जीवन के हो बुझ्न सिकेँ
काठमाडौं : साहित्यकार नीलम कार्की निहारिका यो बेला अमेरिकामा छिन्। उनी तीन महिनादेखि घरबाहिर निस्किएकी छैनन्। अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उच्च छ। अझ उनका श्रीमान् डाक्टर। हरेक दुई हप्तामा कोरोना संक्रमितका लागि बनाइएको अस्पतालमा डिउटी पर्छ। कोरोना फैलिएसँगै उनको घर पनि क्वारेन्टाइनजस्तै भएको छ। परिवार सँगै बसेर खाना नखाएको महिनौ भइसक्यो।
पलपल डर त्रासमा बसेर पनि उनी हरपल नेपालकै पीडामा छिन्। भन्छिन्, ‘सामाजिक सञ्जालमा अपडेट भइरहने हुँदा यहाँभन्दा बढी समाचार नेपालकै हेरिरहन्थेँ। मेरो देशलाई केही नहोस् जस्तो लाग्थ्यो। लकडाउनले खान नपाएर बाटोमा ढलेका मजदुरको पीडा सुन्दा, क्वारेन्टाइनमा भद्रगोल अवस्था देख्दा अति नै मन दुख्छ। अझ बढी त आफूले केही गर्न नसकेकोमा दुःख लाग्छ। एकदम निरीह महसुस हुने रहेछ। अग्निज्वाला छुट्ने रैछ। नेपालको नराम्रो खबर सुन्नै नपरे हुन्थ्यो भन्ने लाग्छ।’
सरकारले गरेका केही राम्रा कामको प्रशंसा गर्दै उनले कोरोना कहरमा विश्व आक्रान्त भएको बेला सरकार विवादमा मात्रै मुछिएकोमा भने उनी आक्रोश पोख्छिन्। भन्छिन्, कहिले अध्यादेशको लफडामा, कहिले लिपुलेक, लिम्पियाधुरा, त कहिले स्वास्थ्य सामग्रीमा भ्रष्टाचारलगायत अनेकांै लफडामा सरकार सक्रिय भइरह्यो।
नीलमले कथा तथा उपन्यास लेखेकी छन्। उनको वेली, हवन, चीरहरण, ४३ कथा, योगमायालगायतका पुस्तक प्रकाशित छन्। उनले लेखेको उपन्यास योगमायाको लागि २०७४ सालको मदन पुरस्कारसमेत प्रदान गरिएको थियो। बाहिर देशमा बसेर पनि नेपाली साहित्य लेखनमा सक्रिय नीलमको लेखनी वजनदार छ। यो बीचमा भने केही लेख्नै सकिनन्। मानसिक रूपमा विक्षिप्त नै बनिन्। लेख्दै गरेको उपन्यासको फाइल नै बन्द गरेकी छु। अति नै गाह्रो भयो। भन्छिन्, ‘कोरोनाको महामारी फैलिएपछि त मैले सबैभन्दा पहिले जीवनलाई बुझेँ। अब मरिने भैयो भनेर थाहा पाएपछि जीवनको कति धेरै माया लाग्ने रैछ। थाहा छ मृत्यु अकाट्य छ। तर बाँच्ने लालसा खुब बढ्ने रैछ।
नीलमले आफूलाई कहिल्यै थाहा नभएको अभाव र डरको अनुभव पहिलो पटक गरिन्। सामान सकिन्थ्यो भाइरसको डरले मगाउन सक्दिनथिन्। उनी भन्छिन्, पैसा भएर के हुने रहेछ र ? किनेर खान नसक्ने अवस्था आएपछि। अनलाइनबाट मगाउँ भने पनि सागसब्जी सँगै कोरोना भाइरस पनि आउने हो कि जस्तो लाग्थ्यो। भएर खान नपाउँदा, बाहिर निस्कन नपाउँदा त हाम्रो यस्तो हालत भयो। अझ खान नपाउने, काम खोसिएका गरिब मजदुरहरूको हालत कस्तो भयो होला , पहिलो पटक अभावको पीडालाई मैले नजिकबाट बुझे।
कोरोना महामारी इतिहासकै त्रासदी भएकाले केही न केही लेखौं भन्ने सोचमा छन् उनी। पहिल्लो केही हप्तादेखि किताब पढ्ने कोसिस गरिरहेकी छन्। पढिरहनुपर्ने, केही न केही लेखिरहनुपर्ने नीलम कोरोनाले गर्दा करिब चार महिनादेखि शब्दविहीन भएर बसिरहेकी थिइन्। यो बीचमा ध्यान, योगा, प्राणायाम, गरेर आफूलाई पुरानै अवस्थामा ल्याउने कोसिस गरिरहेकी छन्। पूर्वीय दर्शन अध्ययनमा आफूलाई अहिले व्यस्त राखेकी नीलम नयाँ पुस्तकको तयारीमा पनि छन्।