बाजुराका १४ स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री सहयोग
बाजुरा : आइपास नेपालले जिल्ला अस्पताललगायत १४ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। गर्भपतनसम्बन्धित सेवा दिइरहेका बुढीगंगा नगरपालिकाको बाजुरा स्वास्थ्य चौकी र देवलसैन स्वास्थ्य चौकी, खप्तड छेडेदह गाउँपालिकाको जयवागेस्वरी स्वास्थ्य चौकी र आटिचौर स्वास्थ्य चौकी, त्रिबेणी नगरपालिकाका कैलासमाडौं स्वास्थ्य चौकी र तोलीदेवल स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
पीपीई सेट, पुनःप्रयोग गर्न मिल्ने एप्रोन, विभिन्न किसिमका पन्जा, मास्क, सेनीटाइजर, आइगगल्स, भाइरेक्स, सावुनलगायत २१ किसिमका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आइपास नेपालले जनाएको छ। उक्त स्वास्थ्य साम्रगी सम्बन्धित स्थानीय तहका मेयर, स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्य संयोजक, स्वास्थ्य चौकी इन्चार्ज हस्तान्तरण गरिएको आइपास नेपालका क्लस्टर संयोजक महेश जोशीले बताए ।
यो सँगै जिल्ला अस्पताल, बडिमालिका नगरपालिकाका वुढिगंगा स्वास्थ्य चौकी र जुगाडा स्वास्थ्य चौकी गौमुल गाउँपालिकाको दहकोट स्वास्थ्य चौकी, बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र ,स्वामीकार्तिक खापर गाउँपालिकाको साप्पाटा स्वास्थ्य चौकी, हिमाली गाउँपालिकाको रुगिन स्वास्थ्य चौकी र हुनिमहती स्वास्थ्य चौकीमा सामग्री हस्तान्तरण गरिने संयोजक जोशीले बताए।
स्वास्थ्य सामग्री बुझ्दै बुढिगंगा नगरपालिकाका मेयर दिपक विक्रम शाहले आइपास नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले थप सहयोग पुग्ने बताए। स्वास्थ्य सामग्री अभाव भएको बेला उपलब्ध भएका सामग्रीले सहयोग पुर्याउने आटिचौर स्वास्थ्य चौकीका इन्चार्ज रमेश ओलीले बताए ।
त्रिवेणी नगरपालिको तोली स्वास्थ्य चौकी इन्चार्ज वीरबहादुर अयडीले नगरपालिकाले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेपछि स्वास्थ्यकर्मीले आफैले धनगढीबाट मास्क मगाएको बताए। आइपास नेपालले बाजुरालगायत सुदुरपश्चिमका ६१ वटा स्वास्थ्य संस्थामा सरसफाइ तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९ बा सुरक्षित हुन र कोरोना रोगबाट बचाउन आइपास नेपालले सुदुरपश्चिमका स्वास्थ्य संस्थालाई विभिन्न किसिमका स्वास्थ्य सरसफाई सुरक्षा सामग्री र औषधिजन्य सामग्री उपलव्ध गराएको आइपास नेपाल बाजुराका कलस्टर संयोजक शीले बताए।
आइपास नेपालले सुदुरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी र डडेल्धुरा जिल्लामा सुरक्षित गर्भपतन सेवा संचालित स्वास्थ्य संस्था, जिल्ला अस्पताल, सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत ६१ वटा स्वास्थ्य संस्था अस्पलाल र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रलाई सामग्री हस्तान्तरण गरेको हो।
जिल्लामा भारतबाट आएकाहरु ठूलो संख्यामा क्वारेन्टाइनमा छन् भने कोरोना संक्रमणबाट एकजना बालिकाको मृत्यु समेत भइसकेको छ।