कोरोनासम्बन्धी सन्देशमुलक भित्तेलेखन
बेनी : म्याग्दीका चित्रकारले सार्वजनिक ठाउँमा कोरोना (भाइरस) सम्बन्धी सन्देशमुलक भित्तेलेखन गरेका छन् । लकडाउनका कारण फुर्सदीला भएका चित्रकारले बेनीका विभिन्न ठाउँमा कोरोना भाइरसबाट बच्ने र फैलिन नदिने उपायका बारेमा सन्देशमुलक चित्र सहितको भित्तेलेखन गरेका छन् ।
ग्लोरी फाइन आर्ट ग्रुप, म्याग्दीको नेतृत्वमा जनचेतना अभिवृद्धिका लागि भित्तेलेखन गरेका हुन् । मंगला गाउँपालिकाको बरंजा, बेनीको गलेश्वर, कालीपुल र जिल्ला समन्वय समितिको कार्यालय अगाडी भित्तेलेखन गरिसकेको समूहका सुरेन्द्र रानाले बताए ।
'सातजना चित्रकार भित्तेलेखनमा सहभागी छन्,' उनले भने, 'ग्रामिण क्षेत्र र अन्य पालिकाका मुख्य ठाउँमा पनि भित्तलेखेन गर्ने तयारीमा छौं।'भित्तेलेखनका लागि व्यक्तिगत रुपमा पैसा जुटाएर रंग खरिद गरेका छन् । सरकारी निकाय र दाताबाट सहयोग नलिएको समूहका ललिन्द्र थापाले बताए । राना, थापा, अमृत श्रीपाली, सुनिल बोहोरा, प्रेम तामाङ, भिम वि.क., मनोज थापा र अभिषेक बानिया भित्तलेखनमा सहभागी छन् । उनीहरु म्याग्दीका आर्ट गर्दै आएका हुन्।
भित्तामा कोरिएको चित्रका साथै शब्दमार्फत सामाजिक दुरी कायम गर्न, भीडभाडमा नजान, साबुन पानीले हात धुन, सरसफाइमा ध्यान दिन अनुरोध गरिएको छ।आफूसँग भएको सीपको सदुपयोग गरेर अघिपछि पनि काम लाग्ने गरी भित्तलेखन गरेको अमृत श्रीपालीले बताए । यसअघि उनीहरुले गत माघमा पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङ गरेका थिए ।