निको नहुँदै छजना कोरोना संक्रमित डिस्चार्ज
धनगढी : सेती प्रादेशिक अस्पतालबाट बावुछोरीसहित छजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका (बावुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।
चिकित्सकको आवश्यक निर्देशनसहित उनीहरुलाइ डिस्चार्ज गरिएको अधिकारी श्रेष्ठले बताए । सेती प्रादेशिक अस्पतालमा अब २० जना संक्रमितको उपचार भइरहेको छ । यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको थियो ।
डिस्चार्ज भएका उनीहरुको घरसम्म पुर्याउने व्यवस्था भने कुनै पनि निकायले नगर्दा उनीहरु समस्यामा परेका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमित देखिएका छन् ।
कैलालीमा ४० जनामा कोरोना पुष्टि भएको छ । यस्तै अछाममा १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६÷६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।