आरडीटीकै भरमा धमाधम घर फिर्ता

आरडीटीकै भरमा धमाधम घर फिर्ता

भैरहवा : सुरुआती चरणमा क्वारेन्टाइनमा राखिएकाहरूलाई पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने गरिएको थियो। तर, पछिल्लो समय भरपर्दो नदेखिएको आरडीटीकै भरमा घर पठाउन थालिएको छ। स्वास्थ्य क्षेत्रका जानकार भने सही नतिजा नदिने आरडीटीको भर पर्न नहुने बताउँछन्।

‘सरकारले बनाएको कार्यविधिअनुसार नै हामीले आरडीटीमा नेगेटिभ आएकाहरूलाई घर पठाइरहेका छौं’, सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य प्रमुख मुन्सी माझीले अन्नपूर्णसँग भने, ‘तर, आरडीटी भरपर्दो छैन।’

उनले क्वारेन्टाइनमा भएका सबैको पीसीआर परीक्षण गरिनुपर्ने बताए। ‘त्यही (पीसीआर) पूर्ण विश्वासिलो छ’, उनले भने, ‘तर, के गर्ने कार्यविधिले हामी आरडीटीमा भर पर्न बाध्य छौं।’

यो गाउँपालिकाबाट ६ सय ५ जना आरडीटी रिपोर्टका आधारमा घर फर्किएका छन्। उक्त परीक्षणमा नेगेटिभ आएकाहरूलाई घर पठाउने र पोजिटिभ देखिएकाहरूको मात्र पीसीआर परीक्षण गर्ने गरिएको छ। स्वास्थ्य प्रमुख माझीका अनुसार गाउँपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये १ सय ८६ जनाको मात्र पीसीआर परीक्षण गरिएको छ। तीमध्ये १३ जनामा संक्रमण पुष्टि भएको छ।

‘भारतबाट आएकाहरूलाई आरडीटी गरेर मात्र समुदायमा पठाउनु उचित देखिँदैन’, उनले भने, ‘यस तरिकाको परीक्षणले समुदायमा संक्रमण फैलिन सक्ने सम्भवना देखिएको छ।’ क्वारेन्टाइनबाट घर फर्किएका व्यक्ति बिनासावधानी समुदायको सम्पर्कमा आउने गरेका छन्।

रूपन्देहीमा आइतबार दिउँसोसम्म संक्रमितको संख्या १ सय १२ पुगेको छ। यी सबै भारतबाट फर्किएका हुन्। भारतबाट आएकै नेपालीले यहाँका क्वारेन्टाइन भरिभराउ छन्। अन्य क्षेत्रभन्दा भारतसँग सीमा जोडिएका ठाउँका क्वारेन्टाइन भरिभराउ छन्। सीमावर्ती गाउँमा भारतबाट बढी नेपाली आइरहेका छन्। सबै ठाउँमा आरडीटीकै विधि अपनाइएको छ। त्यसले कोरोना जोखिम झनै बढाउने देखिएको छ।

मर्चवारी गाउँपालिकामा पनि १ हजार ३ सय ३७ जनाको आरडीटी नेगेटिभ देखिएकाहरूलाई घर जान दिइएको छ। लकडाउनयता १ सय १९ जनाको मात्र पीसीआर परीक्षण गरिएको छ। तीमध्ये दुई जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख विनोद बरईले बताए।

‘आरडीटीमा नेगेटिभ नतिजा आएकाहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर समुदायमा पठाउँदा संक्रमण फैलिने सम्भावना त्यति हुँदैन’, उनले भने, ‘तर, आरडीटीलाई विश्वासिलो मान्न सकिँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.