कोरोना परीक्षणको रिपोर्ट नआउँदै सिजरिङ डेलिभरी : ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

कोरोना परीक्षणको रिपोर्ट नआउँदै सिजरिङ डेलिभरी : ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

भक्तपुर : स्वास्थ्य मन्त्रालयले शनिबार संक्रमण पुष्टि गरेको भक्तपुरकी ३० वर्षीया महिलाको कोरोना परीक्षणको रिपोर्ट नआउँदै सिजरिङ डेलिभरी भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा उनले कोरोना परीक्षण गराएकी थिइन्। उक्त अस्पतालमा उनको स्वाब परीक्षण गरिएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

केएमसीमा स्याब दिएपछि रिपोर्ट नआउँदै जेठ २१ गते भक्तपुरको मध्यपुर थिमि नपा ४ बालकुमारीस्थित मध्यपुर अस्पतालमा उनको सिजरिङ डेलिभरी गरिएको उनले स्पष्ट पारे।

‘सिनामंगलस्थित केएमसीमा कोरोना भाइरस परीक्षणको लागि स्वाब लिइएको थियो’, प्रमुख मिजारले भने, ‘उक्त परीक्षणको रिपोर्ट नआउँदै जेठ २१ गते सिजरिङ डेलिभरी गराइएको थियो।’

सिजरिङ डेलिभरी गरेपछि शनिबारमात्रै डिस्चार्ज भएर संक्रमण पुष्टि गरिएकी महिलालाई काठमाडौंको कोटेश्वरस्थित माइती लगिएको उनी बताउँछन्।

सिजरिङ गरिएकी सुत्केरीमा कोरोना भाइरस संक्रमण देखिएपछि उनको अप्रेसनमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए। 

‘संक्रमित महिलाको सिजरिङ डेलिभरी गर्न संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पहिचान गर्दैछौं’, उनले भने, ‘उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भएका सबैलाई आइसोलेसनमा राख्छौं। अस्पताललाई निसंक्रमण गर्छौं।’

उनका अनुसार स्वास्थ्य मन्त्रालयले भक्तपुरमा संक्रमित थपिएको सार्वजनिक गरेलगत्तै ती संक्रमितको खोजीमा अलमल भएको थियो। अहिले कोटेश्वरमा बस्ने र कोरोना परीक्षणको नमुना पठाउँदा भक्तपुर कमलविनायक लेखिँदा केही अलमल भएको उनको भनाइ थियो।

दोलखा स्थायी घर भएका ती महिला र उनको परिवार मध्यपुर अस्पतालबाट डिस्चार्ज भएर शनिबारमात्रै कोटेश्वर पुगेको थियो। सुत्केरी भएर कोटेश्वर पुग्नुअघि भने उनी र उनका श्रीमान भक्तपुर नगरपालिका ९ कमलविनायकस्थित एक घरमा डेरा बसेका थिए। उनको परिवारले उक्त घरको कोठा भने छाडेको छैन।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले ठेगाना भक्तपुर लेखिए पनि अहिले काठमाडौं बस्ने गरेकाले काठमाडौंबाटै उनलाई अस्पताल लानेलगायतका कार्य गर्ने जानकारी दिए।

सुत्केरी महिला भएकाले उनलाई पाटन अस्पतालको आइसोलेसनमा लाने तयारी गरिएको खबर आएको उनले बताए।

भक्तपुर जिल्ला तोकिएर संक्रमण पुष्टि गरी यी सुत्केरी महिला छैटौं संक्रमित हुन्। उनीअघि पनि चाँगुनारायण नपा ३ झौखेलकी गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनको पनि सुत्केरी गराउनको लागि केएमसीमा कोरोना भाइरस परीक्षण गरिएको थियो। उनको अहिले पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

उनको रिजरिङ डेलिभरीमा संलग्न ६ चिकित्सक, १२ नर्स, ११ जना हेल्पर र एकजना ल्याबका कर्मचारी गरेर ३० जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ।

उनीसँगै केएमसीका चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालको लागि बन्द गरिएको छ। केएमसीमा अप्रेसन गरिएका एक बिरामीको त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको थियो।

यी दुई महिनाअघि सुनसरीको झुम्का नगरपालिका घर भई ललितपुरस्थित आरोग्य प्रतिष्ठानमा काम गर्ने २५ वर्षीया महिला, रामेछाप घर भई हाल चाँगुनारायण नपा १ सरस्वतीखेल बस्ने सशस्त्र प्रहरीका २७ वर्षीय जवान, भक्तपुर नपा ५ योसिंखेल बस्ने काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नपा ९ तुमचो निवासी ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

उनीहरु चारैजना कोरोना भाइरसलाई जितेर डिस्चार्जसमेत भइसकेका छन्।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.