सुत्केरीको मृत्युपछि भक्तपुर अस्पतालका सम्पूर्ण सेवा बन्द, चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
भक्तपुर : सुत्केरी भएको केही घन्टामै महिलाको मृत्यु भएपछि भक्तपुर अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको छ । ती सुत्केरी महिलाको मृत्यु कोरोना भाइरस संक्रमणको कारण भएको आशंका गरिएको छ ।
मृत्युपछि कोरोना भाइरसको गरिएको द्रूत परीक्षण विधि (आरडीटी) मा पोजिटिभ आएपछि अस्पतालको सेवा बन्द गरिएको हो । सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका ३ घर भइ हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा बस्दै आएका ती महिला आइतबार साँझ सुत्केरी गराउन भक्तपुर अस्पताल पुगेकी थिइन् । सुत्केरी भएको केही समयपछि नै उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
उनका अनुसार मृत्युपछि गरिएको आरडीटी परीक्षण पोजिटिभ आएपछि पीसीआर गर्न उनको स्वाब आइतबार राती नै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । तर उक्त परीक्षणको रिपोर्ट नआउँदा सुत्केरीको शव भक्तपुर अस्पतालमै राखिएको उनले बताए ।
सुत्केरी महिलाको मृत्यु भएपनि नवजात शिशुको अवस्था भने सामान्य रहेको छ।प्रहरी उपरीक्षक प्रधानले सुत्केरी गराउने कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अहिले निगरानीमा राखिएको बताए ।
'पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन, उनले भने, 'त्यसैले सुत्केरी गराउने कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पहिचान गरी उहाँहरुलाई अस्पतालमै निगरानीमा राखिएको छ ।'
पीसीआर रिपोर्ट प्राप्त नभइसकेकाले सुत्केरी महिला बस्दै आएको चाँगुनारायण नपा ३ झौखेलस्थित घर क्षेत्र, मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने कार्य अघि बढाइ नसकेको प्रहरी उपरीक्षक प्रधानले सुनाए ।
'अस्पताल पुग्दै बच्चा निस्किसकेको थियो'
भक्तपुर अस्पताल स्रोतका अनुसार गर्भवती महिलालाई ढिलो अस्पताल ल्याइपुर्याइँदा उनले ज्यान गुमाउनुपरेको थियो । उनलाई अस्पताल ल्याउँदा नै बच्चाको टाउको निस्किसकेको थियो । हतारहतार प्रसूति वार्ड लगेर सुत्केरी गराइएपछि आमालाई बचाउन प्रयास गर्दागर्दै असफल भएको अस्पताल स्रोतले बतायो ।
'महिलालाई सुत्केरी गराउन अन्तिम अवस्थामा अस्पताल ल्याइपुर्यायो, स्रोतले भन्यो, 'अस्पताल पुग्दै बच्चाको टाउको निस्किसकेको थियो ।' बच्चाको टाउको निस्किसकेकाले चिकित्सक तथा स्वास्थ्यकर्मी सबैले पीपीई नै लगाउन नपाइ सुत्केरी गराउन परेको स्रोतले बतायो।
त्यसैले उक्त महिलाको सुत्केरी कार्यमा संलग्न एक चिकित्सकसहित ९जना स्वास्थ्यकर्मी अहिले क्वारेन्टाइनमा बसेका छन् । पीसीआर रिपोर्ट नआएकाले उनीहरु अस्पतालको प्रसूति वार्डमै क्वारेन्टाइन बनाएर बसेको अस्पतालले जनाएको छ ।
सुत्केरी आठ/नौ दिनदेखि बिरामी
सुत्केरी भएर महिलाको मृत्यु भएपछि उनी आठ/ नौ दिनदेखि रुघाखोकीले बिरामी भएको खुल्न आएको छ । अस्पतालका अनुसार अस्पताल आइपुग्दा महिलाको अवस्था गम्भीर थियो । महिला आफैले आफूलाई श्वास फेर्न समस्या भइरहेको पटकपटक भनिरहेकी थिइन् ।
'रुघाखोकीको समस्या हुँदै अस्पताल ल्याएको भए यस्तो घटना नहुन सक्थ्यो,' अस्पताल स्रोतले भन्यो, 'ढिलो हुँदा ज्यान गुमाउनुपर्ने अवस्था आयो ।' कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्दोजुल्दो हुने गरी रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएको बताएपछि गरिएको आरडीटीमा पोजिटिभ देखिएको थियो ।
आफ्नो स्वास्थ्य परीक्षण गराउन महिला गएको जेठ १६ गते भक्तपुर अस्पताल पुगेकी थिइन् । यसअघि भने काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा परीक्षण गराउने जाने गरेको पाइएको भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवालले जानकारी दिए ।
यसअघि केएमसी शिक्षण अस्पतालमा परीक्षण गर्न गएकी चाँगुनारायण नपा ३ झौखेलकै एक गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै केएमसीमै गर्भको नियमित परीक्षण गर्दै आएकी भक्तपुर नपा ९ डेरा गरी बस्ने महिलामा पनि संक्रमण पुष्टि भएको थियो । उनको संक्रमण पुष्टि नहुँदै भक्तपुरको मध्यपुर थिमि नपा ४ स्थित मध्यपुर अस्पतालमा अप्रेसनमार्फत बच्चा जन्माइएको थियो । सुत्केरी भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन शनिबार उनलाई कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।
गर्भवती महिला र सुत्केरी महिला दुवैको पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । सुत्केरीपछि भक्तपुर अस्पतालमा आइतबार राती मृत्यु भएकी महिलाको डेरा चाँगुनारायण नपा ३ झौखेलकी संक्रमित गर्भवती महिलाको घर करिब एक किलोमिटरको आसपासमा रहेको छ ।