पोखराको क्षेत्रीय अस्पतालको आइसोलेसनमा ३ संक्रमित
पोखरा : कास्कीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखा परेका ३ जना शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएका छन्। सरकारले क्षेत्रीय अस्पताललाई कोरोना उपचारको डेडिकेटेड अस्पताल तोकेको छ।
रुपा गाउँपालिकाका २ पुरुष र पोखराका १ गरी ३ पुरुष शनिबार आइसोलेसनमा भर्ना भएका हुन्। रुपा गाउँको क्वारेन्टाइनमा बसेका २३ र ३२ वर्षका पुरुष र पोखरा महानगरको लेकसिटी हस्पिटलमा क्वारेन्टाइन बसेका ५९ वर्षका पुरुष आइसोलेसनमा भर्ना भएको क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य सामान्य छ। कोरोना भाइरस संक्रमितको संख्या कास्कीका ४ जना पुगेको छ। ४ दिनअघि उपचारका लागि काठमाडौं लगिएका एकजनामा उतै कोरोना संक्रमण पुष्टि भएको हो।
१५ जेठमा क्षेत्रीय अस्पतालमा भर्ना भएकी स्याङ्जाकी संक्रमित भने शनिबार जिल्ला फर्किएकी छन्। उनलाई भीरकोट नगरपालिकाको हेलुबजारस्थित कालिका सामुदायिक अस्पतालमा भर्ना गरिएको छ।
भारत स्याङ्जा आएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसोलेसनमा राखेर उपचार गराई रहेकी उनलाई शनिबार स्याङ्जाको आइसोलेसनमा लगिँदै। परिवारकै अनुरोधमा उनलाई स्याङ्जा लगिएको बताइएको छ। तस्बिर : कृष्णमणि बराल