मल कोलकातामा, किसानको लाइन नेपालमा
बुटवल : बर्दिया राजापुरका छप्पुराम चौधरी मल किन्न बिहानै बिक्री केन्द्र पुग्छन्। लामो लाइनको पुछारमा उभिन्छन्। केही घण्टापछि पालो आउँछ तर मल सकिन्छ। यो उनको केही दिनयताको दैनिकी हो।
बर्दिया धानको पकेट क्षेत्र हो। जहाँ छप्पुराम जस्तै कैयौँ किसानले धान उब्जनी गर्छन्। विगतमा जस्तै मल, बिउका लागि लड्नुपर्ने नियति अहिले पनि दोहोरिएको छ। धान लगाउने सिजनमै मल नभएपछि किसान छटपटिएका छन्।
धान रोप्ने बेला डीएपी मल चाहिन्छ। हरियो भएपछि युरिया छरिन्छ। प्रदेश ५ सहित सुदूरपश्चिम र कर्णालीमा समेत भैरहवाको कृषि सामग्री केन्द्रले मल ढुवानी गर्छ। धान रोप्ने बेला चाहिने डीएपी मल गोदाममा पर्याप्त छैन। भैरहवाको कृषि सामग्रीको गोदाममा १ हजार ९ सय ८३ मेट्रिक टन मात्रै डीएपी छ।
मल नै नभएपछि छप्पुरामजस्तै सयौँ किसानले किन्न पाउने कुरै भएन। मलका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके र बर्दियाका किसान बिक्री केन्द्रमा धाइरहेका छन्। लामै लाइन लागे पनि मल पाइएको छैन।
कृषि सामग्री केन्द्र भैरहवाका प्रमुख अजयकुमार श्रीवास्तवका अनुसार कोरोना महामारीको संक्रमण र मजदुर अभावमा मल नेपाल ढुवानी हुन सकेको छैन। कृषि सामग्री केन्द्रले खरिद गरेको साढे १२ हजार मेट्रिक टन र मल बिक्री गर्ने अर्काे कम्पनी साल्ट ट्रेडिङको पनि उत्तिकै मात्राको डीएपी कोलकातामै छ।
२५ हजार मेट्रिक टन मल भारतमै रोकिएपछि नेपालभर नै डीएपीको अभाव छ। ‘भारतमा आएको सामुद्रिक चक्रपातले पनि ढुवानी हुन सकेन, अब एक साताभित्रै ल्याउने कुरा भएको छ,’ श्रीवास्तवले भने।
भारतमा रोकिएको मल आयात भए भैरहवामा १० हजार मेट्रिक टन आउनेछ। तब मात्रै किसानले पाउने गरी कपिलवस्तु, दाङ र नेपालगञ्जका केन्द्रमा मल पुग्नेछ।
कृषि सामग्री केन्द्रका अनुसार भैरहवाबाट वार्षिक ५४ हजार ८ सय ५४ मेट्रिक टन मल बिक्री गर्ने लक्ष्य थियो। त्यसमध्ये डीएपीको लक्ष्य ७ हजार मेट्रिक टन हो। यो लक्ष्य मागका आधारमा नभई बिक्री क्षमताका आधारमा निर्धारण गरिएको हो।
नेपालमा मलको माग ७ लाख मेट्रिक टन रहेको बताइन्छ। त्यसमध्ये ७० प्रतिशत कृषि सामग्री केन्द्र र ३० प्रतिशत साल्ट ट्रेडिङले बिक्री गर्छन्। ६० प्रतिशत युरिया र ३५ प्रतिशत डीएपीको माग छ। औपचारिक रूपमा डीएपी करिब ८० हजार र युरिया एक लाख ५० हजार मेट्रिकटन माग छ।
तराईका सीमावर्ती जिल्लाका किसान भारतीय मल र बिउमा परनिर्भर छन्। अहिले सीमानाका बन्द छन्। साइकल र मोटरसाइकलमा मल ढुवानी हुन सकेको छैन। ‘पारि (भारत)बाट मल ल्याउन नपाउँदा झन् समस्या भयो, रुपन्देहीको मर्चवारका किसान गजेन्द्र रायले भने। उनीहरूले यसअघिका वर्षमा कहिल्यै नेपालमा बिक्री हुने मल खरिद गरेनन्। अहिले यतैको भर पर्दा मलको हाहाकार मच्चिएको हो।
कृषि सामग्री केन्द्रका कर्मचारी भारतबाट किसानले मल ल्याउन नपाउँदा अभाव भएको बताउँछन्। ‘भारतबाट मल ल्याउन पाएको भए अभाव हुने थिएन,’ लिमिटेडका एक कर्मचारीले भने। भारतमा मलको मूल्य सस्तो भएकाले सकेसम्म किसानले उतैबाट ढुवानी गर्ने गरेका छन्। विगत वर्षमा भारतबाट एक÷एक बोरा मल भिœयाएर सीमाका बजारमा बिक्री गर्ने गरिएको थियो।
अहिले डीएपीको अभाव छ, एक महिनापछि युरियासमेत नपाइने निश्चित छ। मल बिक्री गर्ने दुवै निकायले युरिया खरिद गरेका छैनन्। भण्डारण भएको युरियाले माग पूर्ति गर्ने छैन।
साल्ट ट्रेडिङको २१ हजार मेट्रिक टन युरिया गुजरातको काण्डेला बन्दरगाहमा रोकिएको छ। कृषि सामग्री केन्द्रले अहिलेसम्म युरिया मल खरिदको एलसी नै खोलेको छैन।
साल्ट टे«डिङ भैरहवाका प्रमुख हरिशचन्द्र श्रेष्ठका अनुसार रोकिएको मल आयात भए अभाव हट्नेछ। तर, मल आउने÷नआउने निश्चित भइसकेको छैन। भैरहवामा रहेका साल्ट र कृषि केन्द्रले प्रदेश ५ सहित, कर्णाली र सुदूरपश्चिममा मल पठाउँछन्। यी कार्यालयमा आएको मलमध्ये ४० प्रतिशत प्रदेश ५ मै बिक्री गर्ने गरिएको छ। साल्ट ट्रेडिङ भैरहवामा जम्मा ११ हजार क्विन्टल डीएपी र १५ हजार क्विन्टल युरिया स्टक छ। प्रदेश ५ की कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले मल अभाव हुन नदिन सरकारले आयातका लागि पहल गरिरहेको बताइन्।