‘काल’ बन्दै क्वारेन्टाइन ! एक हप्तामा ६ को मृत्यु

‘काल’ बन्दै क्वारेन्टाइन ! एक हप्तामा ६ को मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा धमाधम क्वारेन्टाइनममै मृत्यु हुन थालेको छ। पहिलो पटक जेठ १८ मा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भयो। 

बाजुराको बुढीगंगा नगरपालिका-धुरालसैन माविको क्वारेन्टाइनमा बसेकी दुई वर्षीया बालिकाको बाजुरा अस्पतालमा मृत्यु भएको थियो। उनी बाबु आमासँगै भारतबाट आएकी थिइन्। उनको स्वाबमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो। त्यसयता प्रदेशमा सात दिनमा ६ जनाले क्वारेन्टाइनमा ज्यान गुमाएका छन्। 
बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन। मृतकमध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ३ जनाको रिपोर्ट आउन बाँकी छ।

धनगढीमा कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका-४ कि ५५ वर्षीया महिला भने क्वारेन्टाइनमा थिइनन्। उनको अस्पतालमा मृत्यु भएको हो। त्यसबाहेक बैतडी, डडेलधुरा र बाजुराको क्वारेन्टिनमा २ र २ जना र डोटीको क्वारेन्टिनमा १ जनाको मृत्यु भएको छ। 

क्वारेन्टाइनमा मृत्यु भएका सबै भारतबाट आएका छन्। मृत्यु हुने दीर्घरोगी रहेको चिकित्सकले बताएका छन्। दीर्घरोगीले थप उपचार र औषधि नपाउँदा मृत्यु भएको देखिएको छ।

घटना १ 
जेठ १७ गते राति डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भयो। आमा-बाबुसँगै ती बालक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेलधुरा पुगेका थिए।

घटना २
जेठ २० मा बैतडीको पुर्चौडी नगरपालिका ४ भटनामा रहेको मालिका माविको क्वारेन्टिनमा बसेकी  २२ वर्षीया सुनिता लुहारको मृत्यु भएको थियो। मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहितकुमार धानुकले बताए। मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट हुँदै स्वदेश फर्किएका थिए। मृतक लुहार, उनका श्रीमान र १८ महिने बच्चा जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसिरहेका थिए।

घटना ३ 
डडेल्धुरामै जेठ २१ मा पनि गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो। उनी श्रीमान्सहित १६ गते भारतबाट आएकी थिइन्।

घटना  ४ 
प्रदेशमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको बाजुरामा  शनिबार थप एक जना वृद्धको क्वारन्टाइनमा मृत्यु भएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ मष्टा आधारभूत विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएको हो। जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्धको शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

घटना ५ 
शनिबार बैतडीको पाटन नगरपालिका-६ भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भयो। पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको ज्यान गएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले बताए। शनिबार बिहान मात्रै भारतको बैंगलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए। 

घटना ६ 
आइतबार बिहान डोटीको केआईसिंह गाउँपालिका-३ सताराम आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बस्दै आएका १९ वर्षीय युवाको मृत्यु भयो। केआईसिंह गाउँपालिका वडा नं. ३ दल्ल घर भएका उनको बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए। उनी लामो समयदेखि मुटुको रोगी भएको बोहराले बताए। भारतको दिल्लीबाट उनी जेठ २० गते आएर क्वारेन्टाइनमा बस्दै आएका थिए। जिल्ला संवाददाताको सहयोगमा।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.