बाहिर ठिक्क, भित्र दिक्क !
लकडाउनले मनोचिकित्सक डा. विश्वबन्धु शर्माले ‘मान्छेको मन’मा मानसिक चिकित्सक भएर ३८ वर्ष काम गर्दाका आफ्ना अनुभव समेटेका छन्। अनुभवहरूलाई बाँड्दाबाँड्दै पनि उनले आफ्नो निजी जिन्दगी, नेपालको समग्र चिकित्सा शिक्षा, मनोचिकित्सा, नेपालको राजनीति, कर्मचारीतन्त्रलाई पनि छुटाएका छैनन्। तीन खण्डमा विभाजन गरिएको किताबको पहिलो खण्डमा उनले आफ्नो अनुभवमा मानसिक रोग राखेका छन् भने दोस्रो खण्डमा आफूले भागेको जीवन र तेस्रो खण्डमा थोरै निजी प्रसंग भनेर राखेका छन्।
किताबको प्रारम्भको कथा सडकमा पुगेको मानिसले राम्ररी उपचार पाएको खण्डमा कसरी प्रगति गर्नसक्छन् भन्नेबाट सुरु हुन्छ। पढ्दै जाँदा मन नै हल्लाउने अनुभव छन्, धेरै त। सन्तानलाई सम्हाल्नै नसकेपछि आफ्नै बाले नै विदेशको दूरदराजमा लगेर छोडेका कथा, निःसन्तान भएपछि दम्पतीले सन्तान जन्माउनका लागि अर्काको शुक्रकीट लिएर बच्चा जन्माउँदा बच्चाको नाकनक्सा आफूसँग नमिलेका कारण श्रीमान् श्रीमतीमा आउने सम्बन्धको दरारजस्ता कथालाई समेटेका छन्।
विदेशमा मानसिक रोग लाग्दा शीर्षकमा विकसित भनिने देशहरूमा मानसिक रोगको उपचारमा हुने समस्यालाई केलाउने कोसिस गरिएको छ। बाहिरबाट हेर्दा धनी मानिने अमेरिका, हल्यान्ड तथा अस्ट्रेलियामा मानसिक उपचारमा भएको समस्यालाई जोडेका छन्। जहाँ मानिसका अधिकार सुरक्षित छन् तर आफ्नो अधिकारका लागि आफैँ अगाडि सर्नुपर्ने हुन्छ। आफू अगाडि सर्न नसकिने रोग लागेमा अरूले उपचारको पहल गरिदिन सक्ने सम्भावना कम हुन्छ। जुन मानसिक रोगका बिरामीका लागि कहिलेकाहीँ हानिकारक भएका उदाहरण लेखकले पेस गरेका छन्।
डिप्रेसन शीर्षकमा लेखकले महिलालाई पुरुषलाई भन्दा बढी (पहिला पहिला दोब्बर र अहिले बढी) हुने कुरा उल्लेख गरेका छन्। जुन कुरालाई उनले महिलाको महिनावारी, शारीरिक रूपमा हुने हर्मोनको गडबडी र सामाजिक कुरा पनि भनेका छन्। यहीँनिर समाजमा महिलालाई गर्ने विभेदकारी व्यवहार र अत्यधिक कार्यभारका कारण पनि महिलालाई डिप्रेसन हुन्छ भनेर लामो समय महिला स्वास्थ्य तथा मनोविमर्शकर्ता भएर काम गरिरहेका दिदीहरूले बताइरहन्छन्। तर, लेखकले भने विभेदको कुरालाई छोएका छैनन् वा त्यसलाई सामाजिक कारण भनेर पन्छाएका छन्। त्यसैगरी गम्भीर डिप्रेसनका कारण महिलाहरूमा हुने काम्ने लक्षणलाई समाजले माता चढेको भनिदिँदा उनीहरूको जीवनमा सकारात्मक परिवर्तनलाई पनि शर्माले समेटेका छन्। त्यसैगरी झारफुक गर्ने मान्छेले पनि, ‘मैले गर्ने काम गरिदिएँ अब डाक्टरकोमा पनि जानू’ भनेर आफ्नोमा पठाइदिने चलन पनि जोडेका छन्।
अनौठो लाग्ने ओडिसी शीर्षकमा लेखक ओडिसी (अनावश्यक शंका) र व्यवहारलाई जोडेका छन्। मानिसको आफैँप्रति वा अरू कुनै कुराप्रतिको अनावश्यक शंका वा व्यवहारले घरपरिवारमा पारेको प्रभाव उल्लेख गरेका छन्। कसैले हात धोएको धोयै गरेर ट्यांकीको पानी सकेको, कसैले बिहानै उठ्नुपर्ने र आफूभन्दा अगाडि अर्को मानिस शौचालय जानुपर्ने (जसलाई उठ्न, शौचालय जान मन नलागेको पनि हुनसक्छ)जस्ता सुन्दा सामान्य लाग्ने रोगका कारण मानिसमा परिरहेका समस्याबारे उल्लेख गरेका छन्। जुन केही मात्रामा हाँसोउठ्दा पनि छन्।
सुस्त मनस्थितिको विषयलाई लेखकले सुस्त मनस्थितिको व्यक्तिका कारण समाज र परिवारका बाध्यताहरूको विषयमा लेखेका छन्। यस्ता बाध्यतामा वंश विकासका लागि गरिने प्रजननको कुरा, हाडनाताभित्रको यौन सम्बन्धका कुरालाई जोडेका छन्। विवाह र मानसिक रोगको विषयमा समाजमा विवाह संस्थासँग जोडिएका विभिन्न प्रकारका कुरालाई उनले जोडेका छन्। मानसिक रोगका बिरामी भन्नेबित्तिकै डराउने, समाजमा मानसिक रोगलाई लिएर भएका अवधारणाका कारण मानिसले ढाँटेर विवाह गरिदिने, विवाहलाई विदेशमा जानका लागि भर्याङ बनाउने र मानसिक रोगी हो भनेर जान्दाजान्दै पनि विवाह गर्ने र मानसिक रोगीका कारण सन्तान नहुँदा परिवारकै अर्को पुरुषको सन्तान जन्माउने गरिएका घटनालाई पनि उनले जोडेका छन्।
साइकोसिसमा मानिसहरूलाई भ्रम हुन थाल्ने कुरालाई लेखकले जोडेका छन्। काम गरिरहेका बेलामा कसै कानमा आएर जे पायो त्यही भनिदिएकोजस्तो लाग्ने, कुनै कुरामा भ्रम हुने, कसैप्रति शंका लागिरहने कुराले पनि मानिसलाई आत्महत्याको मुखमा पुर्याएको, कसैको उपचार भइरहेको र उपचारपछि सामान्य जीवनयापन गरिरहको उदाहरणलाई लेखकले पेस गरेका छन्।
आत्महत्या शीर्षकमा लेखकले डिप्रेसनको रोग लागेका २० प्रतिशत बिरामीले मात्रै आत्महत्या गर्ने र आत्महत्या गर्नेको कुल प्रतिशतमा डिप्रेसनले पीडित ८० प्रतिशत रहेको तथ्य पेस गरेका छन्। आत्महत्याको सोच आउँदैमा मानिसले आत्महत्या नै गरिहाल्दैन। डिप्रेसनमा हुँदा आत्महत्या गर्न पनि अल्छी गर्छ, जब जाँगर चलाउँछ त्यसमा पनि उसले अन्तिमसम्म कसैले रोकोस् भन्ने चाहेको हुन्छ भन्ने कुरालाई किताबको सुरुवातदेखि नै पेस गरिरहेका उनले आत्महत्याको अन्तिम चरणमा पुगेपछि मानिसले आत्महत्या नै गरेर छोड्ने कुरालाई जोडेका छन्।
सम्झना भइरहेका केसहरू शीर्षकमा उनले अविवाहित आमाबुवाबाट जन्मेको छोरो र बुवाको भेटको कुरा, डाक्टर स्वयंको कुनै बिरामीसँग बढेको आकर्षणको कुरा, मानसिक रोगीले आफ्नी श्रीमतीसँग घरको कामदारलाई यौनसम्पर्क गर्न लगाएर आनन्द लिने गरेका कुरा, उपचार गरिरहेको डाक्टर मरिहाले कहाँ उपचार गर्ने होला भन्ने बिरामीको सोचलाई समेटेका छन्।
ओझेलमा परेका मानसिक समस्या शीर्षकमा बाल्यकालमा हुने यौन दुव्र्यवहार र मानसिक समस्याको विषयलाई जोडेका छन्। तर, अपेक्षाकृत रूपमा छोटो गरी। त्यसैगरी फरक यौनिकता भएका शिक्षक र विद्यार्थीको बीचमा हुने आकर्षण र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई जोडेका छन्। र, छोरीलाई घरमै ट्युसन पढाउने हो भने शिक्षिका खोज्न पनि सुझाव दिएका छन्।
अज्ञानता र मानसिक रोगमा उनी मानसिक रोगीको विषयमा समाजमा भएको नकारात्मक धारणाका कारण मानसिक रोगीका परिवारले औषधिलगायतका कुरामा परिवारले गर्ने हेलचेक्य्राइँ, मानिसक रोगीलाई सहयोग नगर्ने प्रवृत्ति र यसको उपचार हुन्छ भन्नेबारेमा ज्ञान नहुँदा रोगीहरूको ज्यान गएको वा रोगीले अरूको ज्यान लिएका कथाहरूलाई जोडेका छन्। त्यसैगरी डाक्टरहरूको अहंमा उनले रसियामा पढेर आएका डाक्टरलाई अंग्रेजी भाषामा दक्षता नभएकै कारण उडाउने गरिएको, डाक्टरहरूबीचमा हुने सम्बन्ध, टिममा काम गर्ने, आफूभन्दा जुनियरलाई सिकाउने, सहकार्य गर्ने वा नगर्ने डाक्टरको आनीबानी केलाएका छन्।
माल प्राक्टिस शीर्षकमा उनले मानसिक रोगका डाक्टरलाई प्रशस्त काम भएको, नयाँनयाँ डाक्टरले पनि काम पाइरहेको कुरालाई समेटेका छन्। जसमा मिहिनेत गरेर पनि राम्ररी कमाउन सकिन्छ भन्ने कुरालाई जोड दिँदै अपवादमा ‘बिरामीलाई अनावश्यक ईईजी गर्ने, नभएको कुरा बिरामीलाई भनिदिने। औषधि पनि कहिलेकाहीँ आफैँ बेच्ने, पैसा लिने, अर्कै उद्देश्यले बनाएको मेसिन टाउकोमा राखेर यसले ठीक गर्छ भन्ने’ डाक्टर पनि भएको उनले जोडेका छन्।
बुझ्नैपर्ने उपशीर्षकमा उनले कुनै एक रोग लागेका बिरामीलाई अरू विभिन्न रोग पनि एकसाथ लागिरहेको हुनसक्ने भन्दै बिरामीलाई ठीक पार्ने पाँच बाटो उल्लेख गरेका छन्। जसमा उपचार, परिवारको माया-ममता-हौसला, उपयोगी काममा व्यस्त हुनु, समुदायमा घुलमिल भई सामाजिक सम्बन्ध विस्तार गर्नु र सबै प्रकारका लागुपदार्थबाट टाढा हुनुलाई लिएका छन्।
किताबको दोस्रो खण्डमा मैले भोगको जीवन भनेर आफ्नो जिन्दगीका कुरालाई जोडेका छन्। शिक्षाको उज्यालो नपुगेको ग्रामीण समाजमा भएको आफ्नो जन्म, पढ्नका लागि कहिले यता कहिले उता भौँतारिइरहनु परेको बाल्यकाल, पढाइमा लगाव हराउने र शिक्षकको सानो प्रोत्साहनका कारण अगाडि बढेको अनुभव, बीसको दशकमा साइन्सको पढाइ, रुस छात्रवृत्तिको अवसर, मनोचिकित्साप्रतिको आफ्नो लगाव र अरूको सकारात्मक-नकारात्मक सुझाव र टिप्पणी, नेपालमा आएपछि काम तुरुन्त नदिने चलन, मानसिक स्वास्थ्यका लागि भएका पहल, पाटन अस्पतालको स्थापना, जागिरबाट राजीनामाजस्ता कुरालाई समेटेका छन्। जसले लेखकको जीवनको कथा मात्रै भन्दैन, नेपालको मानसिक चिकित्सा क्षेत्रका केही पाटाहरूलाई खुलाउँछ।
दोस्रो खण्डमा लेखकले आफ्नो जीवन भने पनि उनको जीवन मात्रै यसमा छैन र आफ्नो पूरै जीवन पनि छैन। यो खण्डमा पनि उनले पहिलो खण्डमा राखिएका जस्तै केसहरू, काम गर्ने सिलसिलामा भोगेका घटनालाई जोडेका छन्। त्यसै गरी लेखकको जीवनका मानसिक चिकित्सा वरिपरि नपरेका पाटाहरूलाई जानी जानीकन नै छोडेका छन्। जस्तो कि, उनले कतै कतै छोरीको बारेमा उल्लेख गरेका छन् तर छोरीकी आमाबारे, आफ्नै दिदीबहिनी, दाजुभाइबारे उल्लेख गरेका छैनन्।
किताबको तेस्रो खण्डमा उनले निजी प्रसङ्ग भनेर राखेका छन्। जसमा उनले आफ्नो बाल्यकालको कुरालाई छोडेका छैनन्। किन प्रेम भएन भन्ने बारेमा पनि लेखेका छन्। प्रेम गर्न चाहेर पनि आफ्नो स्वभाव, उमेर र पढाइका कारण आफू प्रेममा पर्न नसकेको लेखेका छन्। त्यसै गरी रक्सी आफूलाई तीतो लागेको कारण नखाएको, भाषाहरू सिक्न, किताब र कलम संकलन गर्न आफ्नो रुचि भएको कुरालाई उनले यो खण्डमा राखेका छन्।
समग्रमा, मान्छेको मनमार्फत लेखकले मान्छेको मन मनमा मात्रै सीमित हुँदैन, ऊ जन्मेको परिवार, समाज, विवाह गरिएको व्यक्ति, मुलुकको कानुनले प्रभाव पारिरहेको हुन्छ भन्ने कुरालाई केलाएका छन्। महिलाहरूको सुत्केरी हुँदाको समयमा स्वास्थ्य (मानसिक पनि) मा परिरहेको असरबारे लेखे पनि महिलामा हुने मानसिक स्वास्थ्य समस्यालाई केलाएका छैनन्। त्यसै गरी मानसिक रोगको चिकित्सकीय उपचार भए पनि बिरामी वरपरको वातावरणको उपचार भएन भने रोग बल्झिहने र ज्यानै जान सक्ने अवस्थालाई लेखकले पटक पटक जोडेका छन्।
@NaraNepal