ब्लेजर बटन

ब्लेजर बटन

विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण एक महिनाभन्दा लामो लकडाउनले हामीलाई घरभित्र खुम्च्याएको मात्र हैन, धेरैलाई सिर्जनात्मक पनि बनाएको छ। कति सामाजिक सञ्जाल चहार्नमा व्यस्त छन् त कति पढ्न लेख्नमा दत्तचित्त। कतिलाई घरिघरि ट्विटर, फेसबुक भित्ता पल्टाउने लतसमेत बसिसकेको हुनुपर्छ। म पनि हिजोआज तिनमा रमाउन थालेको छु, कारण त्यहाँ आफ्नो फोटो र आफ्नै बखान मात्र नभई छोटो मीठो सन्दर्भसहितको टिप्पणी पनि भेट्टाइन्छ। त्यसरी चहार्दा रमाइला कुरा पढ्न पाइन्छ अनि नकारात्मक मात्र हैन, सन्देशमूलक सकारात्मक भावना पनि। 

त्यसरी सकारात्मक सोच लिएर फेसबुकमा नियमित पोस्टिनेमा पर्छन्, मेरा कूटनीतिज्ञ एवम् कथाकार मित्र मधुवन पौडेल। उनले मिहिनेत गरी घरको छतमा हुर्काएको रङ्गीविरङ्गी फूल र विभिन्न मौसमी फलका तस्बिर पोस्टेर हामीलाई ऊर्जा भर्ने काम गर्छन्। त्यसैमध्येमा पर्छिन्, रुपा दवाडी, जो आफ्नो सानो बगैँचामा फुलेका मनमोहक फूलको सौन्दर्य फेसबुकमा पोस्ट गरी हाम्रो दिल बहलाइरहन्छिन्। अस्ति त उनले फोनै गरेर बेलिविस्तार लगाइन्, ‘हरिकुमारजी, तपाईं हाम्रो घरमा आउँछु भनेको पनि कति भयो, आउने हैन ? मेरो सानो बगैँचामा कति धेरै फूल फुलेका छन् अहिले। ती सबै प्राकृतिक हुन्, नर्सरीमा नश्ल गरेका बिरुवा होइनन्। हेर्नुस्, लिली ढकमक्क फुलेका छन्, त्यसलाई फुलेको हेर्न फेरि एघार महिना कुर्नुपर्छ। तपाईंलाई थाहा छ ? मेरो बगैँचामा अर्किड पनि छ नि ?’

करै गरेर भनिन्, ‘लकडाउन सिद्धिएपछि जसरी पनि आउनुहोला, त्यो पनि एक्लै हैन श्रीमतीसहित। आउन्नँ भन्न अनि ल्याउन्नँ भन्न पाइँदैन नि।’ अनि हाँसेर थपिन््, ‘त्यही बेला म तपाईंको ब्लेजर कोटको बटनको पोल खोलिदिन्छु।’ उनले के भन्न खोजेकी थिइन्, मैले बुझिहालेँ। हाँसेर टारेँ। रूपा दवाडी परराष्ट्रमा मेरा हाकिम गोपिनाथ दवाडीकी धर्मपत्नी हुन्। दवाडीजी पछि इजिप्टका लागि नेपाली राजदूत भए। त्यहाँ राजदूत छँदा केही दिनका लागि म उनको पाहुना भएर कायरो घुमेको थिएँ। ब्लेजर बटन त्यही बेलाको प्रसङ्ग हो। 

त्यही प्रसङ्ग सम्झेर मलाई अहिले फेरि भच्र्युअल घुमघाममा निस्कने मन भयो। लकडाउनको बेला त्यसरी भच्र्युअल घुमघाममा निस्कन मलाई असाध्यै रमाइलो लागिरहेछ। त्यसरी घुम्न निस्कँदा समयको पनि कुनै सीमा हुँदैन। घडीको सुई अघि बढाए पनि भयो, पछि धकेले पनि भयो। त्यसरी घुम्न निस्कने क्रममा अहिले म घडीको सुई उल्टो घुमाएर सन् १९९० को दशकको मध्यतिर लाँदै छु। 
सन् १९९६ को नोभेम्बर-डिसेम्बर महिनामा इजरायलको परराष्ट्र मन्त्रालयले ‘एक्काइसौँ शताब्दीमा कूटनीति’ विषयक दुई हप्ते सेमिनार आयोजना गरेको थियो। त्यसमा भाग लिने सहभागी सबै एसियाली मुलुकका थिए। नेपालको तर्फबाट म र सहकर्मी यज्ञबहादुर हमाल सामेल थियौँ। 

म्याडम जहिले भेट्दा पनि त्यही अनुत्तरित ब्लेजर बटनको प्रसंग उठाई मलाई उडाइरहन्छिन्। अहिले यति लामो बखान गरेपछि त सफाइ पाउँछु कि ? 

शीतयुद्धको अवसानपछि अन्तर्राष्ट्रिय सम्बन्धमा देखापरेको बदलिँदो परिवर्तनलाई आत्मसात् गर्दै इजरायलले एसियाका उदीयमान शक्ति चीन र भारतजस्ता देशसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको बुझ्न गाह्रो थिएन। सेमिनारमा ती देशका अतिरिक्त जापान, थाइल्याल्ड, कम्बोडिया, भियतनाम र मंगोलियासमेतका सहभागी थिए। 

दक्षिण एसियाबाट भने नेपाल र भारत मात्र सहभागी थियौँ। इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियाली मुलुकमा नेपाल पहिलो भएकाले उनीहरूले हामीलाई विशेष स्नेह गर्थे। सेमिनार स्थल जेरुसलेमको पश्चिमी डाँडामा अवस्थित एउटा किबुज (सहकारी होटेल) मा थियो जहाँ सहभागीहरूका लागि खानबस्नको आरामदायी व्यवस्थासमेत थियो। होटेलको मनमोहक लनबाट जेरुसलेमको विहङ्गम दृश्य देखिन्थ्यो— सेता अग्ला घरहरू, फाट्टफुट्ट हरियाली अनि सफासुग्घर सडक। मान्छेको आवतजावत भने फाट्टफुट्ट मात्र। 

हामी बस्ने होटेल सबै दृष्टिले सुविधासम्पन्न भए पनि सुरुका केही दिन म राम्ररी निदाउन सकिनँ। त्यसको पनि कारण छ। इजरायली बमवर्षक लडाकु एफ-१६ विमान गगनभेदी आवाजसहित मध्यरातमा प्रशिक्षणका लागि उडिरहन्थे। विमान उड्दाको सुपरसोनिक आवाजले कोठाको झ्यालको सिसा थरर्र थर्किन्थे। म भुइँचालो आएको सम्झी निद्राबाट जुरुक्क उठ्थेँ। पछि बिस्तारै बानी पर्‍यो। 

इजरायलको विशिष्ट भौगोलिक अवस्थिति र सामरिक अवस्था पनि हामीले त्यतिबेलै देख्न पायौँ, थोरै भए पनि बुझ्न पायौँ। इजरायलको मुख्य व्यापारिक सहर तेलअभिभबाट मृतसागरको दूरी जम्मा साठी किलोमिटर मात्र छ। त्यो भनेको उनीहरूका लागि भारतको सिलिगुढी चिकेननेकजस्तै हो। इजरायल पनि मरुभूमि नै हो, त्यसैले पानीको महत्व उसले जति अरू कसले बुझेको होला ? त्यसै उसले सन् १९६७ को लडाइँमा कब्जा गरेको गोलानहाइट नछाडेको हो ? 

सेमिनारको सप्ताहान्तमा आयोजकले हामीलाई इजरायलको सामरिक दृष्टिले संवेदनशील ठाउँको अवलोकन भ्रमणमा पनि लगिरहन्थे। गोलानहाइटबाट उत्तरतिर हेर्दा सिरियाको टाढा टाढाको भूभाग देख्न सकिन्थ्यो, दक्षिणमा जोर्डन उपत्यका र मृतसागरको दृश्य। त्यस्तै परे इजरायलले गोलानहाइटबाट सिरियाको महत्वपूर्ण स्थानमा निशाना साध्न सक्थ्यो भने यदि सिरिया बलियो हुँदो हो त गोलानबाट जोर्डन भ्याली र त्यस्तै परे तेलअभिभ पनि निशानामा पर्न सक्थ्यो। 

जेरुसलेमको स्थिति झनै जटिल थियो, छँदै छ। पूर्वी जेरुसलेमका साँघुरा गल्लीहरूमा अरबीहरूको बाक्लो बस्ती थियो। पश्चिमी जेरुसलेम भने इजरायलको शासकीय सत्ताको केन्द्र र धनाढ्य बस्ने ठाउँ। त्यसमाथि त्यहाँको पवित्र धार्मिकस्थल ‘टेम्पल माउन्ट’ जसलाई इस्लाम धर्मावलम्बीहरू ‘अलअस्का’ मस्जिदको नाउँले पुकार्छन् भने सँगैको पश्चिमी पर्खालमा यहुदी र क्रिस्चियन धर्मावलम्बीहरू आइतबारको दिन छाती पिटिरहेका हुन्छन्। धार्मिक र जातीय विभेदले जन्माएको जटिलता बुझ्न जेरुसलेमजस्तो ठाउँ अन्त सायदै होला। 

आयोजकले हामीलाई धेरै ठाउँ घुमाउन लगे, तेलअभिभदेखि हाइफा बन्दरगाह, पश्चिमी किनारादेखि मृतसागर अनि डेजर्ट सफारीदेखि लेबनानको सिमानासम्म। हामीले जान चाहेको तर आयोजकले लान मन नगरेको एउटै ठाउँ थियो, त्यो हो, रामल्हामा रहेको प्यालेस्टिनी अथोरिटीको मुख्यालय। त्यसको संवेदनशीलता हामीले बुझेकै थियौँ, त्यसैले कर गर्ने कुरा पनि भएन। 

दक्षिणी लेबनानको सीमानजिक एक सैनिक शिविरमा हामी पुग्दा हाम्रो सेमिनार निर्देशक तथा अन्य स्टाफहरू हरियो खाकी सैनिक पोसाकमा थिए। हामी त तीन छक्क ! वास्तविकता के रहेछ भने कुनै निश्चित पदसम्म गैरसैनिक पदमा रहने व्यक्तिले पनि मिलिटरीको पद साथसाथै राख्दा रहेछन्। जस्तो, हाम्रो सेमिनार निर्देशकले कर्र्नेलको फुली लगाएका थिए भने उनका जुनियर कर्पोरलसम्मका पनि थिए। वर्षको एकपटक उनीहरूले आर्मीको रिफ्रेसर कोर्स गर्न अनिवार्य रहेछ। 

हामी लेबनानको सीमानानजिकै थियौँ। मलाई सीमासम्म जान पाए हुन्थ्यो जस्तो लाग्यो, कारण त्यहाँ नजिकै संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनामा खटिएका नेपाली शान्तिसेनाको युनिट थियो। धेरै वर्षदेखि त्यो सीमाक्षेत्रमा नेपाली शान्तिसेनाले प्रशंसनीय कार्य गर्दैआएको छ, जसलाई इजरायल र लेबनान दुवैले मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन्। गर्वले मेरो शिर सगरमाथाजस्तै अग्लो भयो। यसरी दुई हप्ता कति चाँडो बित्यो, पत्तै भएन। सेमिनार शिक्षाप्रद त थियो नै, रमाइलो पनि भयो। 

अब भने विषयान्तर गरी मैले सुरुमा उठाएको ब्लेजर बटनको प्रसङ्ग जोड्नतिर लाग्छु। सेमिनार सकिएपछि हमालजी नेपाल फर्किए, मचाहिँ आफ्नै खर्चमा केही दिनका लागि कायरो घुम्न हानिएँ। आफ्नो खर्च पनि के भन्नु, थप हवाईभाडा मात्र त हो। कायरोमा घुम्न बस्न केही समस्या थिएन। आफ्नै हाकिम दवाडीजी राजदूत थिए भने कालीजी (कालीप्रसाद पोखरेल, क्यानाडाका लागि पूर्वराजदूत र हाल परराष्ट्र मन्त्रालयमा कार्यरत) र हाकिमबहादुर भण्डारीजस्ता सहृदयी साथी दूतावासमा कार्यरत थिए। 

कायरो विमानस्थलबाट बाहिर निस्कँदा भण्डारीजी मलाई कुरिरहेका थिए। ‘हाकिमजी, मेरो बसोबासको व्यवस्था तपाईंकोमा कि कालीजीकोमा ?’ मैले स्वाभाविक प्रश्न गरेँ किनकि उनीहरू दुवै मेरा सहकर्मी साथी थिए। महामहिम राजदूतसँग मन्त्रालयमा सँगै काम गर्दा नजिकको सम्बन्ध थियो तर उनकी धर्मपत्नी रूपा म्याडमलाई मैले त्यसअघि भेटेकै थिइनँ। 

‘कहाँ हुनु नि ?’ सर त राजदूत सापको पाहुना पो त, सीधै रेजिडेन्स जाने कुरा भएको छ।’ भण्डारीजीले अथ्र्याए। मलाई किञ्चित् असजिलो लाग्यो किनकि म फुक्काफाल बिदा मनाउन कायरो आएको कतै औपचारिकतामा बाँधिने पो हो कि ? कतै राजदूतको मानमनितोले थिचिने पो हो कि ? तर त्यस्तो के होस् ? घरमा पुग्नासाथ राजदूत महोदयले न्यानो आत्मीयता देखाए भने रूपा म्याडमले खुलेर कुरा गरिन्। मलाई आफ्नै घरमा आइपुगेजस्तो भयो। 

कायरोको बसाइ तीन दिनको थियो। साथीभाइले प्रत्येक दिनको लागि कहाँ जाने, के हेर्ने सबै मिलाइदिएछन्। इजिप्टको प्राचीन जनजीवन र संस्कृति झल्किने फारोनिक भिलेज, प्रसिद्ध इजिप्ट्सियन म्युजियम, गिजाको अलौकिक पिरामिडदेखि नाइल नदीको मनोरम क्रुज, सबै समेटिएको थियो। ‘यो त हदै भयो, एकछिन पनि साथीभाइसँग बसेर गफ गर्ने फुर्सदसमेत नदिने ?’ मैले हल्का प्रतिवाद गरेँ। ‘अनि तीन दिनमा कायरो घुमी भ्याइन्छ भन्ठान्नु भएको छ कि क्या हो ? अलेक्जेन्ड्रिया र लक्जोर त राखेकै छैन।’ कालीजीले ठोके। 

तीन दिन लखतरान हुने गरी कायरोको विभिन्न ठाउँ घुमियो। फारोनिक भिलेज भनेको चितवनको सौराहाको हाम्रै थारू भिलेजजस्तै रहेछ। हिस्सी परेका इजिप्ट्सियन सुन्दरीहरू प्राचीन परम्परागत परिधानमा कोही बिस्कुन सुकाइरहेका, कोही खाना बनाइरहेका अनि कोही माटाका भाँडा बनाइरहेका। प्राचीन इजिप्टको रहनसहन र संस्कृतिको सानो झल्को दिने ठाउँ रहेछ त्यो भिलेज। प्राचीन भेषभूषामा सजिएका सुन्दर युवतीहरू देख्दा राजकुमारी क्लियोपात्राको सुन्दरता कल्पनामा नाच्न थाले। 

यता फारोनिक भिलेजको जीवन्त प्रस्तुति उता इजिप्ट्सियन म्युजियमको हलमा लस्करै राखिएका इजिप्टका प्राचीन राजाहरूको ममीले संरक्षण गरिएको पार्थिव शरीर। हजारौँ वर्ष पहिलेदेखि संरक्षण गरिएका त्यस्ता ममीहरू देख्दा इजिप्ट्सियन सभ्यताको हामी कल्पना मात्र गर्न सक्छौँ। त्योभन्दा पनि प्राचीन इजिप्ट्सियनहरूले मृत्युलाई कसरी लिँदा रहेछन् अनि मृत्युपछिको संसार कसरी कल्पना गर्दा रहेछन्, मलाई त्यो महत्वपूर्ण लाग्यो। 

गिजाको अलौकिक पिरामिडको वर्णन आवश्यक छैन। तर त्यहाँ घुम्न जाँदा घटित एक सानो घटना भने मैले अझै भुल्न सकेको छैन। दूतावासका साथीभाइले पहिल्यै सतर्क गराएका थिए, ‘पिरामिड घुम्न जाँदा अलि होस गर्नुहोला है। त्यो विदेशी पर्यटक ठग्ने एउटा मुख्य ठाउँ हो।’ मलाई चाहिँ के पो ठग्लान् र जस्तो लागेको थियो। 

टिकट लिएर भित्र पस्नासाथ लस्करै रङ्गीचङ्गी परिधानमा सजिएका उँटहरूले स्वागत गरे। विदेशी पर्यटकहरू तिनैमा बसेर पिरामिडको दृश्य क्यामेरामा कैद गर्दारहेछन्। अनि कतिचाहिँ उँटमा बसेर पिरामिडको एक चक्कर लगाउँदा रहेछन्। म पनि त्यहीमध्येकै परेँ। 

उँटको पिठ्यूँमा बसेर ड्राइभरसँग मोलतोल गर्न पनि भ्याएको थिइनँ, लामालामा खुट्टा चालेर उँट अघि बढिहाल्यो। ठीकै छ, कति नै पो माग्ला र ? म त्यसमा अल्झन चाहिनँ, बरु पिरामिडको वर्णनातीत दृश्यमा रमाउन थालेँ। 

पिरामिडको निर्जन कुनामा पुगेपछि ड्राइभरले एकाएक उँट रोक्यो र टुटेफुटेको तर तर्साउने शैलीमा मसँग तीन सय पौन्ड माग्यो। त्यसबेला मलाई लाग्यो, यसले मलाई पक्कै ठग्ने नियत लिएको रहेछ। तीन सय इजिप्ट्सियन पौन्ड भनेको करिब एकसय डलर जति हुन्थ्यो। त्यो भनेको वास्तवमा ठगी नै थियो। त्यसभन्दा पनि त्यो एकलास ठाउँमा मलाई कताकता डर पनि लाग्यो। तर त्यस्तो भाव प्रकट हुन दिइनँ र अलि ठूलै स्वरमा ‘म नेपाली दूतावासको पाहुना हुँ, एक सय पौन्ड दिन्छु। ’

राजदूतावासको पाहुना शब्द सुनेपछि ऊ अलि झस्कियो। एकसय पौन्ड लिई मलाई त्यही निर्जन ठाउँमा छाडी उँट लिएर ऊ फटाफट आफ्नो बाटो लाग्यो। म हेरेको हेर्‍यै भएँ। साँझ राजदूत दम्पतीले दूतावास परिवार सबैलाई खान बोलाएका थिए। मैले एक्लै टुरिस्ट भएर घुम्दाको तीतो अनुभव सुनाएँ। रूपा म्याडमले ठट्टा गर्दै भनिन्, ‘एक्लै घुमेसी त्यस्तै त हुन्छ नि। साथी ल्याउनु पर्दैन ? आफैँ मात्रै घुम्ने ?’

कायरोमा एक्लै घुम्ने दिन अब एक दिन मात्र बचेको थियो। बिहानै ब्रेकफास्ट खाएपछि राजदूतसँगै दूतावास जाने, दिउँसो लन्चपछि बजारमा केही सोभेनियर किन्ने, अनि साँझ नाइलक्रुजमा जाने— मेरो त्यस दिनको दैनिकी। 

कायरो सहर बिहान अबेरसम्म सुतिरहन्छ। दिउँसोतिर अल्छी मान्दै उठ्छ। चहलपहल त साँझ परेपछि पो हुँदोरहेछ। मध्यरात हुँदा पनि कायरोलाई निद्रा पर्दैन- मानिसको व्यस्त चहलपहल र कल्याङबल्याङमा रमाइरहन्छ। 

बजारको भीडमा साँझ केहीबेर हराएपछि प्रतीक्षित नाइलक्रुजमा जाने बेला भइहाल्यो। दूतावासका साथीहरू पहिले धेरैचोटि क्रुजको अनुभव गरिसकेकाले जाने रहर गरेनन्। फेरि म एक्लै परेँ। साथीभाइ वा ग्रुपमा घुम्नुको जुन आनन्द आउँछ, त्यसबाट म फेरि विमुख हुने भएँ। 

तर क्रुजमा पस्नेबित्तिकै मेरो एक्लोपना एकाएक कता हरायो, हरायो। नाइलक्रुजको आनन्द लिन स्वदेशी र विदेशी पर्यटकले क्रुजलाइनर टन्न भरिएको थियो। जतासुकै मान्छेको कल्याङबल्याङ आवाज आइरहेको थियो। 

जब हाम्रो क्रुज डकयार्डबाट बिस्तारै अघि बढ्यो, साँझको बत्तीको प्रकाशमा नाइल नदी धपक्क बलेको देखिन्थ्यो। हावा मन्द मन्द चलिरहेको थियो। त्यही मन्द हावामा जहाजको डेकमा उभिएर मैले त्यो शुभ्र र सौम्य दृश्यलाई निर्लिप्त भई हेरिरहेँ, हेरि नै रहेँ। क्रुजबाट देखिने कायरो सहरको सन्ध्याकालीन दृश्य पनि त्यत्तिकै मनमोहक थियो। 

केही समयपछि डिनर, त्यसपछि बेली डान्स सुरु भइहाल्यो। मैले बेली डान्स टेलिभिजनको पर्दामा हेरेको थिएँ, प्रत्यक्ष देखेको थिइनँ। नाइलक्रुजले त्यो इच्छा पनि पूरा गर्‍यो। बेलीडान्सलाई कतिले कामुक र अश्लील पनि भन्छन्, तर त्यसो होइन। जसरी भारतीय उपमहाद्वीपका शास्त्रीय नृत्य चाहे भारतनृत्यम् वा कथ्थक नृत्य नै किन नहुन् ति कलाकारिताका उत्कृष्ट नमुना हुन्, त्यस्तै बेलीडान्सलाई पनि टर्कीलगायत कतिपय अरब देशहरूमा नृत्यको अनुपम नमुना मानिन्छ। जसरी हाम्रा शास्त्रीय नृत्यहरूमा आँखाको हाउभाउ र हात र पाउको चालले विशेष महत्व राख्छन् त्यसैगरी बेलीडान्स गर्ने नृत्याङ्गनाले मधुर सङ्गीतको तालमा हल्लाउने शरीरको प्रत्येक अवयवले त्यस्तै महत्व राख्दा हुन्। म त्यसको पारखी त हैन तर नाइल क्रुजको बेलीडान्स हेर्दा मलाई त्यस्तै लाग्यो। 

कार्यक्रमको अन्तमा बेलीडान्सका नृत्याङ्गनाहरूले दर्शकहरूलाई फ्लोरमा तानी आफूसँगै नचाउने चलन रहेछ। दर्शकहरूका लागि त्योभन्दा बढी के चाहियो ? 

म चुपचाप सिटमा बसी बेलीडान्सको रसास्वादन गरिरहेको थिएँ, एउटी नृत्याङ्गनाले कतिबेला मलाई तान्न भ्याइहालिछिन्, मलाई होसै भएन। मैले जानी नजानी उनीसँग कम्मर हल्लाएँ। हल्लाएँभन्दा पनि उनको लचकदार गोरो नितम्बलाई त्यति नजिकबाट हेरेँ। ती नृत्याङ्गना सङ्गीतको तालमा आफ्नो शरीर जोडले हल्लाइरहेकी थिइन्। मलाई चाहिँ पृथ्वी नै हल्लिएजस्तो लाग्यो। 
घर फर्कँदा रात अबेर भइसकेको थियो। राजदूत दम्पतीलाई शुभरात्री भनी कोठामा पसेँ। कुन बेला भुसुक्क निदाएछु थाहै पाइनँ। नाइलक्रुजमा एक्लै भएकामा मलाई खेद थिएन। भोलिपल्ट बिदाबादी हुने दिन। ब्रेकफास्ट लिएर लुगा लाउन तयार भएँ। लौ जा, मेरो ब्लेजर कोटको एउटा बटन गायब। कहिले खस्यो, कहाँ झर्‍यो— मलाई सानो भेउसम्म थिएन। ब्लेजरको एउटा टाँक टुट्यो भने मात्र पनि त्यो लाए नलाएसरह हुन्छ। मलाई पनि त्यस्तै भयो। 

अलि असजिलो मान्दै बैठक कोठामा प्रवेश गरेँ। राजदूत दम्पती त्यहीँ थिए। राजदूतले त केही भनेनन् तर रूपा म्याडमको आँखा कति तीक्ष्ण भने उनले तत्कालै चोर समातिहालिन्। आखिर दीक्षित परिवारकी छोरी थिइन्, भारतको बलरामपुरमा हुर्के बढेकी थिइन्। उनले किञ्चित् छेड हान्दै भन्न भ्याइहालिन्, ‘हरिकुमारजी, ब्लेजरको बटन त गायब छ नि ? कतै नाइलक्रुजको कमाल त हैन ?’

मलाई त्यस्तो लाग्थेन। ब्लेजरको बटन नै चुँडिने त्यस्तो दुष्कार्य के नै पो गरियो होला र नाइलक्रुजमा। बरु सायद यस्तो पनि हुन सक्थ्यो, जसरी टाइट्यानिकको डेकमा उभिएर त्यस चलचित्रका नायक नायिकाले स्वर्गीय आनन्द लिइरहेका थिए, त्यसरी नै मैले पनि क्रुजको डेकमा उभिएर नाइल नदीको सौन्दर्यपान गरिरहेको थिएँ। धागो छिन्न ठिक्क परेको मेरो ब्लेजर बटन नाइल नदीमा पो खस्यो कि ? रूपा दवाडी म्याडम जहिले भेट्दा पनि त्यही अनुत्तरित ब्लेजर बटनको प्रसंग उठाई मलाई उडाइरहन्छिन्। अहिले यति लामो बखान गरेपछि त सफाइ पाउँछु कि ? 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.