुनुपर्छ। र, फरक शैलीका साथ आउन सक्नुपर्छ।