छुवाछूतको साम्राज्य
संयोगले यसै हप्ता छुवाछूतविरुद्धको दिवस पनि परेको छ। २०७७ जेठ १० गते जाजरकोटका दलित युवा नवराज विकसहित ६ जना मारिएपछि दलितमाथि हुने हिंसा र छुवाछूतको अपराधबारे देशव्यापी आन्दोलन भएको छ र छुवाछूतको बहसले फेरि एक पटक व्यापक रूप लिएको छ। जाजरकोट, बुटवल, काठमाडौँ, प्यूठानलगायत धेरै जिल्लाहरूमा रुकुम हत्यकाण्डविरुद्ध लकडाउन उल्लंघन गर्दै प्रदर्शनहरू भएका छन्।
यसै हप्ता अमेरिकामा एक जना कालाजातिका व्यक्तिलाई त्यहाँको प्रहरीले क्रुरतापूर्वक हत्या गरेपछि हजारौँ अमेरिकी जनता सडकमा आएर त्यहाँका दर्जनौँ राज्यमा आन्दोलन उठाएका छन्। त्यो आन्दोलनले ट्रम्प प्रशासन आतंकित भएको छ र सेना परिचालन गरेको छ। उक्त हत्याकाण्डले अमेरिकाको मानवअधिकार, प्रजातन्त्र र स्वतन्त्रताको धज्जी उडाएको छ।
दक्षिण एसिया जातव्यवस्था, छुवाछूत र वर्गीय व्यवस्थाले थिलोथिलो भएको छ भने अमेरिकामा कालाजातिमाथिको अत्याचारका शृंखला लगातार भइरहेका छन्। मान्छेले मान्छेको जात र रङ छुट्याएर गरिने विभेद सबैभन्दा निकृष्ट र आपराधिक व्यवहार हो। मानवजातिले पाउनुपर्ने न्याय, स्वतन्त्रता, समानताविरुद्ध जातव्यवस्था, वर्णव्यवस्था र रंगव्यवस्था ठूलो चुनौतीका रूपमा खडा भएर बसेको छ। यसलाई भत्काउन हजारौँले बलिदान दिएका पनि छन्।
के हो छूवाछूतको साम्राज्य ?
छुवाछूत भनेको केवल मान्छेले मान्छेलाई अर्थात् कथित उच्च जातिले दलित जातिलाई नछुनु मात्रै होइन। त्यो कथित उच्च जातिका मान्छेको दिमागमा गढेर बसेको विभेद, शोषण, दमन, अन्याय र अत्याचारको ठूलो चलाबाजी र षड्यन्त्रको भीमकाय स्वरूप हो। त्यो कैयौँ अपराधको साम्राज्यसमेत हो। सामान्यतया नछुनुलाई मात्रै छुवाछूत भनिन्छ जस्तो गरिन्छ। तर नेपाललगायत दक्षिण एसियाका देशहरूमा छुवाछूत अपराधको साम्राज्यका रूपमा स्थापित छ। एउटा निश्चित समुदायलाई हजारौँ पुस्तादेखि थोपरेको अपराधले सामाजिक वैधानिकता प्राप्त गरेको छ।
कानुनबाट त्यसप्रकारका अपराधहरूलाई रोक्न खोजिए पनि ती कानुनहरू कामयावी भएका छैनन्। निर्माण गरिएका कानुनहरू लागू गर्ने सवालमा उदासिनता अपनाइएका छन्। कानुन लागू गर्ने ठाउँमा विभेद गर्ने जाति वा वर्णकै मानसिकताका व्यक्तिहरूको उपस्थिति भएका कारण पनि यो अवस्थाको सिर्जना भएको हो।
समाजमा छुवाछूतको साम्राज्य र त्यसले सिर्जना गरेका अपराधहरूलाई सामाजिक वैधता दिइएको छ भने त्यसविरुद्ध लड्न सानोतिनो तयारीले पुग्दैन। यो लडाइँ दलित जातिले मात्रै लडेर
जितिँदैन पनि। यो समानताको लडाइँ भएकाले सबै जातजातिका व्यक्ति, समुदाय सहभागी हुनु अनिवार्य छ। जातीय व्यवस्थाको टुप्पोमा सामन्तवादी शासनसत्ता छ भने त्यसका हाँगाबिगाहरू शासनसत्ताका अंग हुन्। प्रहरी, प्रशासन, अदालत, स्कुल, कलेज, अस्पताल, धार्मिक स्थल जहाँतहीं छुवाछूतको साम्राज्यका हाँगा र जरा फैलिएका छन्। जहाँ जहाँ छूवाछूतका जरा छन्, ती ठाउँमा भएका सबै जराहरूलाई कहिल्यै नपलाउने गरी काट्नुपर्छ।
पूर्वीय अध्यात्मवादी दर्शनकै समस्या
पूर्वीय अध्यात्मवादी दर्शन जातव्यवस्था र छुवाछूतको मूलजरो हो। पूर्वीय अध्यात्मवादी दर्शनका प्रमुख विषय स्वर्ग, नर्क, भगवान्, ईश्वरका नाममा छुवाछूत र शोषण भइरहेको छ। अध्यात्मवादी दर्शन र त्यसका व्यवहारको हाँगाहाँगामा, पातपातमा छूवाछूत र भेदभाव विद्यमान छ। व्यवहारमा त झनै मानसिक र भौतिक क्रुरता लुकेको छ। कथित अछूतहरूले जन्मेदेखि मृत्युसम्मै विभेद झेल्नुपर्छ। यसरी यसले करोडौँ मान्छेलाई कहिल्यै स्वतन्त्र हुन दिएन। हातखुट्टामा साङ्लो बाँधेर, मुखमा ताल्चा ठोकेर राख्यो। यतिसम्म कि आफँैले बनाएका मूर्तिहरू कहिल्यै हेर्न समेत दिएन। अर्थात्, आफँैले जन्माएका सन्तानलाई उसले कहिल्यै सुमसुम्याउन, फूल चढाउन र पूजा गर्न पाएन।
मनुले ६ प्रकारका दासको व्याख्या गरेका छन्। १. युद्धमा जितेर ल्याइएका, २. अन्नको लागि दासत्व स्वीकार गरेका, ३ खरिद गरिएका, ४. दानमा पाइएका, ५. दासको छोरा र ६. राजाको दण्डबाट बच्न दास बनाइएका। यी सबै निर्धा, दुःखी र गरिबका लागि निर्माण गरिएका परिस्थिति थिए। तिनीहरूलाई पुस्तौँपुस्ता फसाउँदै ल्याइयो र वर्णव्यवस्थामा बलियो साङ्लो बनाएर बाँधियो। ठूलठूला पर्खाल निर्माण गरिए र त्यहीँ थुनेर राखियो। त्यो वर्गलाई त्यही रूपमा राख्नका लागि यस्ता सामाजिक मनोविज्ञान र संरचना तयार गरियो कि त्यसलाई तोड्न तिनीहरूले सक्ने थिएनन्।
त्यही वर्गको आडभरोसामा, त्यही वर्गको उत्पादन र सेवाबाट प्राप्त भएको धनदौलतका कारण कथित उच्च जातीय वर्गले प्रशस्त स्वतन्त्रता उपभोग गर्यो, सम्पत्तिको मालिक बन्यो, सुखसयलपूर्ण जिन्दगी बितायो, उत्पादनका साधनहरू आफ्नो कब्जामा राख्यो, ज्ञान प्राप्त हुने सबै साधनहरू आफैँसँग राख्यो। यसरी त्यही वर्गले शासन गर्न सफल भयो।
यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने जाति र वर्ण बिल्कुलै फरक विभाजन हो। जाति भनेको प्राकृतिक रूपमै छुट्टिन्छ। आर्य, द्रबिण, हब्सी, मंगोल जाति प्राकृतिक बनोटमै फरक पाइन्छ। तर ब्राम्हण, क्षत्री, वैश्य, शूद्र मानव निर्मित वर्ण विभाजन हुन्। हिन्दू समुदायमा गरिएको यो विभाजनले धार्मिक, सामाजिक मान्यता प्राप्त गरेको छ। यो वर्ण व्यवस्था धर्म, ईश्वर, संस्कृति आदिको नाममा गरिबहरूको लागि निर्माण गरिएको ठूलो जाल हो। त्यही महाजालमा तिनै ‘अछूत’हरूलाई अल्झाएर राखियो।
बुझ्नुपर्ने अर्काे कुरा के छ भने त्यसरी अछूत बनाइएकाहरू सबै श्रमजीवी, सिल्पकार, कालीगढ, हातमा सीप र क्षमता भएका छन्। तिनीहरूको उत्पादन गर्ने क्षमतालाई उपयोग गरेर तिनीहरूमाथि नै निर्मम दमन गरियो। यो भेदभावको साङ्लो चुँडाल्नै नसकिने गरी हजारौँ वर्षसम्म कसरी कायम रह्यो ? त्यसलाई किन कायम राखियो ? कथित उच्च जातीय शासनसत्ता र अहंकारले तिनीहरूमाथि दमन गर्यो। सम्पूर्ण शासनसत्ता पनि कथित उच्च जातिको हातमा भएका कारण दलितहरूमाथि थिचोमिचो भई नै रह्यो।
पूर्वीय अध्यात्मवादी दर्शनको मूल ग्रन्थ वेदमा सबैको पहुँच पुग्ने कुरा भएन। निश्चित पण्डितहरूले वेदको व्याख्या गरे पनि व्यवहारमा मनुस्मृतिमा गरिएका व्यवस्थाहरू समाजमा लागू गरियो। समाजमा निर्धा, गरिबहरूमाथि झन् पछि झनै थिचोमिचो थोपरिँदै गयो।
धर्मग्रन्थहरूमै दलितहरूलाई विभेद गरिएको छ। तर धेरै धर्मका ठेकेदारहरूले विभेद गरिएको छैन भनेको सुनिन्छ। त्यो भनेको के हो भने तिनीहरूलाई विभेद गरेको कुरा स्वीकार्न गाह्रो छ। अर्थात्, अपराध स्वीकार गर्न गाह्रो छ। जब कसैले छुवाछूत अपराध हो भनेर स्वीकार गर्न सक्दैन भने त्यसले त्यो अपराध गरिरहन्छ। त्यसैले कानुनमा छुवाछूत गर्ने व्यक्तिलाई जेल सजाय र जरिवानाको व्यवस्था गरिएको हो।
नेपालमा सदियौँदेखि दलितहरूमाथि छूवाछूतलगायतको विभेद भए पनि जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐनले कानुनी रूपमै व्यवस्थित गरेको पाइन्छ। उक्त मुलुकी ऐन छुवाछूतको सन्दर्भमा मनुस्मृतिको कडा र व्यवस्थित रूप हो। तिनीहरूमाथि राज्य तहबाटै झनै शोषण हुन थाल्यो। अबुझ, अज्ञानी, गरिब र दीनदुःखी दलितहरूमाथि कानुनी कारबाही हुन थाल्यो। वि.सं. २०२० मा कानुनी रूपमा छूवाछूत अन्त्य भए पनि मान्छेको दिमागमा, नसानसामा छूवाछूतले सामाजिक डीएनएकै रूप लिइसकेको हुनाले यो सजिलोसँग हट्न सक्ने कुरा थिएन।
के सबै ईश्वरले बनाएका हुन् ?
चाखलाग्दो कुरा के छ भने वर्णव्यवस्था सबै ईश्वरले बनाएका हुन् भनियो। शूद्रहरूलाई जाँघबाट जन्मिएको भन्दै तिनीहरूको पूर्वजन्मलाई दोष दिइयो। सबै ‘अछूत’हरूलाई पूर्वजन्ममा तिनीहरूका पुर्खाले गरेको पापको फल हो भनेर बताइयो। ईश्वर कुनै मूर्त रूप थिएन। त्यो काल्पनिक कुरा थियो। महापण्डित र महासामन्तहरूले निर्माण गरेको छुवाछूत र वर्णव्यवस्थालाई जब ईश्वरले बनाएको भनियो, अज्ञानी, अनपढ, दीनदुःखीहरूले त्यसैलाई पत्याएर मान्दै आए। उनीहरूले आफ्नो पूर्वजन्म र कर्मलाई दोष दिएर हजारौँ पुस्ता गुजारे। किनभने तिनीहरूलाई त्यस्तै सिकाइयो।
यतिसम्म सिकाइयो कि शूद्रले पुरानो लुगा लगाउने, बाहुनले दिएको र तिनैको जुठोपुरो खाने, सदासर्वदा मन, वचन र कर्मले ब्राह्मणहरूको सेवा गर्ने गरेमा शूद्रले गरेका सबै पाप नष्ट हुन्छन्, पुण्य प्राप्त हुन्छ र त्यसले इन्द्रको पदवी प्राप्त गर्छ भनियो। पण्डित र सामन्तहरूले शूद्रहरूमाथि ईश्वरको नाममा यतिसम्म जालझेल, षड्यन्त्र र थिचोमिचो गरे। त्यसका दर्जनौँ स्वरूपहरू आजको दिनसम्म पनि हाम्रो समाजमा उपस्थित छन्।
सधैँ ब्राह्मण र कथित उच्चजातिहरूको सेवा गर्दा पनि, तिनीहरूले भनेअनुसारकै जीवन जिउँदा पनि शूद्रहरूको पाप हजारौँ पुस्तासम्म पनि नष्ट भएन। उनीहरूले कहिल्यै पुण्य प्राप्त गरेनन् र कहिल्यै पनि इन्द्रको आशनमा पुगेनन्। यसरी फगत जालझेल र षड्यन्त्रमा अडिएको वर्णव्यवस्थाले ईश्वरको नाममा दक्षिण एसियाका २५ करोड दलितहरूलाई बाँधेर राख्न सफल भयो।
युद्ध र छुवाछूत
युद्धमा प्रयोग हुने हातहतियारहरू शूद्रहरूले नै बनाए। शूद्रहरूमध्येका धातुको काम गर्नेहरूले हतियार बनाउने सीप आर्जन गरेका थिए। युद्धमा प्रयोग हुने बन्दुक, खुडा, खुकुरीहरूको निर्माण गरे। फलाम र तामाखानीहरूमा शूद्रहरूले काम गरे। धातुका हातहतियारहरू बनाउने तिनै शूद्रहरू हुन्, जसले आजसम्म फलाम, तामालगायत धातु ठटाउने आफ्नो पुख्र्याली पेसा अँगालेका छन्। तिनीहरूले कृषि क्रान्तिका लागि हँसिया, कोदालो, बन्चरो, फालीलगायत दर्जनौँ सामग्री निर्माण गरे। तिनीहरूले बनाएका हतियारहरूले ठूलठूला युद्ध लडिए। युद्ध जितेका सामन्त, महासामन्तहरू शासनसत्तामा बसे र हजारौँ वर्ष शासन चलाइरहेका छन्। तर हजारौँ वर्ष संघर्ष गर्दा पनि शूद्रहरूको जीवन एक तह माथि आउन सकेको छैन। अहिले पनि करोडौँ दलितहरूले अर्धदासको अवस्थामा आफ्नो जीवन गुजारिरहेका छन्।
ठूलठूला युद्धहरूले तीन चार पुस्तासम्म घाउ बनाउँछन्। तर छुवाछूतको साम्राज्यले विगत हजारौँ वर्षदेखि दलितहरूको सिंगो जीवनमा कहिल्यै निको नहुने घाउ बनाइदिएको छ। युद्धमा शूद्रहरू पनि मारिए, तर तिनीहरूले मुक्ति प्राप्त गरेनन्। अन्य जातिका पनि मारिए, तर कथित उच्च जातिका केही मुट्ठीभर मान्छेले शासनसत्ता चलाइरहे।
छुवाछूतले बनाएका घाउको बीचमै तड्पिएर जन्मिन्छन्, त्यही घाउमा तड्पििएर बाँच्छन् र तड्पिएरै मर्छन। यो कुन हदसम्म अमानवीय छ भन्ने कुरा कथित उच्च जातिहरूले कहिल्यै महसुस सक्दैन। त्यसैले सम्पूर्ण दलितहरूले कथित उच्च जातिहरूलाई बलपूर्वक महसुस गराउनुपर्छ। त्यसका लागि दलितहरू चिच्याउनुपर्छ, थाल ठटाउनुपर्छ, कराउनुपर्दछ, सडक तताउनुपर्छ। शासनसत्ताका बन्दुकहरूसँग लड्नुपर्छ। आन्दोलनहरूले उभार ल्याउनुपर्छ। चेतनाको राँको बाल्नुपर्छ। त्यो राँको त्यत्तिकै बल्दैन। ठूलो बलिदानको आवश्यकता रहन्छ।
रुकुम घटनापछिको दायित्व
रुकुममा ६ जना युवाहरूको हत्या गरिएपछि त्यो हत्याकाण्डविरुद्ध देशव्यापी संघर्ष भएको छ। उक्त संघर्षमा कथित उच्च जातिका व्यक्तिहरू पनि सामेल भएका छन्। रुकुम हत्याकाण्डको विरोधले छुवाछूतको साम्राज्य ढाल्न पनि महत्वपूर्ण अर्थ राख्छ। त्यसैले यो विरोधलाई देशव्यापी बनाउनुपर्छ। यो विरोध जति देशव्यापी बनाउन सकियोे, त्यति नै धेरै, एकातिर हत्याराहरूलाई सजाय दिनका लागि मद्दत पुग्छ भने अर्कातिर छुवाछूतविरुद्ध ठूलो जनमत सिर्जना गर्न सकिन्छ।
रुकुम पहिलो वा अन्तिम हत्याकाण्ड होइन। यसभन्दा पहिले पनि धेरै हत्याकाण्डहरू भएका छन् र पछि पनि हुन सक्छन्। तर हामीले विगतमा भएका हत्याकाण्डहरूबारे समाजलाई बुझाउन सक्नुपर्छ। रुकुम हत्याकाण्ड मानवताविरुद्धको अपराध हो भन्ने कुरा स्थापित गर्नुपर्छ। त्यसले आगामी दिनमा यस्ता घटना नहोऊन् भनेर सचेतना अपनाउन मद्दत गर्छ।
कहिलेकाहीँ एउटै घटना संसार बदल्न सहयोग पुर्याउने खालका पनि घट्छन्। निर्मला पन्त बलात्कारपछिको हत्याकाण्डको घटनाले बलात्कारविरुद्ध देशव्यापी रूपमा ठूलो आवाज बुलन्द भएको थियो। बलात्कार जघन्य अपराध हो भन्ने कुरा समाजमा स्थापित भएको छ।
मरनीदेवीको हत्यापछि बोक्सीप्रथा ठूलो अपराध हो भन्ने कुरा स्थापित भएको थियो। देशभरि महिलाहरू सडकमा निस्किए। बोक्सीप्रथा अपराध हो र अपराधीले सजाय पाउँछन् भन्ने कुरा स्थापित भएपछि बोक्सीजस्ता कुप्रथाबाट गरिब महिलाहरूमाथिको हिंसामा कमी आयो। अहिले बोक्सीकै कारण महिला हिंसामा कमी भएको छ।
पूर्वी तराईमा सिनो विरुद्धको आन्दोलन दलितहरूको ठूलो विद्रोह थियो। अब दलितहरू सिनो नउठाएकै, नखाएकै कारण मारिन वा हिंसामा पर्ने घटनामा कमी आयो।
रुकुम हत्याकाण्डमा ६ जना युवाहरूको ज्यान गए पनि त्यसबाट भएको क्षतिलाई आम दलितहरूको अधिकारका रूपमा रूपान्तरण गर्न सक्नुपर्छ। शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ। त्यसरी शोकलाई शक्तिमा बदल्ने हिम्मत, आँट, साहस सबैले राख्नुपर्छ। त्यसले समतामूलक समाज स्थापनामा सहयोग पुग्नेछ। अन्त्यमा, रुकुम हत्याकाण्डमा मारिएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली।
@bimalwin