जानकीका पाँच जनाले जिते कोरोना
टीकापुर : कैलालीको जानकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर शुक्रवार घर फर्किएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि टीकापुर अस्पतालको आइसोलेसनमा रहेका उनीहरु शुक्रबार डिस्चार्ज भएका हुन्।
कोरोना जित्नेमा जानकी गाउँपालिका-३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष रहेका छन्। त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष रहेका छन्।
कैलालीको टीकापुरस्थित अस्पतालमा उपचारार्थ आइसोलेसनमा रहेका उनीहरुलाई टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलसहित स्वास्थ्यकर्मीको टोलीले पुष्पगुच्छा दिएर बिदा गरे।
कोरोना जितेर घर फर्किएका एकजनाले सामाजिक दूरी कायम राखेर आत्मबल बलियो बनाए कोरोनालाई जित्न सकिने बताए। ‘सामाजिक दूरी कायम राखेर सचेत हुँदै आत्मबल बढाउने हो भने कोरोना जितिन्छ’, घर फर्किदै गरेका एकजनाले भने, ‘कोरोनासँग हामी लड्न सक्दा रहेछौं भन्ने आत्मविश्वास बढेको छ।’
अर्का संक्रमति एकजनाले १४ दिनसम्म अस्पतालको आइसोलेसनमा बस्दा समेत कोरोना संक्रमण भएको अनुभव नै नभएको बताए।
जानकी गाउँपालिका-१ स्थित सरस्वती माविको क्वारेन्टाइनमा बसेका दुई जनामा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ गते र १५ गते अन्य दुई जनामा कोरोना पुष्टि भएको थियो।
टीकापुर अस्पतालमा अब एक गर्भवती महिलासहित टीकापुर नगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका २ जना आइसोलेसनमा उपचार्थ भर्ना गरिएका छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए।
यसअघि सेती प्रादेशिक अस्पताल धनगढीबाट लम्की चुहा नगरपालिका वडा ९ धनचैयाका २१ वर्षीय पुरुष वैशाख ७ गते, धनगढी उपमहानगरपालिक-५ तारानगरका ३४ वर्षीय पुरुष वैशाख ९, लम्की चुहा नगरपालिका-१ भुरूवाकी ६५ वर्षीया महिला वैशाख ११ गते र धनगढी उपमहानगरपालिका-५ तारानगरका ३४ वर्षीया महिला वैशाख २६ गते डिस्चार्ज भइसकेका छन्।
शुक्रबार डिस्चार्ज भएकासहित कैलालीमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ९ पुग्ने भएको छ।