पेट भर्न खोलाकै भर
बुटवल : साढे दुई महिनादेखि मुलुक लकडाउनमा छ। बुटवलको तिलोत्तमा नगरका सुमन सुनारले भने लकडाउन पालना गर्न पाउँदैनन्। घरमै बसे भने उनको परिवार भोकै हुन्छ। पेट भर्न चर्काे घाममा ढुंगागिट्टीसँग लडीबुडी गरेर चारो खोज्नुपर्छ।
उनको मात्रै समस्या होइन यो, बुटवल सहरबीच भएर बग्ने तिनाउ नदीको पूर्व–पश्चिम रहेका बाक्लै टहरामा बस्नेको पनि हो। बुटवल उपमहानगरपालिका–११ मा पर्ने यो क्षेत्र मजुवा, बुद्धनगर, तिलोत्तमा नगर, सिर्जना नगरजस्ता ठूला बस्ती र स–साना अन्य बस्ती मिलेर बनेको छ।
बस्तीको पूर्वपट्टि बगिरहेको तिनाउ नदीको ढिकमै टिनले छाएको दुईकोठे घरमा सुमन बस्छन्। घरको आँगन खोलामा बनाइएको ढुंगे बाँधमा जोडिएको छ। त्यही छेउमा बगेको तिनाउ नदीमा पाइने बालुवा नै उनको रोजीरोटी हो। ‘बालुवा ल्याउन सकिएन भने साँझ भोकै बस्नुपर्छ,’ उनले भने।
खोलापारिको बगरमा बालुवा जम्मा गरेर राखिएको बालुवाको थुप्रो छ। खोलामा पानी घट्दा उनले बालुवा ओसार्छन्। नदी बढ्यो भने वारपार गर्न कठिन हुन्छ। लकडाउनमा बालुवा बेचेर आफू र परिवारको पेट पाल्नमै व्यस्त छन् सुमन। बालुवा उठाउन नसक्दाको दिन पटक–पटक छिमेकीकहाँ खाना माग्न जानु परेको थियो।
सुमन मुम्बईमा होटलमा खाना बनाउने गर्थे। उनको कमाइले जेनतेन घरखर्च थेगेको थियो। भारतमा कोरोना संक्रमित बढ्दै गएपछि फागुन अन्तिम साता उनी स्वदेश फर्किएको दुई सातापछि नेपाल ‘लकडाउन’मा गयो।
त्यसको केही दिनमै सुमनको घरमा रासन सकियो। त्यसपछि बालुवा झिक्न दैनिक आँगन तल रहेको खोलामा छिर्ने गरेका छन्। त्यहाँबाट बालुवा ल्याएर घर बनाउने ठेकेदार अथवा घरधनीलाई प्रतिबोरा ५० रुपैयाँका दरले बेचेर साँझ घरमा चुलो बाल्ने जोहो गरेका छन्।
वडा कार्यालयबाट चैत १७ गते पाएको १० किलो चामल, डेढ किलो केराउको दाल, एक पोका नुन र एक पोका तेल ९ जनाको परिवारले केही दिनमै सकेपछि ४५ वर्षीया सीता आब्जु परियार बालुवा बेच्न खोला धाउन लागिन्। तर, खोला धाउने उनी मात्रै थिइनन्। उपमहानगरपालिकाले ठेक्का दिएका कारण त्यहाँ बालुवा लिन आउने टिपर र एक्साभेटरको घुइँचो थियो। ‘हामीलाई बालुवा निकाल्न नदिने तर आफूहरू भने डोजर लगाएर बालुवा निकालिरहेका थिए,’ उनले भनिन्, ‘त्यो कुरा हामीलाई मन परेन।’
सोही टोलका २८ वर्षीय रूकजंग क्षेत्री पनि बालुवाकै भरमा गुजारा चलाउँछन्। उनको पनि ५ जनाको परिवार छ। उनको राधा सेक्टरको पुछारमा टिनले छाएको घर छ। रूकजंगले लकडाउन हुनुअघि साहुको ट्र्याक्टर चलाउँथे। लकडाउनपछि भने बेकाम्मे भए। घरमा खाद्यान्न सकिएपछि उनी पनि खोला धाउन थालेका छन्।
यी परिवार मात्रै होइन, बुटवल उपमहानगर–११ को यो सेक्टरका अन्य २५ परिवार घरमा रासन सकिएपछि खोलाबाट निकालेको बालुवा बेचेर दुई छाकको जोहो गर्छन्।
तिलोत्तमा नगरभन्दा दक्षिणमा रहेको अर्को ठूलो बस्ती सिर्जना नगरमा बस्ने ४६ वर्षीया वसन्ती क्षेत्री एकल महिला हुन्। उनले त्यहीँ ब्लक बनाउने काम गर्छिन्। लकडाउनको कारण देखाउँदै ठेकेदारले काम गरेबापतको पारि श्रमिक दिएका छैनन्। खानेकुरा सकिएपछि उनले ऋण खोजेर गुजारा चलाउँदै छिन्।
सुकुम्बासी बस्तीमा रहेका करिब सबै विपन्न परिवारको पीडा उस्तै छ। सक्नेहरूले उपमहानगरपालिकाको बर्खिलाप मजुवादेखि तल सिर्जना नगरसम्मै खोलाबाट बालुवा झिकिरहेका छन्। नसक्नेले ऋण, धन गरेका छन्। त्यो पनि नसक्ने भोकै सुत्नुपर्ने बाध्यता छन्।
बुटवलको यो सुकुम्बासी बस्तीमा ०६७ को तथ्यांकअनुसार यहाँ ४३ हजार जना मानिसको बसोबास छ। तर, त्यसपछिको बढ्दो बसाइ सराइका कारण यहाँ १७ हजार मानिस थपिएको नगरपालिकाको आकलन छ। यहाँको ठूलो समुदाय दिनभर काम गरेर मात्रै साँझमा खान पाउने वर्गमा पर्छन्।
यहाँका २० हजार ६ सय जनालाई तत्काल राहत जरुरत रहेको वडा कार्यालयको तथ्यांक छ। राहत वितरण गर्न वडा कार्यालयले तथ्यांक लिएको थियो। तर, सीमितले मात्रै राहत पाए। पाउनेको समेत सकिसक्यो। पुरानै अवस्था दोहोरिएको छ।
वडाध्यक्ष रामचन्द्र क्षेत्रीले वडामा अति विपन्नलाई राहत पुर्याइएको बताए। उनले ५ हजार ५ सय ४ परिवारलाई राहत पुर्याइएको जानकारी दिए। ‘अब राहत बाँडेर सकिँदैन, लकडाउन खुकुलो बनाउने रणनीतिमा जाने हो,’ उनले भने।