स्वास्थ्य चौकीका प्रमुखलाई कोरोना संक्रमण
राजविराज : सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित क्वारेन्टाइनका इन्चार्जमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य चौकीका प्रमुख समेत रहेका बोदे बर्साइन नगरपालिका-५ भाटिनका ५० वर्षीय हेल्थ असिस्टेन्टमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले पुष्टि गरे।
सप्तरीको सबैभन्दा बढी संक्रमित देखिएको बोदे बर्साइन नगरपालिकामा संक्रमितको सङ्ख्या योसहित २० पुगेको छ । यसअघि जेठ १५ गते उक्त नगरपालिका-५ स्थित चन्द्र नमूना माविको सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो ।
जेठ १३ गते सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत असई संक्रमित भएका थिए । जेठ १३ गते बोदे बसाईन क्वारेन्टाइनमा बसेका आठजनामा एकैपटक कोरोना संक्रमित पुष्टि भएको थियो । सोही क्वारेन्टाइनमा बसेका बोदे बर्साइन नगरपालिकाको ११ जना र बलान बिहुल गाउँपालिकाका एकजनामा जेठ १५ गते कोराना संक्रमण पुष्टि भएपछि गाउँलेहरुले स्वास्थ्य चौकी प्रमुखलगायत स्वास्थ्यकर्मीलाई घर जान बन्देज लगाउनुपर्ने माग गरेका थिए ।
त्यसपछि स्वास्थ्यकर्मी क्वारेन्टाइनभन्दा तीन सय मिटर दुरीमा रहेको स्वास्थ्य चौकीमा बस्न थालेको स्थानीयवासी बताउँछन् । घर जान निषेध गरिए पनि क्वारेन्टाइनको व्यवस्थापनका लागि स्वास्थ्य चौकी प्रमुख हाट बजारमा खटिएको देखिएकोले जोखिमको सम्भावना रहेको स्थानीय व्यापारी उमेश साहले बताए ।
सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले बुधबार कोरोना परीक्षण नगरेर थुनेर राखेको आरोप लगाउँदै विद्यालयको डेस्क, बेञ्च सडकमा तेस्र्याएर केही बेर हुलाकी सडक अवरुद्व गरेका थिए। कल्याणपुरबाट पुगेको नेपाली सेना र सशस्त्र प्रहरीले प्रदर्शनकारीलाई सम्झाएपछि बाटो सुचारु भएको थियो । उक्त क्वारेन्टाइनमा बसेकामध्ये ९१ जना दुई साताभन्दा बढी समयदेखि बसे पनि परीक्षण हुन पाएको छैन् ।
ती ९१ जनामा बिहीबार आरडीटी परीक्षण गर्दा १५ जनाको पोजिटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । भरपर्दो विश्वसनीय नरहेको आरडीटी परीक्षण गरेर क्वारेन्टाइनमा बसेकालाई छाडन लागिएको भन्दै स्थानीयवासीले पर्याप्त सावधानी नअपनाए समुदायस्तरमै कोरोना संक्रमण फैलिने बताएका छन् ।
सप्तरीमा बिहीबार छिन्नमस्ता गाउँपालिका, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकामा संक्रमण पुष्टि भएसँगै सप्तरीमा संक्रमण फैलिएको स्थानीय तह १२ पुगेको छ । सबैभन्दा बढी बोदे बर्साइनमा २०, राजगढमा १३, डाकनेश्वरीमा १२, हनुमाननगर कंकालिनीमा ६, राजविराजमा ५, छिन्नमस्तामा ५, बलान बिहुलमा ४ तथा बिष्णुपुर र तिरहुत गाउँपालिका, सुरुङ्गा, खडक र शम्भुनाथ नगरपालिकामा १÷१ जना संक्रमित पुष्टि भएका छन् । जसमा डाकनेश्वरी र बलान बिहुलमा १÷१ महिला छन् ।
डाकनेश्वरी नगरपालिका-३ हटेलका पहिलो संक्रमित चितवनबाट आएका हुन् भने अन्य भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, जयपुर, बिहारलगायतबाट आएका हुन् । पहिलो संक्रमित वैशाख २९ गते पुष्टि भएको थियो । त्यसपछि भारतको विभिन्न राज्यबाट आइ क्वारेन्टाइनमा बस्नेहरुको पीसीआर परीक्षण गरेपछि जेठ ९ गतेदेखि संक्रमितको सङ्ख्या उकालो लागेको हो ।