कोरोना संक्रमित युवाले सुर्ती मोलेर बाँडे, माछा मारेर गाउँलेलाई बेचे
बर्दिबास : कोरोना भाइरस संक्रमित एक युवाले गाउँलेलाई माछा बिक्री गरेको खुलेपछि महोत्तरीको बर्दिबास नगरपालिका-१२ बिजलपुरास्थित चल्की टोलमा त्रास फैलिएको छ। उनको सम्पर्कमा आएका ७० जनाको पहिचान गरिएको छ। कोरोना भाइरसका कारण विश्व नै लकडाउन रहेको बेला एक युवा भारतको अहमाबादबाट लुकिछिपी नेपाल आएका थिए।
जेठ १० गते गाउँ आएका २५ वर्षीय ती युवकलाई गाउँलेले बर्दिबास नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा पठाएका थिए। उनको जेठ १२ गते पीसीआरको लागि स्वाब संकलन गरिएको थियो। पीसीआर विधिबाट कोरोना परिक्षणका लागि लिएको श्वावको नतिजा आउन ढिलाई भएपछि क्वारेन्टाइनमा बस्नेले खाना नखाएर होहल्ला गरेका थिए।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको निर्देशनमा १० दिन वा सो भन्दा बढी क्वारेन्टाइनमा बसेकाहरुको पीसीआर रिपोर्ट नआएपछि आरडिटी गरेर घर पठाउन परिपत्र गरिएको थियो। त्यसपछि १२ जनालाई जेठ २३ गते घर पठाएको थियो। घर पठाइएका १३ जना मध्ये एक युवकलाई घर पठाएको दुई दिनपछि पीसीआरको रिपोर्ट पोजेटिभ आएको बर्दिबास नगरपालिकाका स्वास्थ्य उपसंयोजक रामबाबु यादवले जनाए।‘युवकलाई हामीले पीसीआरको रिपोर्ट नआएसम्म सात दिन होमक्वारेन्टाइनमा बस्न भनेर घर पठाएका थियौ,’उनले भने,‘तर, उनले घर गएको भोलीपल्टै माछामार्न गाउँ नजिकैको झिलमा गएका थिए।’उनीसंग सम्पर्कमा आएका ७० जनाको पहिचान गरिएको उनले बताए।
संक्रमित युवकको यात्रा
जेठ २३ गते होहल्लापछि आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीले नजिकको आफन्त बोलाएर घर गएका थिए। ‘भाई मेरो रिपोर्ट निगेटिभ आएको छ, मलाई घरसम्म छोडिदेउ,’नातामा भाईपर्ने बर्दिबास नगरपालिका–२ का एक युवालाई फोन गरेर क्वारेन्टाइनस्थलमै उनले मोटरसाइकल लिएर बोलाएका थिए। उसलाई लिन आएका त्यो युवाले मोटरसाइकलमा राखेर घर पुर्याई दिएका थिए।
घर गएको केही घण्टामै कोरोना संक्रमित युवा गाउँकै झिलमा माछा मार्न गए। उनीसँगै गाउँको एक दर्जन महिला तथा पुरुषहरुको पनि माछा मार्न पुगेका थिए। कसैलाई थाहा थिएन उनी कोरोना संक्रमित हुन्। दोस्रो दिन पनि समूहमै माछामार्न गएका थिए। माछा मार्नु एक दर्जन गएका थिए भने उसले मारेर ल्याएको माछा किन्न गाउँका झण्डै ५० जना भन्दा बढी पुगेका थिए। संक्रमित युवकले गाउँलेलाई सुर्ती मोलेर पनि खुवाएको स्थानीयले बताएका छन्।
संक्रमितलाई जलेश्वर पठाइयो
संक्रमित युवकलाई जिल्ला अस्पताल जलेश्वरको आइसोलेसनमा पठाइएको छ। संक्रमित युवालाई सोमबार आइसोलेसनमा पठाएको छ भने संक्रमित युवासँग बस्ने एक जना बर्दिबासस्थित एक बैंकमा पैसा निकाल्न गएको खुल्न आएको छ। संक्रमित युवालाई मोटरसाइकलमा घरसम्म पुर्याएका उनको भाई महोत्तरीको बलवास्थित आफन्त कहाँ नुवार (छठीयार)को भोज खान गएको खुलेको छ। ‘बाहिर गएका दुबै जनालाई घरमा आएर बस्न भनेका छौं,’ बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक यादवले भने।
संक्रमित युवकको कोरोनाको (पिसिआर) रिपोर्ट जेठ २५ गते पोजिटिभ रिपोर्ट आएपछि उनलाई नजिकैको विद्यालयमा बस्न बर्दिबास स्वास्थ्य शाखाले उनलाई अनुरोध गरेको थियो। तर ती युवकले एक घण्टा स्कूलमा बसेर राती घरमै सुतेका थिए। सोमबार बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाको टोली कोरोना संक्रमित युवाको गाउँ पुग्दा ती युवक आफ्नै घरमा बसिरहेका थिए।
गाउँ सिल गर्ने तयारी
बर्दिबास नगरपालिका–१२ का वडा अध्यक्ष रामकिशोर साहले संक्रमित युवाको सम्पर्कमा आएका सबैलाई तुरुन्तै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेपछि वडामा क्वारेन्टाइनको व्यवस्था नभएको उनले बताए।‘कसरी सबैलाई क्वारेन्टाइमा राख्ने वडामा सुबिधा छैन्। यसका लागि नगरपालिकाले कदम चाल्नु पर्छ,’उनले भने। बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीले गाउँलाई शिल गर्ने तयारी भइरहेको बताए। सरकारकै नियम अनुसार क्वारेन्टाइनमा बसेकाहरुलाई आरडिटी गरेर घर पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।‘सरकारको प्रोटोकल अनुसार १४ दिन बढी भएकाहरुलाई घर पठाएका हौं।’कोरोना संक्रमण नियन्त्रणमा सबैजना गम्भीर बन्नु पर्नेमा जोड्दिदैं उनले थपें,‘प्रहरी र स्वास्थ्यकर्मीको टोली गाउँ पठाएका छौं। आवश्यक परे बर्दिबासकाको कोरोना संक्रमितको हकमा गाउँ सिल पनि गछौं।’